Rumpum Advertisement

बिर्सन नसकेको अतीत

बिर्सन नसकेको अतीत
नवराज रिजाल

‘आले सिङ निकालेर ल्याइदेऊ उहाँलाई’ एक अधवैंसे व्यक्तिले ढोका छेउमा उभिँदै अर्हाए । त्यतिबेला म निश्चिन्त वर्तमानको खोकिलामा आगतका पाइला थन्क्याउने अभिप्रायले उभिइरहेको थिएँ । त्यो मुहार नियाल्ने प्रयत्न गरेँ तर उनी त मैमाथि पो केन्द्रित भइसकेका रहेछन् ।

मुटुको धड्कन आफ्नै बेगमा कुद्दै थियो । मानौँ ऊ ड्युटीमा खटिएको सिपाही हो र कर्तव्यपालनाको निम्ति निकै टाढाका छाउनीमा जाँदैछ । तर म डरले द्रविभूत थिएँ । नितान्त एक्लोपनको अनुभूतिमा डुब्न मन विवश थियो । एक्लो यस अर्थमा कि त्यहाँको विलकुल अपरिचित व्यक्तित्व थिएँ म ।

एउटा ठूलो पहाडी बस्तीको एक घर, मजस्तै अनगिन्ती आकृतिको उपस्थिति तर उनीहरुको पहिरन, भाषा, लवज, बोलचाल र चालचलन म बाँचेको वर्तमानभन्दा शतप्रतिशत अलग थियो । म टोलाइरहेँ, वातावारण अनुभूत गर्दै ती मुहार छाम्ने प्रयास गरेँ तर उल्टै सबै मैलाई जिज्ञासु नजरमा चोब्दै पो रहेछन् । छाम्नु मेरो जिज्ञासा थियो । उनीहरु आ–आफ्ना लयमा के–के भन्दै थिए कुन्नि म अनभिज्ञ भएर परिवेश नियाल्दै थिएँ ।

मन विक्षिप्त थियो । आफैँभित्र हराउनु र डराउनु, विविध शङ्का–उपशङ्कामा पग्लिनु–पोखिनु तथा स्वयंभित्र पालिएका त्रासमा आक्कल–झुक्कल आहत बन्नु मेरो तत्कालीन विश्वास थियो, त्यसैले तिनीहरुको माझमा म अबुझ वार्तालापको श्रोता भएँ । उनीहरु आफ्नै तालमा बग्दै थिए खोलाझैँ ।

रात धरतीमा पखेटा फिजाएर लम्बिँदै थियो । घामका छिटाहरु अन्धकारसँग झुक्न बाध्य भई बासको खोजीमा यताउति टहल्दै थिए । विजयको उन्मादले ग्रस्त रात आफ्ना पञ्जा विस्तारमा अत्यधिक सफलता पाइरहेको थियो । त्यसैले ऊ पछाडि फर्केर हेर्दै कुद्दै थियो मानौँ उसले दशास्वमेघ यज्ञको लागि प्रण गरिसकेको छ ।

घर–घरमा बत्ती बालिए, युद्धमा सूर्यले पराजय च्यापिसकेको थियो । अन्धकारलाई साम्राज्य विस्तारमा सफलता मिलिरहेकाले आफ्नो कार्यमा निरन्तर तथा निरवच्छिन्न रुपमा सफल हुँदै थियो । सम्पूर्ण जिवात्माहरु शिर लुकाउने तरखरमा थिए । खेतालामा ताँती उकालो चढ्दै गरेका देखिन्थे भने नजिकै काप्राको रुखमा सारङहरुको कलह झन् बढ्दै गरेको सुनिनाले निर्धोको बासमा बलियोको अधिकार जमाएको आशङ्का गर्न सकिन्थ्यो । अन्य पक्षीका नौला आवाजसमेत कहिलेकाहीँ कानका जालीसम्म प्रतिध्वनित बन्न आइपुथे ।

विगतका वसन्तहरुमा डुलेँ, हराएँ र भुलेँ । वर्तमान सन्दर्भ नितान्त फरक थियो, कल्पनाको त्यो संसार । वातावरण, परिवेश, भेष–भूषा र बोलीचाली विलकुल अलग ।

