Rumpum Advertisement

आजबाट अङ्ग्रेजीे नयाँ वर्ष २०२१ सुरु

Neuro
आजबाट अङ्ग्रेजीे नयाँ वर्ष २०२१ सुरु

विराटनगर / इस्वी संवत् २०२० लाई बिदाइ गर्दै नयाँ वर्ष २०२१ आज (शुक्रबार) बाट सुरु भएको छ ।

विश्वभर शुभकामना आदानप्रदान र विभिन्न कार्यक्रम गरेर नयाँ वर्ष धुमधामसाथ मनाइँदै छ । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्टको निधनपछि उनको सम्झानामा अनुयायीहरुले यो वर्ष प्रचलनमा ल्याइएका हुन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को बिदाइ र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन्। यशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी पोप ग्रेगोरियनले सुरु गरेको यस पात्रोलाई ग्रेगोरियन पात्रो पनि भन्ने गरिन्छ।

हर्षोल्लासका साथ मनाइने अङ्ग्रेजीे नयाँ वर्षका लागि यस पटक कोरोना भाइरस बाधक बन्यो । नेपालमा पनि विविध कार्यक्रम गरेर अङ्ग्रेजीे नयाँ वर्ष मनाउने गरिन्थ्यो । नयाँ वर्ष मनाउन र घुम्नकै लागि विदेशी पर्यटकहरु नेपालका पर्यटकीय एवम् धार्मिक गन्तव्यहरुमा आउने गरेका थिए । कोरोनाका कारण विदेशी पर्यटकको उल्लेख्य उपस्थितिविनै यस पटक अङ्ग्रेजीे नयाँ वर्ष मनाउनुपर्ने अवस्था आएको छ । केही पर्यटकीय स्थलमा घुमघामका लागि आन्तरिक पर्यटकहरु भने पुगेका छन् ।

अङ्ग्रेजीे नयाँ वर्षको पूर्व सन्ध्यामा नेपालसहित विश्वभर बिहीबार राति आतसबाजीसहित ‘न्यु इयर इभ’ का नाममा कार्यक्रम भएका छन् । नयाँ वर्षको स्वागतका लागि नेपालसहित विश्वका विभिन्न मुलुकहरुमा कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजीे नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै नेपाली जनताको जीवन सुखी बनाउने सरकारको अभियान सार्थक बिन्दुनजिक पुगेको बताएका छन् । उनले आगामी वर्ष विकास र समृद्धिका लागि सरकारले बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

‘हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तव्यतर्फ थप गतिशील बनाएका छौं । राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्नेछन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाइमा पुग्नेछ’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुको अझ नजिक पुग्नेछ । आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबुत हुनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षाका लागि सरकारले चालेका पाइला अझ माथि पुर्याउनेसमेत विश्वास व्यक्त गरेका छन् । ‘हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं । भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं’, ओलीले सन्देशमा थप भनेका छन्, ‘राष्ट्रिय समृद्धिका यी पाइलाहरूलाई उचाईमा पुर्‍याउने सरकारको यस अभियानमा सम्पूर्ण पेसा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’

ओलीको सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिइएको छ । ‘नयाँ वर्ष २०२१ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यका लागि पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु’, ओलीले भनेका छन् । प्रधानमन्त्री ओलीले सन् २०२० मा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सामना गर्नु परेको र त्यसको क्षतिलाई न्युन गर्न नेपाल सफल भएको दाबीसमेत गरेका छन् ।