Rumpum Advertisement

न्यायो सिरक पाउँदा सन्थाल परिवारमा खुसी

न्यायो सिरक पाउँदा सन्थाल परिवारमा खुसी

झापा / झापा गाउँपालिका–१ मिलनबस्तीमा सुकुम्बासी टोल छ, जहाँ सन्थाल समुदायको बसोवास रहेको छ ।

उनीहरुले पेट भर्नका लागि भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक छैन । जाडोमा न्यानो ओड्ने–ओछ्याउने नहुँदा उनीहरु आगो तापेर रात बिताउँछन् । यसरी नै वर्षौं बिताएका उनीहरु शुक्रबार भने निकै खुसी देखिन्थे ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला सुकुम्बासी बस्तीमा न्यायो सिरक लिएर पुगेका थिए । उनीहरुले गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई साक्षी राखेर क्लबले ल्याएको फाइबरका ८२ थान सिरक सन्थाल परिवारलाई वितरण गरेका छन् ।

‘पराल र दाउराको आगो तापेर रात बिताउँथे, आजदेखि सिरक ओढेर सुत्छु’, झापा गाउँपालिका–१ सुकुम्बासी बस्तीकी ७० वर्षीया सुका हस्दाले सिरिक पाएपछि खुसी हुँदै भने । हस्दाजस्तै कपडा किनेर शरीर ढाक्न नसक्ने अवस्थाका उनीहरुलाई क्लबले दिएको न्यायो ओड्ने सिरकले खुसी ल्यायो ।

उनीहरु कन्काइ नदीको किनारमा वर्षौंदेखि बसोवास गर्दै आएका छन् । सन्थाल बस्तीदेखि पाँच सय मिटर उत्तरमा कन्काइ नदी बगेको छ । जिल्लाकै विकट स्थानमध्ये सन्थाल समुदायको यो बस्ती पनि रहेको गाउँपालिकाका अध्यक्ष साहले बताए ।

उनका अनुसार सुकुम्बासी बस्तीमा बसोवास गर्ने ८२ घर सन्थाल परिवार मजदुरी र बस्तुपालन गरेर पालेर गुजारा चलाउँदै आएका छन् । उनीहरुको प्रायः दिउँदका रातहरु वर्षामा नदीले बगाएर ल्याएको मूढा र परालको आगो तापेर बित्ने गर्छ । प्रजिअ तिम्सिना र प्रहरी प्रमुख कोइरालाले प्रहरीले समाजमा विपदमा परेकालाई समुदायसँग मिलेर सहयोग गर्दै आइरहेको बताए ।

लायन्स क्लब सुरुङ्गाले विगतदेखि नै विपदमा परेका र तथा गरिब-दुःखीलाई सहयोग गर्दै आएको छ । यस वर्ष चार सयभन्दा बढी परिवारलाई सहयोग गर्ने लायन्स क्लबका डिस्ट्रिक म्यानेजर लीला चिमरियाको भनाइ छ ।

उनले सहारा नेपाल र संस्थाकै सहयोगमा उनीहरुलाई न्यायो कपडा सहयोग गर्ने गरेको बताए । क्लबका अध्यक्ष मनोज बस्नेतले कनकाई नगरपालिकास्थित कोटीहोमको वृद्धाश्रामका १७ र २१ बटुकलाई समेत न्यायो कपडा वितरण गरिएको बताए । रासस