‘खोइ त खाना ? डराउनु पर्दैन । यहाँ एक अर्को मास्टर पनि बस्छ, अहिले घर गएको छ ‘आइरक’ खाने भए म ल्याइदिन्छु । म यस बडाको अध्यक्ष । च्याङबा । ‘सिङ’सँगै ‘ङे’ र ‘सित’ पनि ल्याउ, अनि ‘तोर्याङ’ छ कि छैन कुन्नि । खाएर सुत्नोस् भोलि कुरा गरौँला ।’

कृष्णबहादुर तामाङ उर्फ ‘लामा’ बडो मिजासिलो र शिक्षाप्रेमी व्यक्तित्व । गाउँलेहरुको पुरोहित, झाँक्री, वैद्य अनि राजनैतिक कार्यकर्ता । मिलनसार र अति सहयोगी । निष्पक्ष भावनाको प्रतिविम्ब ।

त्यस भेग र घरमा केही समय बस्दा त्यस्तै अनुभूति सँगालै मैले । अहा ! कति स्वच्छ भावना अतिथि सत्कारमा । उहाँ तथा उहाँका परिवार जस्ता असल विचारका असङ्ख्य मानिसहरुको कुनै पनि कमी छैन हाम्रा गाउँबस्तीहरुमा । तसर्थ वडो गर्व लाग्यो गाउँले हुनुमा । तर वर्तमानमा साँघुरा घेराहरुमा उहाँहरु जस्ता असङ्ख्य सरल तथा सहृदयी व्यक्तिका विचार साँघुरिन विवस बनेको सम्झँदा मुटु कुँढियो र छाती चिरियो । कथित शहरिया र सुसभ्यताका आवरण तथा बर्कोबाट छोपिएकाहरुद्वारा स्वच्छ विचार र निर्मल भावना बोक्ने असङ्ख्य लामा र उनका परिवार वर्तमानका काला धब्बाहरुमा छोपिँदै, हराउँदै र बिलाउँदै गएका छन् ।

सायंकालीन कार्यक्रम सकेँ तर मनमा ती अपरिचित शब्दहरुले डेरा लिइछाडे । फुत्कने थुप्रै प्रयासका बाबजुद म सफल हुन सकिनँ । कताकता सिङ, सित, तोर्याङ र आइरकले मन बिझाउन थाल्यो र दुखायो, अन्तरकुन्तर छामेँ, समाधान आफैँभित्र खोज्ने प्रयन्त गरेँ तर सब विफल भइरहे । मलाई माथिका शब्दहरु र त्यसमा पनि विशेष गरेर सिङ शब्दले लामो क्षणसम्म दुखायो । किन चाहियो सिङ । के गर्ने त्यसले, मृत्यु भएका वस्तुको सिङ मलाई भात पकाउन दिन लागेका त हैनन् । यदि त्यसले खाना पकाएर खाने हो भने जात रहला र ? तर फेरि सिङ त ल्याएनन्, मन अलमलियो । मन आफैँभित्र आतंकित भइरह्यो, उकुसमुकुसमै रात बित्यो । निद्रा राम्रोसँग लागेन ।

म अपरिचित वातावरण बुझ्न चाहन्थेँ । मनमा जात भाग्ला भन्ने ठूलो त्रास र आशङ्काले डेरा जमाएर बसेको त थियो नै । जात बचाउन जे उत्सर्ग गर्न पनि तयार थिएँ ।

रातको अस्तित्व समाप्त भयो । कुखुराको भालेले प्रभातको चरणोस्पर्श गरेपछि मात्र यात्रामा साथ दिँदै गाउँलेहरु क्रमशः बिहानीको कोखमा जन्मिए । बिहान आफूमात्र आएन, रात्रीको अवशेष लखेट्दै किरणको प्रथम स्पर्शसमेत धरतीभरि छताछुल्ल हुँदै पोखियो । खुसियालीमा पक्षीहरुले कलरव ध्वनीमा मिठो आवाजमा स्वागत गाए । प्रभात, जोस, जाँगर, उमङ्ग र उत्साह पिठ्युँमा नै बोकेर आयो ।

