Rumpum Advertisement

कांग्रेसको बैठक आज

कांग्रेसको बैठक आज

विराटनगर । पुस १० गते स्थगित गरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) पार्टी कार्यालय सानेपामा बस्दैछ ।

नौ दिनदेखि बस्न नसकेको बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको समीक्षा गर्न र पछिल्लो राजनैतिक परिस्थितिको छलफल एवं विश्लेषण गर्न पुस ७ गतेबाट कांग्रेसले केन्द्रीय समितिको बैठक सुरु गरेको थियो । तर नेताहरुले बोल्ने र आफ्नो धारणा राख्ने क्रम जारी रहेकै बेला १० गतेबाट स्थगित भएको बैठक बस्न सकेको थिएन ।

बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आजको बैठकमा धारणा राख्ने क्रम जारी रहने कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जानकारी दिए । यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेकोभन्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए ।

कांग्रेसमा पनि नेताहरुबाट संसद विघटनका बारेमा अलगअलग धारणा आइरहेको छ । सभापति शेरबहादुर देउवा निर्वाचनमा जाने पक्षमा देखिएका छन् । उनी संसद विघटनको मुद्दा अदालतमा विचाराधिन रहेका कारण यसमा हस्तक्षेप गर्न नहुने पक्षमा देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता विघटनविरुद्ध आन्दोलनमा जानुपर्ने र सडक संघर्षमा उत्रनुपर्ने पर्ने पक्षमा छन् ।