birat ribon

सामुदायिक विद्यालय सुधारमा सरोकारवालाको जिम्मेवारी

जुन दिन सबै सामुदायिक विद्यालयहरू नमुना बन्नेछन् र त्यसको प्रतिफल राष्ट्रले पाउन थाल्नेछ

Neuro
सामुदायिक विद्यालय सुधारमा सरोकारवालाको जिम्मेवारीजुन दिन सबै सामुदायिक विद्यालयहरू नमुना बन्नेछन् र त्यसको प्रतिफल राष्ट्रले पाउन थाल्नेछ
डिबी भुजेल

शैक्षिक क्षेत्रको उन्नयनका लागि सरकारी स्तरबाट सञ्चालित वा पूर्णतः सरकारी स्वामित्वमा रहेका विद्यालयहरू सामुदायिक विद्यालय हुन् । एक गाँस खाएर, एक सरो लगाई जीवननिर्वाह गर्ने मजदुरका बालबच्चादेखि उपल्लो वर्गका बालबच्चाहरूको समेत सहज पहुँचभित्र रहेका हुन्छन् सामुदायिक विद्यालयहरू । दूरदराजका विकट ग्रामीण क्षेत्रदेखि सबै प्रकारका सेवा–सुविधा सम्पन्न सहरका बीचबीचमा समेत सामुदायिक विद्यालयहरू स्थापित छन् र यिनीहरूले निरन्तर रूपमा ज्ञान प्रवाह गरिरहेका छन् । तसर्थ आज सामुदायिक विद्यालयका कक्षाकोठाहरू सबै वर्ग, लिङ्ग, जातजाति, भाषा, सम्प्रदाय, भूगोल आदिका लागि उत्तिकै रूपमा पहुँचयोग्य रहेको तथ्यलाई नकार्न सकिन्न ।

सबैको पहुँचभित्र सहज रूपमा रहेका सामुदायिक विद्यालयहरू अपेक्षाकृत शैक्षिक उन्नयनका लागि भने कतिपय अवस्थामा कमजोर सावित भएका छन् । यसका पछाडि हाम्रो सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक आदि कारणहरू हुन सक्लान् तथापि मुख्यतः कर्तव्य निर्वाह गर्नुपर्नेहरू दायित्वबाट पन्छिन खोज्दा शैक्षिक समस्या विकराल बन्दै गइरहेको छ । सामुदायिक विद्यालयहरूमा भएको राजनीतिक हस्तक्षेप तथा राम्राभन्दा पनि हाम्रालाई प्राथमिकता दिनु र कार्यको सही विश्लेषण गरी पृष्ठपोषण दिन नसक्नुले क्रमशः शैक्षिक स्तर खस्कँदै गइरहेको छ ।

cura insider

सरकारको शैक्षिक नीति, शैक्षिक क्षेत्रप्रतिको चासो तथा लगानी, विद्यालयको व्यवस्थापकीय पक्ष, शैक्षिक नेतृत्व, शिक्षक–कर्मचारी अभिभावक, विद्यार्थी र विद्यालय सेरोफेराको सामाजिक संस्कार तथा प्रवृत्तिले सो क्षेत्रको शैक्षिक गुणस्तर वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तसर्थ सामुदायिक विद्यालयको स्तर वृद्धिका लागि कोही कसैको एकल प्रयासले मात्र सम्भव छैन, एकीकृत रूपमा होस्टेमा हैँसे गर्दै निरन्तर लागिरहनुपर्छ । सामुदायिक विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिकलगायत अवस्था सुधारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवाला पक्षहरूबारे केही चर्चा गरौँ ।

विद्यार्थी :

विद्यालयीय समग्र पक्षको जस–अपजसको केन्द्रविन्दु विद्यार्थी नै हो । विद्यार्थी सफल भए विद्यालय पनि सफल बन्छ, विद्यार्थी असफल भए विद्यालय पनि असफल हुन्छ । तसर्थ विद्यार्थीको सफलताविनाको सामुदायिक विद्यालय सुधारको परिकल्पना गर्न सकिन्न । विद्यालय परिसरभित्र जेजस्तो शैक्षिक गतिविधि र क्रियाकलाप सञ्चालन गरे पनि अन्ततः विद्यार्थीको उपस्थिति तथा सक्रियतालाई निर्विकल्प नमाने त्यसको औचित्य रहँदैन ।