क्रमशः दिन बित्दै गाए । आगतले विगतसँग जम्काभेटमा अँगालो हाल्न थाल्यो । मेरो निम्ति त्यस ठाउँ क्रमशः परिचित अनि स्पर्शमय बन्दै गयो । शान्तमय वातावरणले म लोभिँदै गएँ । आाहा ! कति मिठो र मुलायम वातावरण, सरल तथा सुवोधमय जीवनयात्रा गाउँवासीहरुको, चोखो र निश्चल भावना तथा आत्मीय र प्रेममय परिवेश । त्यहाँको सुगन्धित संसारले आफूसँगै तानेरै छाड्यो । साँच्चै यस भूतलको अनुपम स्वर्ग लाग्यो मलाई । कल्पनाको संसारमा कावा खाँदै उड्ने चाहना जुर्मुरायो छातिभित्र । समग्रतामा मेची, काली तथा हिमाल अनि तराईको वातावरण यस्तै भइदिए । अहा ! म सागरमा पोखिएँ । हिउँझैं पग्लिएँ त्यस परिवेशको एक कविको कवितांश सम्झना गराइछाड्यो ।

‘क्या मीठो पीठो ओडाल्यो ढिँडो गुन्द्रुक तिहुन,
कुप्लुक्क खायो घुप्लुक्क सुत्यो धन्य हो जीवन ।’

दुरुस्त यस्तै थियो त्यहाँको सरल अनि सुवोधमय ग्राम्य जीवन, विलकुल फरक थिएन । जालझेल थियो न त कष्टपूर्ण व्यवहार, न असामाजिक प्रतिस्पर्धा वा कुनै आपसी खिचातानी । जीवन नजिकै बहने त्रिशुलीझैँ अविरल बगिरहेको थियो ।

बिडम्बना ! उनीहरुको गरिबीमा केही सीमित व्यक्ति र त्यसका पृष्ठपोषकहरु आहाल खेल्थे, रमाउँथे र बेग्लै संसारको सिर्जना गरेर त्यसभित्र चुर्लुम्म डुब्थे । त्यस्ताहरुको लागि यो ठाउँ, गाउँ र यी जाति भाग्यशाली चिट्ठा थिए, जसले कल्पनाको संसार निर्माण र विध्वंस दुवै गर्नु सम्भव छ । ती बासिन्दाहरुको व्यवहार चालचलन तथा जीवनशैली उपहासको रुपमा ग्रहणीय थियो । अनि निर्वाचन ! त्यो त गाउँलेहरुको लागि साँच्चै उपयोगी थियो । त्यो पनि यस अर्थमा कि उक्त दिन तिनीहरुले बोकेको मत एक छाक मासुभात वा एक बोतल मद अनि ठूलाठालुको आग्रहमा बिक्री हुन्थ्यो । भोट .भात र भात .भोट ।

चेतनाको संसारदेखि क्षितिज पारिको उनीहरुको बस्ती यस किसिमको अवसर बारम्बार आइरहोस्, प्रार्थना गर्दथ्यो । अज्ञान र अशिक्षाले घर गरेपछिको तिनीहरुको संसार साह्रै साँघुरो थियो । विश्व, देश, स्वाभिमान केही परिचित थिएनन् । काठमाडौँ समग्रमा नेपाल थियो र यसलाई झिलमिल भूस्वर्ग सम्झन्थे । तर देशले थुप्रै आरोह–अवरोह पार गरी भित्र्याएको प्रजातन्त्र निर्वाचनमा समेत उक्त प्रचलनले पुनरावृत्ति पाएपछि मेरो मुटुमा सियोले चसक्क घोच्यो, छाती छामेँ आवरण जस्ताको त्यस्तै रहेछ । अनायास आादाका डिल रसाए । शरीर गह्रौँ भएको अनुभूत गरेँ । के उत्सर्गको चाहना यति हो ? आफैंलाई प्रश्न गरेँ, जुन अझै निरुत्तर छ । चारैतर्फ छाम्ने प्रयास गरेँ सब व्यर्थ । आँखा मिचेँ, घामका छिटाहरु असरल्ल पोखिएको छ । उही रुपरङ–बान्की, अभाव, गरिबी र पीडा, जीवन–शैलीमा परिवर्तनको कुनै विन्दु देखिएको छैन । मध्ययुगीन प्रवृत्तिलाई पुनरावृत्ति गराएर आफू पशुझैँ बिक्री भएको विषयमा उनीहरु विज्ञ छैनन् वा बुझेर पनि सुपाच्य बनाएका हुन् म दोधारमा परेँ ।

