Rumpum Advertisement

सम्पदाको प्रबद्र्धन गर्न पदयात्रा

सम्पदाको प्रबद्र्धन गर्न पदयात्रा

काठमाडौँ/मध्यपुर थिमी नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि सम्पदा पदयात्रा गरेको छ ।

मध्यपुर थिमी नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरुलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास तथा प्रचारप्रसार गर्न शुक्रबार सम्पदा पदयात्रा गरेको हो । पदयात्रा मध्यपुर थिमीको सम्पदाचोकदेखि सुरु भई बोडेमा पुगेर समापन भएको छ ।

सम्पदा पदयात्रामा नयाँ निर्माण भएका तथा पुनर्निर्माण भएका सम्पदाहरुलाई अवलोकन गरिएको थियो । मध्यपुर थिमीभित्रका पाटी, पौवा, पोखरी, मन्दिर पार्क तथा ढुङ्गेधाराको अवलोकन गर्दै थिमीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास भयो भन्ने सन्देश प्रवाह गर्न सम्पदा पदयात्रा गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

पदयात्रामा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारण, पर्यटन बोर्ड, पर्यटक पथप्रदर्शक तथा ट्राभल एजेन्सीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्पदा पदयात्राले देशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको मध्यपुर थिमी खुल्ला रहेको सन्देश दिएको पनि नगरप्रमुख श्रेष्ठले बताए ।