Rumpum Advertisement

महिलालाई मोटरसाइकलबाटै बाघले थुत्यो, अवस्था अज्ञात

Neuro
महिलालाई मोटरसाइकलबाटै बाघले थुत्यो, अवस्था अज्ञात

विराटनगर / बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको पाटेबाघले मोटरसाइकलमा यात्रा गरिरहेकी एक महिलालाई शुक्रबार राति थुतेर लगेको छ ।

छोराले चलाइरहेको मोटरसाइकलपछाडि सवार ५० वर्षीया नन्दकला थापालाई एक्कासि झम्टिएको पाटेबाघले थुतेर लगेको निकुञ्जले जनाएको छ । थापा कैलालीको लम्किचुहा नगरपालिका-४ की बासिन्दा हुन् । घटनास्थल निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभारनजिक पर्छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार आमा-छोरा मोटरसाइकलमा घरतर्फ जाँदै थिए । घटना राति आठ बजेतिरको हो । मोटरसाइकलमा यात्रारत रहेकै अवस्थामा एक्कासि पाटेबाघले आक्रमण गरी आमालाई थुतेर लगेको श्रेष्ठले बताए । उनका अनुसार बाघले लगे पनि महिलाको अवस्था अझैसम्म अज्ञात छ ।

मोटरसाइकल चलाइरहेका छोरालाई पनि बाघले आक्रमण गरेको थियो । आक्रमणबाट छोरालाई सामान्य चोट लागेको श्रेष्ठले बताए । तर बाघले आमालाई लगे पनि छोरालाई भने सामान्य आक्रमण मात्रै गर्यो ।

बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको छ । तर शनिबार बिहानसम्म फेला पार्न नसकिएको र अवस्था अज्ञात नै रहेको जानकारी निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले दिए ।

अबदेखि बेलुका निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिने संरक्षण अधिकृत श्रेष्ठले बताए । निकुञ्जबाट निस्कने जङ्गली जनावरको आक्रमणका कारण स्थानीय बासिन्दा भने त्रसित बनेका छन् ।