हिजोका दिनभन्दा आजको अवस्था फरक छ । विभिन्न सामाजिक सञ्जालको प्रयोग एवम् विस्तार तथा मनोरञ्जनको दुनियाँमा थपिएका नवीन आयामहरूले विद्यार्थी प्रायः त्यसैमा भुलिरहेको तीतो यथार्थ हामीसामु छ । अध्ययन तथा सिर्जनशीलताभन्दा पनि मोबाइल, ल्यापटप, कम्प्युटर, टेलिभिजन, इन्टरनेट आदिको साथमा नै विद्यालयीय उमेरका बालबालिकाको समय व्यतित हुने गरेको छ । जसले गर्दा कलिलै उमेरमा विभिन्न किसिमका आपराधिक गतिविधि र क्रियाकलापमा समेत कतिपय बालबालिकाहरू मुछिएका समाचारहरू आइरहेका छन् ।

केही बालबालिकालाई छोडेर हेर्ने हो भने अधिकतर विद्यार्थीमा जेजस्ता गुणहरू हुनुपर्थ्यो त्यो पाइँदैन । पढाइप्रतिको लगावमा निरन्तर गिरावट आउनु, अनुशासनहीन बन्दै जानु, विभिन्न नकारात्मक गतिविधि र क्रियाकलापमा सक्रिय हुनु, शिक्षक तथा अभिभावकप्रति विशेषतः पढाइसँग जोडेर गलत दृष्टिकोण राख्न तथा आफ्नो जिम्मेवारी र कर्तव्यप्रति उत्तरदायी नबन्नु आजका सिकारुको गुणसरह बनेको छ । विद्यार्थिमा विकसित यस्ता अनपेक्षित व्यवहारका कारण सामुदायिक विद्यालयको शैक्षिक सुधारको लक्ष्य समस्याग्रस्त बनेको छ ।

विद्यार्थीले मात्रै आफ्नो कर्तव्य नभुली निरन्तर लागिरहने हो भने पनि शैक्षिक गुणस्तर अपेक्षाकृत अभिवृद्धि हुनेमा दुई मत छैन । विद्यार्थीमा उत्सुकता जागृत भएमा, अनुशासनको दायरामा आफूलाई राख्न सकेमा, नैतिक मूल्य र मान्यताअनुरूप रूपान्तरण गर्न सकेमा शिक्षण क्षेत्रमा हरेक कुरा सम्भव हुनेछ ।

शिक्षक :

सामुदायिक विद्यालयको शैक्षिक सुधारमा गहन जिम्मेवारी बहन गर्ने प्रमुख व्यक्ति भनेकै शिक्षक हो । शिक्षकले आफ्नो कर्तव्य पूर्णतः परिपालना गरिदिने मात्रै हो भने पनि विद्यालयको गुणस्तर सुधारमा धेरै हदसम्म टेवा पुग्छ । तर सरकारी सेवा–सुविधाप्राप्त अधिकतर शिक्षकहरूमा आफ्नो कर्तव्य भनेको केवल जागिर खाने मात्रै हो, शिक्षण सिकाइ क्रियाकलाप भनेको गौण विषय हो भन्ने गलत मानसिकता हाबी भएको प्रतीत हुन्छ । कर्तव्य र दायित्वभन्दा पनि बढी अधिकारका बारेमा वकालत गरिरहँदा सिकाइ क्रियाकलापप्रति उदासिन हुनु स्वभाविकै हो ।

आफू कार्यरत शैक्षिक संस्थाको सुधारका लागि आफू पनि लागिनपर्ने अनि काम गरौँ भन्ने भावना भएका साथीहरूको पनि मनोबल गिराइदिने चारित्रिक स्वभावले पनि समस्या उत्पन्न गरिरहेको छ ।

