Rumpum Advertisement

पत्थरी हुने बिरामीका लागि लेजर–पद्धति वरदान : चिकित्सक

पत्थरी हुने बिरामीका लागि लेजर–पद्धति वरदान : चिकित्सक

विराटनगर / मिर्गौला रोगसम्बन्धी समस्याबाट पीडित व्यक्तिहरू धेरै प्रकारका भ्रमहरू बोकेर जीवनयापन गरिहेका हुन्छन् । त्यसमध्ये एउटा हो, यदि मिर्गौलामा पत्थरी भएमा शल्यक्रिया गर्नैपर्छ र शल्यक्रिया गर्नु भनेको चिरफार गर्नु हो । तर प्रविधिको विकाससँगै यो निकै पुरानो कुरा भएको चिकित्सकहरू बताउँछन् ।

पहिले मिर्गौलाको पत्थरी भएमा चिरेर शल्यक्रिया गर्ने गरिन्थ्यो तर हाल लेजर–पद्धतिको प्रयोग र पहुँच विस्तारका कारण चिरफार गर्ने प्रचलन हराउँदै गइरहेको छ ।

विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलका सह-प्राध्यापक युरोलोजिस्ट, एन्ड्रोलोजिस्ट तथा मिर्गाैला प्रत्यारोपण सर्जन दीपककुमार ठाकुरका अनुसार नयाँ प्रविधिको मद्दतले मिर्गौलामा भएको ‘ढुङ्गा’ सजिलै निकाल्न सकिन्छ । बिरामीलाई खासै अप्ठेरो हुँदैन ।

काठमाडौँ उपत्यकाबाहिर पहिलो पटक विराट अस्पतालमा अत्याधुनिक लेजर–प्रविधि प्रयोग गरेर मिर्गौलाको पत्थरी निकाल्न सुरु गरिएको हो ।

No description available.
सह-प्राध्यापक,युरोलोजिस्ट, एन्ड्रोलोजिस्ट तथा मिर्गाैला प्रत्यारोपण सर्जन दीपककुमार ठाकुर

पत्थरीको समस्या भएकाहरूका लागि लेजर–पद्धति निकै उपयोगी साबित भएको डाक्टर ठाकुर बताउँछन् । स्वास्थ्य प्राविधिकका अनुसार पत्थरी निकाल्ने शल्यक्रियामा मिर्गौलामा हुने सानो–सानो प्वालबाट ढुङ्गा फुटाएर निकाल्नुपर्ने हुन्छ । मिर्गौलामा धेरै रगतका नली हुन्छन् ।

मिर्गौलामा नै प्वाल पारी ढुङ्गा निकाल्न गरिने शल्यक्रियाका कारण रक्तश्राव हुने सम्भावना रहन्छ । साथै, प्वाल पारेर गरिने शल्यक्रियाका कारण धेरैलाई सङ्क्रमणको जोखिम पनि हुन्छ । बिरामीको ज्यानलाई पनि खतरा हुन सक्छ ।

तर लेजर–पद्धति प्रयोग गर्दा मिर्गौला प्वाल पार्नु तथा चिर्नु नपर्ने डाक्टर ठाकुर बताउँछन् । ‘यो पद्धतिमा पिसाबको नलीबाट मसिनो दुरबिनसहितको तारजस्तो उपकरण मिर्गौलाको पत्थरीसम्म पठाउने र पत्थरीलाई लेजर–प्रविधिबाट टुक्रा पार्ने गरिन्छ,’ डाक्टर ठाकुर भन्छन्, ‘त्यही मसिनो नलिबाट पत्थरी बाहिर झिक्ने गरिन्छ वा पिसाबको माध्यमबाट शरीरबाहिर निष्कासित हुन्छ ।’
घाउ हुने तथा रगत बग्ने अवस्था नै नआई गरिने शल्यक्रिया भएकाले पत्थरी झिकेको केही घण्टामै बिरामी सामान्य अवस्थामा आउन र एक वा दुई दिनभित्र नै अस्पतालबाट डिस्चार्ज गर्न सकिने डाक्टर ठाकुरले बताए ।

