Rumpum Advertisement

रक्षा विधेयक रोक्न ट्रम्प असफल

Neuro
रक्षा विधेयक रोक्न ट्रम्प असफल

विराटनगर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रक्षा विधेयक रोक्न असफल भएका छन् ।

विधेयक रोक्न उनले जारी राखेको प्रयास र प्रयोग गरेको भिटो अमेरिकी सदनले खारेज गरिदिएको छ । सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न राष्ट्रपति ट्रम्पले प्रयास गरिरहेका थिए । सदनले उनले प्रयोग गरेको भिटो खारेज गरिदिएपछि लामो समयदेखिको प्रयास विफल भएको हो ।

शुक्रबार सदनले ट्रम्पको भिटो अवहेलना गर्ने सक्बन्धी पक्षमा मत दिएको हो । ट्रम्पको चार वर्षे शासनकालमा पहिलोपटक उनको भिटो संसदले रद्द गरेको हो । डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले यसअघि नै भिटो रद्द गर्ने पक्षमा मत दिएको थियो ।

रिपब्लिकनहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटको नयाँ वर्षको दिन बसेको दुर्लभ सत्रले पनि भिटो खारेज गर्ने पक्षमा निर्णय गरेको हो । दुवै पार्टी (रिपब्लिकन र डेमोक्र्याटिक) का तर्फबाट ल्याइएको ७४० बिलियन डलर बराबरको सुरक्षा खर्च सम्बन्धी विधेयक सदनबाट डिसेम्बरमा पारित भएको थियो ।

तर ट्रम्पले शक्ति प्रयोग गरेर सो विधेयकलाई कानून बन्नबाट रोकेका थिए । विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पको विरोध थियो ।

रंगभेद विरोधी आन्दोलनको प्रभाव स्वरुप रंगभेदलाई साथ दिने सेनाका पूर्व नेताहरुको नाम सैनिक बेसबाट हटाउने व्यवस्था विधेयकमा छ । सो विधेयक सदनबाट अत्याधिक बहुमतले पारित भएको थियो । दुवै पार्टीको सहमतिमा ल्याइएको र अत्याधिक बहुमतले पारित भएकाले राष्ट्रपतिले भिटो प्रयोग गरेर रोक्न खोजे पनि त्यसलाई सदनले स्वीकार गरेन ।

सदनबाट पारित भएका विधेयकलाई कानूनी रुपमा प्रदान गर्नका लागि राष्ट्रपतिले हस्ताक्षर गर्नु पर्ने हुन्छ । तर दुर्लभ अवस्थाहरुमा राष्ट्रपतिले भिटो प्रयोग गर्न वा अस्वीकार गर्न सक्छन् । राष्ट्रपतिले भिटो प्रयोग गरि रोकेको विधेयकलाई सदनले कानूनमा प्रमाणिकरण गर्न सक्छ । राष्ट्रपतिले प्रयोग गरेको भिटो खारेज गर्नका लागि संसदका दुवै सदनबाट दुई तिहाई बहुमत चाहिन्छ ।

झण्डै एक वर्ष लगाएर तयार पारिएको ४५ सय पृष्ठ लामो विधेयकलाई ट्रम्पले ‘चीन र रुसका लागि उपहार’ भनेका थिए । विधेयकले महत्वपूर्ण राष्ट्रिय सुरक्षाका विषय समेट्न नसकेको आरोप ट्रम्पले लगाएका छन् ।

सैनिक इतिहास र भेट्रानहरुलाई सम्मान गर्न भुलेको वा त्यसका लागि मार्ग प्रसस्त गरेको र सुरक्षा तथा परराष्ट्र नीतिमा आफूले लिँदै आएको अमेरिका पहिले भन्ने नीतिलाई आत्मसाथ नगरेको ट्रम्पको दाबी थियो । विदेशमा रहेका सैनिक फिर्ता बोलाउने संख्या सीमित गर्नु खराब र असंवैधानिक नीति रहेको पनि ट्रम्पले आरोप लगाएका छन् ।