केही चेलीहरुलाई कमाउन बाहिर पठाएर गाउँ असाध्यै गर्व गथ्र्यो, भाग्य ठान्थ्यो, जुन अवसर सबैले पाउँदैनन् यही धारण थियो ऊसँग । आफ्ना छोरीचेली पनि कमाएर ल्याउन् जस्तै आकांक्षाले जरो गाडेको थियो । पीडा, यातना तथा अनेकौँ सङ्क्रामक रोग उनीहरुको चेतनाभन्दा बाहिरका विषयवस्तु थिए । विद्यालय पुग्दा चाल पाएँ उसले डाँडामा उभिएको लामो अन्तरालपछि पनि स्थिरताको सास फेर्न नसकिरहेको रहेछ । आमरण अनसनमा कस्सिएका हड्तालीझैँ दायाँ बायाँ कते नहेरी आफ्नो उद्देश्यमा डुबेको । अभिवादन ग्रहण गरेर पिठ्युँ सुम्सुम्याउँदै स्वागत र अभिवादनको प्रत्युत्तर दिएको थिएँ मैले ।

खै किन हो उसमा केही आकर्षण थिएन । विद्यार्थीहरुको कोमल र स्पर्शालु बाहुबाट बञ्चित रहेछ । अशिक्षाको भुतभुतेमा खरानी भइरहेको भए पनि जगाउने प्रयाससमेत नगरेको अनुभूत गरेँ ।

शिक्षाको प्रकाश मस्तिष्कको तन्नुमाझ हुर्कन नसकेझैँ लाग्यो । अचम्म गाउँमा स्कुल छ, मास्टर छ, उनीहरुका निम्ति सबभन्दा हर्ष र गर्वको विषय यही थियो । गाउँमा विद्यालय हुनुमा उनीहरुभित्र ठूलो अभिमान थियो । किन र कसको निम्ति चासो थिएन । सिङ्गो बस्तीझैँ विद्यालय पनि सिधा र शान्त थियो । शान्त अनि लोकप्रिय भई गाउँ नजिक तर माथिको अग्लो डाँडामा बकुल्लाले माछा कुरेझैँ वा जीवनबाट विरक्त विधवाले विगतको सुखमय दाम्पत्य जीवन वर्तमानको कालो छायासँग तुलना गरी टोलाएर केही खोजेझैँ कसैलाई भेट्ने समय दिई कुरेझैँ लाग्थ्यो ।

सफा विचार, स्वच्छ भावना, कर्तव्यनिष्ठ–अठोट, कल्पनाको समुन्द्र र गहिराइ अनि योजना आकांक्षा केही थिएन त्यहाँ । अशिक्षाको अन्धकारमा पोखिएको भावना बटुलेर ज्योति काखमा राख्न सक्ने स्थिति पनि त्यहाँ थिएन । विचरा गाउँलेहरु । जतिसुकै शारीरिक र मानसिक श्रम गरेर गर्थे तर पनि विद्यालय विद्यार्थीबाट हमेशा टाढा रहन बाध्य बन्थ्यो ।

