Rumpum Advertisement

जनता आवास कार्यक्रम : गत वर्षदेखिका संरचना निर्माण हुँदै

नयाँ कार्यक्रम थपिएन

Neuro
जनता आवास कार्यक्रम : गत वर्षदेखिका संरचना निर्माण हुँदैनयाँ कार्यक्रम थपिएन

मोहन ढकाल

विराटनगर/जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश १ का तीन जिल्ला मोरङ, सुनसरी र उयपुरमा दुई हजार ४१ वटा घर निर्माण भएका छन् । आर्थिक वर्ष २०७६/७७ सम्ममा तीन जिल्लामा उक्त सङ्ख्यामा घर निर्माण कार्य सम्पन्न भएको हो ।

जसमध्ये मोरङमा एक हजार ९६, सुनसरीमा छ सय ३३ र उदयपुरमा तीन सय ११ घर निर्माण भइसकेका छन् । आर्थिक वर्ष २०७३/७४ देखि सङ्घीय सरकारले सञ्चालन गरेको कार्यक्रममा २०७५/७६ देखि प्रदेश सरकारको पनि सहभागिता रहँदै आएको छ । दलित, विपन्न, लोपन्मुख समुदायलाई लक्षित गर्दै सङ्घीय सरकारले कार्यक्रमको सुरुवात गरेको थियो ।

जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७७/७८ मा प्रदेश १ का तीन जिल्लामा एक हजार तीन सय ८० घर निर्माणाधीन अवस्थामा छन् । जसमध्ये मोरङमा पाँच सय ९८, सुनसरीमा तीन सय ५६ र उदयपुरमा चार सय २६ घर निर्माणाधीन अवस्थामा रहेको सहरी विकास तथा भवन कार्यालय विराटनगरका सब–इन्जिनियर ओमप्रकाश शर्माले बताए । शर्माका अनुसार यो आर्थिक वर्षमा कुनै कार्यक्रम नभए पनि पहिलाकै बाँकी संरचना निर्माण भरहेका छन् ।

प्रदेश सरकारले पुनः थप गरेन

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा सुरु गरेको जनता आवास कार्यक्रमअन्र्तगत एक सय ८५ घर निर्माण गर्ने लक्ष्य लिएको थियो । जसअन्तर्गत मोरङमा ८५, सुनसरीमा ६० र उदयपुरमा ४० घर निर्माण हुने छन् । उक्त कार्यक्रमअन्र्तगत प्रदेश सरकारको तर्फबाट तीन जिल्लामा ६६ वटा घर निर्माण भएका छन् । जसमध्ये मोरङमा २८, सुनसरीमा ३३ र उदयपुरमा पाँचवटा घर मात्रै सम्पन्न भएका छन् ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा सुरु गरेको जनता आवास कार्यक्रम पुनः थप हुन नसकेको सब–इन्जिनियर ओमप्रकाश शर्माले बताए । प्रदेश सरकारको तर्फबाट सञ्चालन भएको कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहमा ५/५ वटा घर निर्माण हुँदै आएका छन् ।

सब–इन्जिनियर शर्माका अनुसार जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश १ का तीन जिल्लामा सबै प्रक्रिया पूरा भएर प्रतिक्षाको सूचीमा पाँच हजार सात सय ५२ घर छन् । जसमध्ये मोरङमा दुई हजार एक सय ६३, सुनसरीमा दुई हजार ४४ र उदयपुरमा एक हजार पाँच सय ४५ घर सम्झौताको क्रममा रहेका छन् ।

जनता अवास कार्यक्रमअन्तर्गत दुई कोठे घर निर्माण हुने गरेको छ । एउटा घर निर्माणका लागि सम्पूर्ण खर्च तीन लाख ३२ हजार पाँच सय लाग्ने गरेको शर्माले बताए । जसमध्ये १० प्रतिशत घरधनीले व्यहोर्नुपर्ने र अनिवार्य शौचालय निर्माण गर्नुपर्ने उनले बताए ।

शौचालय निर्माण नभएको खण्डमा घर हस्तान्तरण नहुने शर्माले बताएका छन् । उनले भने, ‘शौचालय निर्माण नगरेका कारण कतिपय घर हस्तान्तरण हुनै बाँकी रहेका छन् । घर निर्माणका लागि स्थानीय तहसँग समन्वय र सहकार्य हुँदै आएको छ ।