Rumpum Advertisement

यूरेनियम शुद्ध पार्न इरानको जोडबल

Neuro
यूरेनियम शुद्ध पार्न इरानको जोडबल

विराटनगर । यूरेनियम सम्बर्द्धनलाई शुद्धताको अवस्था बढाउन इरानले जोडबल गरिरहेको छ । यूरेनियम शुद्ध पार्दै इरानले २० प्रतिशत शुद्धताको तहसम्म पुर्याउने प्रयास गरेको हो ।

संयुक्त राष्ट्रसंघीय एटोमिक इनर्जी एजेन्सी (आइएइए)का अनुसार यो प्रयास अन्तरराष्ट्रिय परमाणु सम्झौतामा इतिहासकै ठूलो उल्लंघन हुने छ । परमाणु बम बनाउन यूरेनियमलाई ९० प्रतिशतसम्म शुद्ध गर्नुपर्ने हुन्छ। तर सन् २०१५ सम्ममा इरानले यूरेनियमलाई ४ प्रतिशत मात्रै शुद्ध गर्न सकेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सम्झौताबाट हात झिकेपछि इरानमाथि कडा प्रतिबन्ध लगाएका थिए। त्यसपछि इरान यूरेनियम सम्बर्द्धनका क्षेत्रमा थप आक्रामक बनेको हो। अमेरिकाले सम्झौता तोडेपनि बेलायत, फ्रान्स, जर्मनी, चीन र रुसले सम्झौतामा आफूहरु अडिग रहने बताएका थिए। तर अमेरिकाले सम्झौता तोडेसँगै इरानले पनि उस्तै रवैया अपनाएको थियो।

आइएइएका अनुसार इरानले पहाडभित्र बनाइएको परमाणु केन्द्रमा यूरेनियमलाई २० प्रतिशतसम्म सम्बर्द्धन गरेको जानकारी गराएको छ।
सन् २०१९ मा ३.६७ प्रतिशतसम्म यूरेनियम शुद्ध पार्न सकेको इरानले बताएपनि पछि यो ४.५ प्रतिशत शुद्ध भएको पाइएको थियो।

देशका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएपछि गत महिना इरानको संसदले एक कानुन पारित गरी यूरेनियम सम्बर्द्धन २० प्रतिशत बढाउने प्रावधान तय गरेको थियो। यो कानुनअनुसार इरानले संयुक्त राष्ट्रसंघको जाँचबुझ टोलीलाई आफूकहाँ रहेका परमाणु स्थल चेकजाँच गर्न प्रतिबन्ध समेत लगाउन सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।