Rumpum Advertisement

‘पैसा ल्याउने आस थियो, लास आयो’

Neuro
‘पैसा ल्याउने आस थियो, लास आयो’

विराटनगर । ६४ वर्षीय उखु किसान नारायण राय यादवको आन्दोलनकै क्रममा मृत्यु भएपछि परिवारका सदस्य बिचल्लीमा परेका छन्।

सर्लाहीको धनकौल गाउँपालिका–७ का यादवको परिवारमा १९ जना छन्। तीन बैंकको २५ लाखभन्दा बढी ऋण रहेको यादवका जेठा छोरा सीयाराम रायले बताए। ‘ऋण भए पनि बुवा हुँदा हामीलाई कुनै चिजको चिन्ता थिएन। बुवाले नै घरव्यवहार चलाउनुहुन्थ्यो। अब हामी अभिभावकविहीन बनेका छौं’, सीयारामले भने।

सीयारामका अनुसार उनका बुवा नारायणले खेती गर्न र ट्र्याक्टर किन्न तीन वटा बैंकसँग ऋण लिएका हुन्। ‘सर्लाही सदरमुकाम मलंगवाका द–सहाराबाट १४ लाख, सहारा विकासबाट ५ लाख र गाउँकै सवलम्बन सहकारीबाट ६ लाख ऋण लिनुभएको थियो’, उनले भने, ‘द–सहाराबाट बुवाको नाममा ७ र मेरो नाममा ७ लाख ऋण छ। गाउँको सहकारीबाट बुवाले मेरो र कान्छो भाइ जियालालको नामबाट ऋण निकाल्नुभएको थियो।’

उनका अनुसार धनकौलस्थित अन्नपूर्ण सुगर मिलबाट उखुको बक्यौता २४ लाख रुपैयाँ उठाउन बाँकी छ। उखु दियौं तर उद्योगीले पैसा सट्टा बुवाको ज्यान लिए’, उनले भने, ‘उद्योगीले समयमा पैसा दिएको भए हामी टुहुरा हुँदैनथ्यौं। उद्योगीका कारण हाम्रो परिवार अहिले बर्बाद भएको छ।’

दिनानुदिन बैंकको ब्याज बढ्दो छ। नारायण गाउँका किसानसहित आन्दोलन गर्न मंसिर २८ गते काठमाडौं गएका थिए। ‘यसपालि पैसा लिएरै घर आउँछु भनेर बुवा जानुभएको थियो। तर, न पैसा लिएर आउनुभयो न खाली हात’, उनले भने, ‘पैसाको साटो कात्रोमा बेरिएर मृत शरीर घरमा आइपुग्यो।’

सरकारसँग सहमति भएपछि पैसा पाउने आशा पलाएको थियो। ‘बुवाको नाममा १ लाख ६५ हजार र मेरो नाममा २६ हजार रकम खातामा आएको थियो। बुवाले केही पैसा गएको छ, हेर्नू भनेर फोन गरेर भन्नुभएको थियो। बाँकी पैसा ७ दिनमा दिएपछि पैसा लिएरै घर आउँछु भनेर फोन गर्नुभएको थियो’, उनले भने, ‘तर, गत मंगलबार बिहान अचानक फोन आयो। बुवाले नै गर्नुभएको थियो। फोनमा बुवाले शौच गर्न शौचालय गएका बेला बेहोस भएर लडेको घटना सुनाउनुभयो। घरबाट उपचार गराउनका लागि आऊ पनि भन्नुभयो। घरबाट जादाँ समय लाग्छ भनी मैले सँगै गएको गाउँका एक जना किसानलाई फोन गरी बुवालाई उपचार गराउन अस्पताल लैजानू म आउँदै छु भनें। तर, केही बेरमा फेरि फोन आउँदा बुवाको मृत्यु भएको खबर सुन्नुपर्‍यो।’

उनले बुवाको मृत्युपछि कृषि मन्त्रालयले २५ हजार सहयोग गरेको बताए। अरु कतैबाट सहयोग नआएको उनको गुनासो छ। स्थानीय मनोज यादवले आफूले उब्जाएको अन्नबालीको पैसा लिन ज्यानै दिनुपर्ने यो कस्तो जमाना आएको भन्दै गुनासो गरे। अन्नपूर्ण पोस्टमा समाचार छ