Rumpum Advertisement

हिमाली जिल्लालाई जोड्न यसरी छिचोलिँदै छ कर्णाली करिडोर

हिमाली जिल्लालाई जोड्न यसरी छिचोलिँदै छ कर्णाली करिडोर

विराटनगर । हिमाली जिल्ला हुम्लालाई बाँकी देशसँग सडक सञ्जालमा जोड्न नेपाली सेनाले कर्णाली करिडोर छिचोल्न सुरु गरेको ६ वर्षमा ९० प्रतिशत सडकमा गाडी गुड्न थालेको छ ।

गाउँनजिकै गाडी पुग्न थालेपछि हुम्लावासी खुसी भएका छन् भने बाँकी काम पनि सेनालाई दिन माग गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोट जोड्ने एक सय ३७ किलोमिटर सडकको ९० प्रतिशत ट्र्याक खुलेको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको एक सय २२ किलोमिटर सडकमा ट्र्याक खुलेको नेपाली सेनाले जनाएको छ । ट्र्याक खुलेसँगै गाडी गुड्न थालेका छन् ।

यो सडकखण्ड निर्माणका लागि ९ चैत ०७१ मा नेपाली सेनालाई जिम्मा दिइएको थियो । कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मेजर मिलन कार्कीले सल्लीसल्लासम्म ट्र्याक खुलेको बताए । ‘सल्लीसल्लासम्म एक सय २२ दशमलव ७५ किलोमिटर ट्र्याक खुलेको छ,’ इन्जिनियरसमेत रहेका मेजर कार्कीले भने, ‘खुलालुदेखि जैर खच्चासम्म एक सय १४ किलोमिटर सेनाले पनि तेलसहित गाडी गुडाउने गरेको छ । खच्चादेखि ८ दशमलव ७५ किलोमिटरमा गाडी गुडेको छैन । त्यसमा पनि छिटै गाडी गुड्छ ।’

सेनाले एक सय २५ किलोमिटर ट्र्याक निर्माणको जिम्मा पाएको थियो । त्यसमध्ये अब दुई दशमलव दुई किलोमिटर मात्रै बाँकी रहेको मेजर कार्कीले बताए । ‘हामीलाई जिम्मा दिएको सडकखण्डको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ, अब २२ सय मिटर बाँकी छ । त्यो पनि छिटै सक्छौँ,’ उनले भने ।

अब सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्न १५ किलोमिटर मात्रै बाँकी छ । त्यो सडकखण्डको ट्र्याक खोल्ने जिम्मा पनि सेनालाई नै दिनुपर्ने स्थानीय बासिन्दा बताउँछन् । ‘सेना आफ्नो काम सकेर फर्किने तयारीमा छ । अब बाँकी काम पनि सेनालाई दिनुपर्छ,’ अदानचुली गाउँपालिका–२ का गोर्ख बुढाले भने, ‘ठेकेदारलाई जिम्मा दिए त यो काम पनि कैयौँ वर्ष लाग्छ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