डाक्टर ठाकुरका अनुसार लेजर–पद्धति प्रयोग गरेर पत्थरी निकाल्नुका धेरै फाइदा छन् । यो पद्धतिबाट शल्यक्रिया गर्दा बिरामीलाई चिर्नु तथा घाउ पार्नुपर्दैन । भएको ढुङ्गा सबै धुलो हुने हुँदा छुट्ने सम्भावना रहँदैन । सङ्क्रमणको जोखिम पनि नहुने भएका कारण पत्थरीको बिरामीका लागि लेजर–पद्धति वरदान नै मानिएको छ ।

‘लेजर–पद्धतिबाट पत्थरी हटाउँदा छोटो समयमा नै पहिलाको जस्तो जीवनशैलीमा फर्कन सकिन्छ । यसले बिरामी र परिवारलाई लामो समय अस्पतालमा बस्नुपर्ने झन्झट, घाउमा सङ्क्रमण हुने डर, रक्तश्राव हुने डर सबै रोकेको छ,’ डाक्टर ठाकुरले भने, ‘यसको कुनै प्रतिकूल प्रभाव (साइड–इफेक्ट) पनि हालसम्म देखिएको छैैन ।’

चिकित्सकले पत्थरीको बिरामीका लागि लेजर–पद्धति वरदान भने पनि हाल यो पद्धति सर्वसाधारणको पहुँचमा छैन ।

चिकित्सकले पत्थरीको बिरामीका लागि लेजर–पद्धति वरदान भने पनि हाल यो पद्धति सर्वसाधारणको पहुँचमा छैन । अर्थात् यो पद्धति अन्यको तुलनामा अलिक मँहगो छ । तर अस्पताल बस्नुपर्ने खर्च जोगिने, काममा छिटै फर्किन सकिनेलगायत कुरा विचार गर्दा लेजर–पद्धति सस्तो, प्रभावकारी र सुरक्षित मानिएको छ ।

त्यसैगरी, पहिला प्रोस्टेट ग्रन्थीको शल्यक्रिया गर्दा दुरबिन प्रयोग अनिवार्य मानिन्थ्यो । तर आजकाल प्रोस्टेट ग्रन्थीको शल्यक्रिया गर्नका लागि पनि लेजर–पद्धतिको प्रयोग प्रयोग हुन थालेको छ । लेजर–पद्धतिले मिर्गौलाको पत्थरी निकाल्नबाहेक पिसाब–नलीको समस्या, पिसाब–थैली वा पिसाब नलीमा क्यान्सर भएकालाई पनि उपचार गर्न सकिन्छ ।

नपुंसकतादेखि प्रत्यारोपणसम्म

मिर्गौलासम्बन्धी सबै प्रकारका अर्थात् पिसाब–थैली, पिसाब–नली, प्रोस्टेट ग्रन्थी आदिको अध्ययन, रोग पहिचान, सङ्क्रमण निदान तथा उपचारमा केन्द्रित चिकित्साशास्त्रीय विधिलाई एक शब्दमा युरोलोजी भनिन्छ । युरोलोजिस्ट दिपककुमार ठाकुरका अनुसार यसअन्तर्गत पुरुषमा हुने यौन रोग, नपुंसकतादेखि मिर्गौला प्रत्यारोपणसम्मका समस्या सम्बन्धित हुन्छन् ।

युरोलोजी सेवा भएका अस्पतालमा धेरैजसो मिर्गौलाको पत्थरी, प्रोस्टट ग्रन्थीको समस्या भएका, पिसाबमा सङ्क्रमण हुने, मिर्गौला बिग्रेकोलगायत समस्या लिएर आउनेको सङ्ख्या धेरै हुने गर्छ । डाक्टर ठाकुर बिरामीको यही चापलाई ध्यानमा राखी महामारीको समयमा पनि उनी कार्यरत विराट मेडिकल कलेजले अध्याधुनिक लेजर उपकरणसहितको युरोलोजी सेवालाई निरन्तरता दिएको बताउँछन् ।

‘कोरोना भाइरसको जोखिम सुरु हुँदा डर–त्रास अवश्य थियो,’ उनले भने, ‘ कोरोनाको महामारी हुँदा पनि सतर्कता अपनाएर युरोलोजीसम्बन्धी बहिरङ्ग (ओपिडी) तथा शल्यक्रिया सेवा बन्द गरेनौँ ।’