अशिक्षाको सर्तमा पोखिएको चारैतर्फका मित्रहरलाई हेरेर पनि कुनै किसिमको सुझाव, सहयोग र प्रोत्साहन दिन्थेन ऊ । ज्ञानको दियो छातिमाथि राखेर पनि स्वयम्देखि विरक्तिएको प्राणी झैँ ऊभित्रका भावना सल्बलाउन र चलमलाउन सकिरहेका थिएनन् । वृक्षविहीन वनझैँ फुङ्ग उडेको थियो । अझै के कल्पना गर्न सकिन्छ भने ऊ मस्त यौवनावस्थामा विधवा बनेकी युवती हो जो आफूभित्र सल्बलाएको यौवन वा वैंशको कल्कलाउँदो लतालाई छातीमा मुड्की कस्दै च्यात्न र उकुस–मुकुस भावनाहरुलाई बन्द कोठामा राखेर विवश यात्राको तयारीमा लाग्न बाध्य छे । फक्रन लागेका पुष्पविहीनतामा जसरी बागको सुन्दरता अशेभनीय देखिन्छ त्यस्तै अवस्था थियो डाँडामा ठिङ्ग उभिएर आफ्नो चाराको खोजीमा चारैतर्फ नजर दौडाउने बूढो बाघको प्रतिरुप त्यो स्कूलको । प्रत्येक वसन्तमा आउने पवनको झोक्काले उसका शरीरका आवरण टुक्टिङका बगरसम्म पुग्थे अनि ऊ जीर्ण अवस्थामा कोक्किँदै वर्तमानभित्र शिर लुकाउँथ्यो ।

कठैबरा ! गाउँलेहरु, यतिखेर उनीहरुको तस्बिर मेरो नजरसामु नाचिरहेको छ । हुन त मैले त्यो स्थान छाडेको पनि एक दशक पूरा भइसकेको छ तर उनीहरुमा अझै परिवर्तनको घाम झुल्कन सकेको छैन । मैले पुनः आत्मसात गर्न पाएपछिको धारणा हो यो मेरो । कष्टमय जीवन र अन्धविश्वास सम्झँदा मन बिझाउँछ । छाति चह¥याउँछ । मुटु चिरा–चिरा बन्दै टुक्रिन खोज्दछ । अनायास आँखामा विभक्त पीडाका चोक्टाहरु पुनः आँखामै छचल्किन्छन् । ग्राम सुरक्षा र प्रगतिको निम्ति कत्रो उत्साह, जाँगर र श्रद्धाका साथ देवीको नामा विद्यालयको नामाकरण गरिएछ तर देवीले न गाउँ न त विद्यालयकै रक्षा गर्न सकिरहेकी थिइन् । चेतनामा शिक्षाको ज्याति उमार्नु सायद उनको हैसियतभन्दा टाढाको विषय हो ।

प्रत्येक वसन्तको आगमन विद्यालयलाई निर्वस्त्र बनाउँदै सुरु भई बिदावारी पनि हुन्थे । अन्धकारभित्र पौडँदै उनीहरु त्यसमा हराइरहेका भेटिन्थे । त्यत्रो श्रद्धा तथा विश्वास सुम्पेकी देवी गाउँको, विद्यालयको र गाउँलेहरुको विवश यात्रा बडो आनन्दका साथ नियाल्थिन् । आफैँ पनि त्यसमा पछारिन्थिन् तापनि कहिल्यै सहयोगका हात बढाउँथिनन् बरु गाउँलेहरुको बीचमा कलुषित भावनाको बीउ छर्थिन् । उनीहरुबीच वैमनस्यताको जरो क्रमशः फैलँदै गइरहेको पाइन्थ्यो, जसको कारण त्यही आँगनमा धेरैको रगत बग्थे र सुकोमल शरीरका अङ्गहरु, अवयवहरु क्षतविक्षत बन्ने गर्थे ।

चारैतिर फुङ्ग उडेका डाँडाहरु लामो निश्वास छाड्दै लमतन्न सुतेका थिए, मानौँ उनीहरु वर्षौदेखि चिरनिन्द्रामा डुबेका हुन् । पाल्चोक, देवीस्थान, गैर्हीगाउँ, कोइलीखर्क, टुक्टिङ गाउँ र डाङडुङ खोला आफैँमा हराएका थिए । यिनीहरु बिर्ताडाँडाको भनेको कण्व ऋषि हो, जो अनादी कालदेखि तपस्यारत छ । रात्रीका छिटाले सबै बस्तीका मस्तिष्कहरु टम्म ढाकिएका थिए । हरेक २४ घण्टामा दिन–रात भए पनि मानसिक परिवर्तन टाढाको वस्तु थियो जसलाई प्राप्त गर्न कठिनभन्दा कठिन परिश्रम कम्मर कसेर लाग्नु पर्छ ।