एक प्रकारले झारो टार्ने मेलोमात्रै गरिरहने प्रवृत्तिको विकास हुनु, आफूले आफैँलाई तल्लो दर्जाको नागरिकका रूपमा व्याख्या गरिरहनु, निजामती क्षेत्रका कर्मचारीसँग तुलना गरेर सो बराबरको सेवा–सुविधा प्राप्तितर्फ मात्रै ध्यान दिनु, म गाउँका केटाकेटीलाई पढाउने मास्टर त हुँ नि भनेर हीनताभावले ग्रसित भइरहनु आदि शिक्षकका स्थायी कमजोरी हुन् ।

कुनै राजनीतिक दलको सदस्यता लिएर त्यसैको झन्डा बोकी राजनीतिक आडभरोस र पहुँचका भरमा आफ्नो प्रभुत्व जमाउन खोज्नु शिक्षकको अर्को कमजोरी हो, जुन प्रवृत्तिले शैक्षिक गुणस्तर अभिवृद्धिमा ठूलो तगारो हालिदिएको छ । आफू कार्यरत शैक्षिक संस्थाको सुधारका लागि आफू पनि लागिनपर्ने अनि काम गरौँ भन्ने भावना भएका साथीहरूको पनि मनोबल गिराइदिने चारित्रिक स्वभावले पनि समस्या उत्पन्न गरिरहेको छ ।

विषम परिस्थितिका अतिरिक्त कतिपय शिक्षकहरू शिक्षण पेसालाई सर्वश्रेष्ठ ठानी निरन्तर लागिपरिरहेका दृष्टान्त अनेक छन् । जुन विद्यालयमा शिक्षकले आफ्नो कर्तव्य भुलेका छैनन्, दायित्व बिर्सेका छैनन्, ती सामुदायिक विद्यालयहरू रहरलाग्दा बनेका छन् । तसर्थ शिक्षकले सत्ता–केन्द्रित राजनीतिक गतिविधिबाट प्रत्यक्षतः अलग रहेर बालबालिकाको भविष्य बनाउन आफ्नो समय समर्पण गर्ने हो भने नेपालका प्रत्येक सामुदायिक विद्यालय नमुना विद्यालय बन्न समय लाग्दैन ।

शिक्षकमा आफूले अध्यापन गराउने विषयवस्तुको ज्ञान त हुनु नै पर्छ, समय सान्दर्भिक रूपमा आफूलाई अद्यावधिक गर्न पनि सक्नुपर्छ । विज्ञान–प्रविधिको युगमा यससँग साक्षात्कार हुनु झन् महत्त्वपूर्ण छ । त्यस्तै विषयवस्तु प्रस्तुत गर्ने शैलीमा पनि समय–सान्दर्भिक परिवर्तन ल्याउन सक्नुपर्छ, जसका लागि समय–समयमा विभिन्न तालिम तथा परामर्श कार्यक्रममा सहभागी भई आफूलाई अद्यावधिक गरिरहनुपर्छ । यति गर्न सकिए सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा कोसेढुङ्गा सावित हुनेमा दुई मत नहोला ।

प्रधानाध्यापक :

कुशल प्रशासकले नै सफल तरिकाले संस्था सञ्चालन गर्न सक्छ । प्रशासकमा मुख्यतः दूरदृष्टिपना र विवेकपूर्ण निर्णय गर्न सक्ने क्षमता हुनुपर्छ । विशेषगरी संस्थाको हितका लागि जस्तोसुकै परिस्थितिसँग पनि मुकाबिला गर्न सक्ने आँट र धैर्यता प्रधानाध्यापकमा हुनुपर्छ र मात्रै विद्यालयको मुहार फेरिन्छ । विद्यालयलाई सही बाटोतर्फ डोहोर्‍याउनका लागि प्रधानाध्यापकको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

प्रधानाध्यापकले चाहेमा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न तथा यसको सर्वाङ्गीण पक्षमा सुधार ल्याउन लामो समय नलाग्नेमा विश्वस्त हुन सकिन्छ । जसमा प्रधानाध्यापकको कौशलता, शिक्षक, विद्यार्थी, कर्मचारीलगायतको मनोविज्ञान बुझ्नसक्ने क्षमता हुनु नितान्त आवश्यक छ । त्यसरी नै शैक्षिक क्षेत्रमा चासो राख्ने सम्पूर्ण सरोकारवालाहरूसम्म पहुँच हुनु पनि प्रअको अर्को विशेष गुण हो ।

