Rumpum Advertisement

‘चिसो अझै बढ्न सक्छ’

‘चिसो अझै बढ्न सक्छ’

विराटनगर । काठमाडौं उपत्यकाको तापक्रम बिहीबार शून्यमा झरेको छ। बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ।

यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस थियो। गत वर्ष डिसेम्बर ३१ तारिखमा उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो।

मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने महाशाखाका अधिकारीको ठहर छ। ‘हिउँदे वर्षा अझै भएको छैन। वर्षासँगै उच्च भेगमा हुने हिमपातको प्रभावले स्वाभाविक रूपमा देशैभर चिसो बढ्छ’, महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने। अहिले पश्चिमी वायु बलियो नभएकाले तत्काल हिउँदे वर्षाको सम्भावना नरहेको सापकोटाले बताए।

मौसमविद् अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रअरीलाई मध्य हिउँदे अवधिका रूपमा बुझ्ने गर्छन्। जलवायु परिवर्तनको प्रत्यक्ष/अप्रत्यक्ष प्रभावले केही वर्षयता हिउँदे झरी हिउँदयामको अन्त्यतिर धकेलिन थालेकाले झरीसँगै न्यूनतम तापक्रम खस्किने वरिष्ठ मौसमविद् मणिरत्न शाक्यको ठहर छ।

केही दिनयता तराईका भू–भागमा बाक्लो हुस्सुले जनजीवन प्रभावित भइरहेका बेला मौसमविद्हरू भने अझै शीतलहर सुरु नभएको बताउँछन्। तराईमा अहिले बाक्लो हुस्सु मात्रै लागेको महाशाखाका मौसमविद् सापकोटाले बताए। ‘तराईमा स्वाभाविक रूपमा तापक्रम घटेर चिसो बढेको हो, शीतलहर सुरु भएको भनेर घोषणा गर्न हतार हुन्छ’, उनले भने।

३ दिन अथवा ४८ घण्टासम्म सामान्य घामसमेत नलागेर, बाक्लो हुस्सुसँगै दिउँसै पानी परेझैँ भएमा मात्रै शीतलहरको प्रभाव भन्न मिल्ने सापकोटाले बताए। अन्नपूर्ण पोस्टमा समाचार छ