खै ! किन हो तिमी आँशुमा टुक्टिङ भई बहेझैँ लाग्छ । अँ, अब त तिमी उठ्नु पर्छ । एउटा सङ्कल्प गर्नुपर्छ । आफूमा सँगालिएका सबै कुप्रवृत्ति, कुप्रथा र विगतका कहालीलाग्दा कथाहरु त्यही धरतीमा पोखेर भोलिको सुनौलो संसारमा रम्न उठ्नु पर्छ । तिमीले विगत तथा वर्तमानका कथा नियाल्नु पर्दछ । आगतका मिठास र सुरम्य जीवनको कायारुप फेर्नुपर्छ ।

सफा विचार, स्वच्छ भावना, कर्तव्यनिष्ठ–अठोट, कल्पनाको समुन्द्र र गहिराइ अनि योजना आकांक्षा केही थिएन त्यहाँ । अशिक्षाको अन्धकारमा पोखिएको भावना बटुलेर ज्योति काखमा राख्न सक्ने स्थिति पनि त्यहाँ थिएन । विचरा गाउँलेहरु । जतिसुकै शारीरिक र मानसिक श्रम गरेर गर्थे तर पनि विद्यालय विद्यार्थीबाट हमेशा टाढा रहन बाध्य बन्थ्यो । अचम्म के कुरामा थियो भने सम्बन्धित निकायबाट मानिसहरु निरीक्षणमा आउँदै छन् भन्ने थाहा पाएपछि छात्रहरु प्रशस्त बटुलिन्थे । कसैबाट रोकावट पा नकारात्मक विचार आयो भने गाउँलेहरु एक भई प्रतिकार गर्थे । शिक्षका र विद्यालय उनीहरुका निम्ति सम्पूर्ण प्रािप्त र उपलब्धि थियो । यी दुईको निम्ति हरेक उत्सर्ग गर्न तत्पर थिए ती मन र मस्तिष्कहरु । विद्यार्थीहरु नभए पनि विद्यालय जोगाउनु स्वभिमानसँग गाँसिएको सम्झन्थे । शिक्षा उधारो लगानी हो किनकि यसको प्रतिफल पछिमात्र प्राप्त हुन्छ तर हरेकको निम्ति प्रथम प्राथमिकता गाँस नै हुने गर्छ । पाँच कक्षासम्म स्वीकृत प्राप्त विद्यालयले कहिल्यै नियमित विद्यार्थी पाएन तर ग्रामवासीहरु त्यसलाई विवशतावश अति माया गर्थे, प्रेम गर्थे, स्नेह गर्थे र जीवनको अमूल्य बस्तु सम्झन्थे ।

विद्यालय तीनजा शिक्षक खोकिलामा तलब खुवाउँथ्यो, जागिर बचाउँथ्यो र उनीहरुकै धारणामा गाउँलेको मान–सम्मान तथा इज्जत जोगाउँथ्यो । चुनावमा भोट थाप्थ्यो अनि कहिलेकाहीँ आफ्नै विषयमा र कहिलेकाहीँ गाउँलेको विषयमा झगडाको बीज रोप्यो । जाँगर, उमङ्ग र जोश सगरमाथाको शिखर थियो तर साहस थिएन । अशिक्षाको कारण कुरीति, कुसंस्कार र अन्धविश्वासले सम्पूर्ण मस्तिष्क टम्म ढाकेको र प्रत्येक कामकुरा भगवानकै इच्छा र चाहनामा पूर्ण हुन्छन् भन्ने विश्वास दन्किएको थियो ।