बद्लिँदो समय र परिस्थितिसँगै प्रविधिसँग अद्यावधिक हुन सक्ने, शिक्षक कर्मचारी एवम् विद्यार्थीका चासोहरू बुझ्न सक्ने, विद्यालय सुधारका लागि अहोरात्र खट्न सक्ने प्रवृत्ति प्रधानाध्यापकमा हुनुपर्छ । जब कुनै राजनीतिक सङ्गठनमा आबद्ध भएर एउटा प्रधानाध्यापकले विद्यालय परिसरभित्र सत्ता राजनीतिको दुर्गन्ध भित्र्याउँछ, त्यही बेलादेखि विद्यालयको अधोगति यात्रा सुरु हुन्छ । तसर्थ विद्यालय राजनीतिको कुनै पनि गतिविधि र क्रियाकलाप गर्न नदिने तथा विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउने हो भने विद्यालय सुधारले अवश्य पनि फड्को मार्छ ।

asdf

कुन शिक्षकले के–कस्तो सिकाइ गतिविधि गरिरहेको छ, अन्य समयमा विद्यालय सुधारका लागि के–कस्तो कार्य गरिरहेको छ आदि विविध पक्षको बारेमा प्रत्यक्ष वा परोक्ष निगरानी राख्ने र असल कार्यका लागि पुरस्कृत गर्ने तथा सुधार गर्नुपर्ने कार्यका लागि आवश्यकीय सुझाव दिनसक्ने निपूर्णता प्रधानाध्यापकमा हुनु आवश्यक छ । मातहतका शिक्षक–कर्मचारीलाई थर्काउने, धम्क्याउने तथा राजनीतिक रूपमा विभेदपूर्ण व्यवहार गर्ने हो भने त्यसले समग्र विद्यालयको शैक्षिक गुणस्तरमा दीर्घकालीन असर पार्छ ।

कतिपय विद्यालयहरूमा राजनीतिक शक्ति र पहुँचका भरमा शैक्षिक गुणस्तरमा अलिकति पनि टेवा दिन नसक्ने तथा कुनै प्रकारका दूरदृष्टि नभएका व्यक्तिले प्रधानाध्यापकलाई आफ्नो सीमित घेराभित्र राखेर चलाइरहेका हुन्छन् । यस्तो बेला प्रधानाध्यापकले यस्ता व्यक्तिहरूको व्यक्तिगत स्वार्थका लागि काम गरिरहनुपर्ने अवस्था हुनसक्छ । विभिन्न गुट–उपगुट सिर्जना गरेर यस्ता व्यक्तिहरू सधैँ शक्तिमा रहिरहन चाहने हुन्छन् । यसप्रति सजग र सचेत बन्दै यस्ता प्रवृत्तिलाई चिर्न सक्ने कुशलता एउटा सफल प्रधानाध्यापकमा हुनुपर्छ ।

शिक्षक–कर्मचारीलाई समान व्यवहार, आवश्यकताअनुसार सहयोग एवम् सहानुभूति व्यक्त गर्न सक्ने, आवश्यकीय पृष्ठपोषण तथा हौसला प्रदान गर्ने, विद्यालयका शैक्षिक भौतिक एवम् अन्य पक्षको विकासका लागि निरन्तर खटिइरहने तथा उचित मूल्याङ्कन गर्ने प्रवृत्ति एउटा प्रधानाध्यापकमा हुनुपर्छ । समग्रमा कुशल प्रशासकमा हुनुपर्ने गुणले सुसज्जित प्रधानाध्यापक नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको नाइके हुनेमा दुईमत छैन ।

विद्यालय व्यवस्थापन समिति :

विद्यालय व्यवस्थापन समिति समग्र विद्यालयको अभिभावक हो । विद्यालय सुधारमा व्यवस्थापन समितिको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । व्यवस्थापकहरूले शिक्षक–कर्मचारीमा निरन्तर उत्साह र अभिप्रेरणा जागृत गराउन सक्नुपर्छ । कुनै किसिमको राजनीतिक हस्तक्षेपकारी भूमिका निर्वाह नगरी समभावका दृष्टिले शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई हेर्न सक्ने क्षमता विद्यालय व्यवस्थापन समितिमा हुनु जरूरी छ ।