पानी समस्याको कारण

चिकित्सकका अनुसार पिसाब तथा मिर्गौलासम्बन्धी रोगको मुख्य कारण भनेको शरीरमा पानी कम हुनु हो । दैनिक खाएको खानालाई पचाउन शरीरमा विभिन्न प्रतिक्रियाहरू भइरहेका हुन्छन् । योसँगै विकार तत्त्वहरू पनि निस्किने तथा जम्मा हुने क्रम भइरहेको हुन्छ । मिर्गौलाको मुख्य काम भनेकै ती जम्मा भएका विकार तत्त्वलाई शरीरबाट बाहिर निकाल्नु हो ।

शरीरमा पानीको मात्रा कम हुँदा पनि समस्या हुन्छ भने पानीको मात्रा अधिक हुँदा पनि समस्या हुने गर्छ ।चाहिनेभन्दा बढी मात्रामा पानी पिउन थालेमा शरीरमा नुन–पानीको मात्रा नमिलेर विभिन्न स्वास्थ्य समस्या आउन सक्छ ।

खानालाई पचाउन शरीरमा विभिन्न प्रतिक्रिया भइरहेका बेला केही कणलाई पिसाबमार्फत निष्कासन गर्नुपर्ने हुन्छ । तर ती विकार बाहिर निस्किन नसकेमा, वा शरीरमा अत्यधिक मात्रामा बन्न थालेमा वा निस्किने क्रम घट्दै गएमा मिर्गौलामा पत्थरीको रूप लिन थाल्छ वा यसले मिर्गौलामा बिगार गर्न सक्छ ।

‘शरीरमा पानीको मात्रा कम भएमा निस्किनुपर्ने विकार निस्किन पाउँदैन, शरीरभित्र नै जम्मा हुँदै जान्छ, जसकारण पत्थरीको समस्या निम्तिने गर्छ,’ डाक्टर ठाकुर भन्छन्, ‘शरीरमा पानीको मात्रा कम हुँदा पनि समस्या हुन्छ भने पानीको मात्रा अधिक हुँदा पनि समस्या हुने गर्छ ।चाहिनेभन्दा बढी मात्रामा पानी पिउन थालेमा शरीरमा नुन–पानीको मात्रा नमिलेर विभिन्न स्वास्थ्य समस्या आउन सक्छ ।’

दैनिक एकदेखि डेढ लिटर पिसाब निष्कासन हुने गरी पानी पिउनु आवश्यक हुने डाक्टर ठाकुरको सुझाव छ । यसको अर्थ मानिसले दिनमा दुई लिटर जति पानी पिउनुपर्छ । तर यो मात्रा गर्मी महिनामा बढ्न सक्छ ।

डाक्टर ठाकुरका अनुसार हामीले पानी खाने मात्रा पिसाबको रङ हेरेर पनि निर्धारण गर्न सक्छौँ । पिसाब सफा र दिनमा एकदेखि डेढ लिटर जति हुन्छ भने शरीरमा पानीको मात्रा पुगेको छ भनेर बुझ्न सकिन्छ । पानीको मात्राका साथसाथै पत्थरीको समस्यामा जीवनशैली, मधुमेह, रक्तचाप, मोटोपना र वंशाणुगत (परिवारमा पहिलेदेखि रोग भएमा बच्चामा सर्ने) कारण पनि सम्बन्धित हुन्छन् ।

यदि परिवारको एक जना सदस्यमा मिर्गौलाको पत्थरीसम्बन्धी समस्या भएमा परिवारका अन्य सदस्यमा त्यही प्रकारको रोग हुने सम्भावना ३० प्रतिशतभन्दा बढी हुनेगर्छ । अत्यधिक मात्रामा रातो मासु खाने, सागसब्जी कम खाने तथा नुनको अत्यधिक सेवनले पत्थरी हुने सम्भावना बढ्दै जान्छ । पेट दुखाइ, पटक–पटक पिसाब लाग्ने, पिसाब गर्ने बेलाको दुखाइ, ज्वरो आदि पत्थरीका मुख्य लक्षण हुन् । सामान्य अवस्थामा कहिलेकाहीँ पत्थरीको समस्या पानी धेरै खाएर वा औषधिले पनि ठिक हुन्छ । तर ढुङ्गाको आकार ठुलो वा कडा भएमा यसलाई निकाल्न शल्यक्रियाको आवश्यकता पर्छ ।