Rumpum Advertisement

आज राष्ट्रिय पोशाक दिवस

आज राष्ट्रिय पोशाक दिवस

काठमाडौँ/आज (शुक्रबार) आठौँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘हाम्रो शान हाम्रो स्वाभिमान राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुक्रबार आठौँ राष्ट्रिय पोशाक दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौँको माइतीघर मण्डलामा विशेष कार्यक्रम गरी राष्ट्रिय पोशाक दिवस मनाएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनसमेत पर्ने यस दिनमा देश–विदेशमा छरिएर रहेका नेपालीहरुले नेपाली पोशाक दौरा–सुरुवाल, टोपी, गुन्युचोली लगाएर प्रचार–प्रसार गर्ने गरेका छन् । वि.सं. २०७० साल पौष १७ गते गतेदेखि यस दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउन थालिएको हो ।

यस दिवसको संयोजन गर्दै आएका राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपाली मौलिकता तथा संस्कृतिलाई विदेशी संस्कृतिले धरासयी बनाउन लागेको अवस्थामा नेपाली संस्कृति र सभ्यतालाई विश्वभर उजागर गर्न राष्ट्रिय पोशाक दिवसको सुरुवात गरिएको बताए । सरकारले नेपालको सबै जातजाति, भाषा, धर्म, संस्कृतिलाई प्रतिनिधित्व गर्ने साझा पोशाक घोषणा गर्नुपर्ने पनि उनले बताए ।

यस दिन देश–विदेशमा छरिएर रहेका नेपालीहरुले स्वस्फूर्त रुपमा दौरासुरुवाल तथा गुन्युचोली लगाएर विभिन्न कार्यक्रमहरुमा भाग लिने तथा सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दै आएका छन् ।