Rumpum Advertisement

उत्तर-दक्षिण मार्ग : १४ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्ने काम सुरु

उत्तर-दक्षिण मार्ग  : १४ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्ने काम सुरु

काठमाडौँ । उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि बढिरहेको छ ।

सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिइएको थियो ।

अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको कोशी करिडोर खाँदबारी–किमाथाङ्का सडक योजनाले जनाएको छ ।

अर्थ मन्त्रालयले कालोपत्रका लागि दुई अर्ब ६० करोड स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको योजना प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए । ‘आगामी साता सूचना निकाल्नका लागि आयोजना निर्देशनालयले स्वीकृति दिइसकेको छ ’ उनले भने ।

सङ्खुवासभाको भोटखोला गाउँपालिकाको धोङगपाबाट च्याम्ताङसम्मको सडक ट्याक खुल्न बाँकी छ ।

खाँदबारीबाट उत्तरतर्फ च्यामताङसम्म १३४ किमी निर्माण भएको छ । नेपाल चीनको सिमाना किमाथाङ्काबाट धोङगपासम्म १४ किमी ट्याक उत्तरबाट दक्षिण खुलेको छ ।

जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ किलोमिटरमा ट्याक खुलिसकेको छ । बाँकी १४ किमी सेनालाई दिइएको र अरु खण्डमा काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

राजमार्ग निर्माणका क्रमम भौगोलिक कठिनाइसँगै गत वर्ष कोभिडका कारण काममा बाधा पुगेको प्रमुख श्रेष्ठले बर्र्ताए । निर्माण सामग्री नपाइने र पाउँदा पनि गुणस्तरीय नपाउने समस्या रहेको उनले बताए ।

ट्र्याक खुल्न बाँकी स्थानमा खुलाउनेसँगै खुलिसकेकामा सडक स्तरोन्नतिको कामसमेत अघि बढाइएको छ । कतिपय खण्डमा कालोपत्र प्रक्रिया अघि बढाएको छ भने कतिपय खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको श्रेष्ठले जानकारी दिए ।

ट्याक खुलेपछि विराटनगर रानीदेखी उत्तरमा सङ्खुवासभाको किमाथाङ्कासम्म जोडिनेछ । मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमको क्षेत्र भाग भएर राजमार्ग निर्माण भइरहेको छ । रासस