धादिङ जिल्लाको वैरेनी गाउँ विकास समिति, ५ नं, वडाको श्री अमन्ता देवी प्राथमिक विद्यालय र त्यसको सृरोफेरो यहाँको विषयवस्तु हो । जुन जिल्ला राजधानी काठमाडौंसँग जोडिएको एकातिर छ भने अर्कोतिर त्यस गाउँ विकास समिति अतिव्यस्त पृथ्वीराजमार्गसँग जोडिएको छ तर त्यसको केही भाग अझै विलुप्त वस्तुझैँ छ । त्यहाँ बस्दाका केही अवधिमा मैले तोरयाङ, सित, ङे तथा सिङको राम्रो उपयोग गरेँ तर आइरक कहिल्यै छोइन । यतिखेर पनि ती निश्छल शब्दहरु मेरा आँखाअगाडि नाच्दैछन् जसलाई प्रथम पटक सुन्दा एकाएक मेरो होसहवास उडेको र मन खलबलिएको थियो ।

म त्यहीँ केही महिना बसेँ । उनीहरुसँग घुलमिल त्यति धेरै हुन सकिएन तापनि मेरा बसाइका अधिक आजपर्यन्त स्मरणीय बनेर छातिभित्र जमेका छन् । हो, त्यहीँ मैले कयौँ विकृतिका विवश कथाहरु पढेँ । आँशुमा थोरै भए पनि सान्त्वनाका शब्दहरु बगाउन जानेँ, जसले आजपर्यन्त जीवनमा अगाडि बढ्न प्रत्येक तगाराहरुमा सहयोग गरिरहेका छन् ।

अहिले सम्झँदै छु तिम्रो वेदना विर्ता डाँडा । जहाँ अझैसम्म घाम झुल्किन सकेको छैन र बस्तीबासीहरु अन्धकार छाम्दै छन् तथा जीवनका प्रत्येक पल त्यसैमा रोपेर क्षितिजभित्र पुरिँदै छन् । म केवल तिम्रो वेदना र दुःखी यात्राको निरीक्षक भएको छु । तिम्रो सम्झनामा मन पोखिएको छ, छाति रसाएको छ, तर अझै एउटा अभिलाषा छ । तिम्रो काखमा लडिबडी गर्न आउने, चुम्ने, प्रत्येक अङ्गअङ्गमा । धेरै भयो चिरनिन्द्रामा डुबेको तिमी । यही मौकामा धेरै कौमार्य नष्ट गर्ने ताकमा छन् ।

खै ! किन हो तिमी आँशुमा टुक्टिङ भई बहेझैँ लाग्छ । अँ, अब त तिमी उठ्नु पर्छ । एउटा सङ्कल्प गर्नुपर्छ । आफूमा सँगालिएका सबै कुप्रवृत्ति, कुप्रथा र विगतका कहालीलाग्दा कथाहरु त्यही धरतीमा पोखेर भोलिको सुनौलो संसारमा रम्न उठ्नु पर्छ । तिमीले विगत तथा वर्तमानका कथा नियाल्नु पर्दछ । आगतका मिठास र सुरम्य जीवनको कायारुप फेर्नुपर्छ । हो, विर्ता डाँडा ! बाहिरी संसारमा निक्कै परिवर्तनका धर्साहरु कोरिँदै छन्, तिमी त्यसबाट टाढिनु हुन्न । स्वाभिमान बचाउका लागि चनाखो बन्नुपर्छ । जब मेरो मानसपटलमा तिम्रो प्रतिरुप प्रतिविम्बित हुन्छ, कल्पनाको सागरमा पौडँदै हराउँछु, तथा भोलिको तिम्रो सुन्दर, शान्त, सभ्य, शिक्षित आकृति भावनाको छालबाट पग्लन्छ । तिम्रो नाम छातीमा उम्रनेबित्तिकै मेरा नेत्र पुनःपुनः छचल्किन्छन् । तिम्रो प्रत्येक पीडा र स्वाभिमानका कथाहरु मैले हृदयभरि सँगालेको छु, भेटमा सुखदुःख साटौंला, अहिले बिदा चाहन्छु ।