Rumpum Advertisement

भ्युटावर निर्माण सुस्त गतिमा

Neuro
भ्युटावर निर्माण सुस्त गतिमा

विराटनगर । काठमाडौँको पुरानो बस पार्कमा निर्माणाधीन ‘काठमाडौँ भ्युटावर’ निर्माण सुस्त गतिमा निर्माण भइरहेको छ ।

निर्माण सुरु भएकोे पाँच वर्ष बितिसक्दा पनि अहिलेसम्म टावर निर्माणको १५ प्रतिशत मात्रै काम भएको छ ।महानगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौतामा २०७८ असारभित्र उक्त टावरको निर्माण सम्पन्न गरी व्यावसायिक प्रयोजनमा आइसक्नुपर्ने उल्लेख गरिए पनि अहिलेसम्मको निर्माणको अवस्थाले सो समयावधिमा कार्य सम्पन्न हुनसक्ने अवस्था देखिएको छैन । अहिलेसम्म सो टावर निर्माणको बेसमेन्टको काम सम्पन्न भई थप निर्माणकार्य अगाडि बढेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता किशोरमान डङ्गोलले महानगर र निर्माण कम्पनीबीच भएको सम्झौताबमोजिम ‘काठमाडौँ भ्युटावर’ को काम हुन नसकेको बताए । टावर निर्माणको जिम्मा जलेश्वर, स्वच्छन्द र बिकोई (जेभी)ले पाएका छन् । २०७१ फागुन २२ गते सम्झौता भए पनि निर्माण कम्पनीले २०७३ साउन ३० गतेदेखि मात्र काम सुरु गरेको हो ।

झण्डै दुई वर्ष काम ढिलो सुरु गरे पनि निर्माण कम्पनीले बीचबीचमा काम छोड्दै आएको छ । महानगरले सो टावर निर्माणका लागि गत वर्ष चैतमा एक वर्षका लागि समयसमेत थप गरिसकेको छ ।

सम्झौतानुसार निर्माण कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् भने त्यसपछि काठमाडौँ महानगरलाई हस्तान्तरण गर्नेछन् । सम्झौताअनुसार अहिलेसम्म टावरको ७५ प्रतिशत काम सम्पन्न हुनुपर्नेमा अहिले जमिनमुनि (बेसमेन्ट) को काम सम्पन्न गरी जमिनमाथि खम्बा राख्ने काम सुरु भएको हो । अहिले निर्माणस्थलमा सयभन्दा बढी जनशक्ति दैनिक काम गरिरहेका छन् । उक्त टावर निर्माणको कुल लागत चार अर्ब ७० करोड रुपैयाँ अनुमान गरिएको छ । जम्मा २९ तलाको टावर निर्माण गर्ने लक्ष्य राखिएकोमा अहिले १२ तला मात्रै निर्माण हुने भएको छ । गोरखापत्र दैनिकमा समाचार छ