Rumpum Advertisement

लिभरपुलसँग युनाइटेडको अङ्क बराबरी

लिभरपुलसँग युनाइटेडको अङ्क बराबरी

विराटनगर । इङ्ग्लिस प्रियिमर लिगमा म्यानचेस्टर युनाइटेडले साँघुरो जित दर्ता गराएको छ । शुक्रबार राति भएको खेलमा युनाइटेडले आफ्नै मैदानमा एस्टोन भिल्लामाथि २–१ गोलको जित निकालेको हो ।

ओल्ड ट्राफोर्डमा घरेलु टोलीलाई जिताउन एन्थोनी मार्सियल र ब्रुनो फर्नान्डेसले एक–एक गोल गरे । भिल्लाका बेर्ट्रान्ड ट्राओरेले एक गोल गरे ।

खेलको ४०औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । ५८औं मिनेटमा ट्राओरेले गोल गरेपछि भिल्ला खेलमा फर्कियो ।

६१औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको मौका पाएको थियो, जसमा फर्नान्डेसले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

जितसँगै युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अङ्क बराबरी गरेको छ । १६ खेल खेलेको युनाइटेड ३२ अङ्कसहित दोस्रो स्थानमा छ । समान अङ्क भएको लिभरपुल गोलान्तरको आधारमा शीर्ष स्थानमा छ ।

पराजित भिल्ला भने २६ अङ्कसहित छैटौं स्थानमा छ ।