विद्यालय व्यवस्थापन समितिमा विवेकपूर्ण निर्णय गर्न सक्ने क्षमतामा कमी आएमा, राजनीतिक प्रवृत्ति हावी भएमा, पदीय घमण्डसँगै आपूmलाई सुप्रिम र शिक्षक तथा कर्मचारीलाई नोकरसरह ठानेमा, आर्थिक प्रलोभनमा परी विद्यालयको चलअचल सम्पत्ति दोहन गरेमा विद्यालय क्षतविक्षत हुन्छ ।

शिक्षक तथा कर्मचारीमा देखिने विभिन्न तनाव र समस्यालाई सकेसम्म मनोवैज्ञानिक रूपले समाधान गर्न सक्ने आँट, साहस र धैर्यता विद्यालय व्यवस्थापन समितिमा हुनुपर्छ । विद्यालयको गुणस्तर अभिवृद्धिमा जस्तोसुकै कठिन अवस्थासँग पनि जुँध्न सक्ने र समाधानका विकल्पहरू खोजी उचित निकास दिनसक्ने क्षमता व्यवस्थापन समितिमा हुनुपर्छ ।

पदीय जिम्मेवारीलाई पूर्णतः बहन गर्दै विद्यालय सुधारका लागि आवश्यक स्रोतहरूको खोजी, प्राप्ति र वितरणमा उचित व्यवस्था गर्न सक्ने विद्यालय व्यवस्थापन समिति भएमा सामुदायिक विद्यालयहरू नमुना बन्छन् । तर विद्यालय व्यवस्थापन समितिमा विवेकपूर्ण निर्णय गर्न सक्ने क्षमतामा कमी आएमा, राजनीतिक प्रवृत्ति हावी भएमा, पदीय घमण्डसँगै आपूmलाई सुप्रिम र शिक्षक तथा कर्मचारीलाई नोकरसरह ठानेमा, आर्थिक प्रलोभनमा परी विद्यालयको चलअचल सम्पत्ति दोहन गरेमा विद्यालय क्षतविक्षत हुन्छ ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयको सुधारका लागि गर्ने हरेक गतिविधि पारदर्शी तवरले गरेको खण्डमा तथा जस्तो छ त्यस्तै देख्ने निष्कपट दृष्टि राख्नसक्ने प्रवृत्तिको विकास भएमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा कायापलट हुन कति पनि समय लाग्दैन ।

अभिभावक :

बालबालिकाको अधिकांश समय विद्यालयीय वातावरणमा भन्दा पनि घरपरिवार अर्थात् अभिभावकसँग नै बिताइरहेका हुन्छन् । विशेषगरी अभिभावकले आफ्ना बालबच्चाहरूले अध्ययन–अध्यापन कार्यलाई गम्भीरताका साथ लिएका छन् वा छैनन् भनेर उत्सुकता लिने मात्रै हो भने पनि शैक्षिक सुधारमा एउटा नयाँ आयाम थपिन्छ । यसका अतिरिक्त अभिभावकहरूले विद्यालयलाई सबैको साझा सम्पत्तिको रूपमा लिनु पनि त्यतिकै आवश्यक हुन्छ । आफ्नो स्तरबाट जे सकिन्छ सहयोग गरी विद्यालयलाई साँच्चिकै शैक्षिक मन्दिरका रूपमा विकास गर्न सघाउनु अभिभावकको दायित्व हो ।

विद्यालयप्रति नकारात्मक टीका–टिप्पणी गर्नुभन्दा पनि रचनात्मक सहयोग गरी कसरीे गुणस्तर सुधार गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु नितान्त आवश्यक छ । आफ्ना बालबालिका र विद्यालयप्रति जिम्मेवार बनी यसको सुरक्षा तथा सम्भारमा जबाफदेही तरिकाले लागिपर्ने हो भने सामुदायिक विद्यालय अवश्य पनि गर्व गर्न लायक बन्नेछन् ।

स्थानीय सरकार :

विद्यालयीय तहसम्मका शैक्षिक गतिविधि र क्रियाकलाप सञ्चालन तथा रेखदेखको गहन जिम्मेवारी पाएको स्थानीय सरकारको भूमिकालाई विद्यालय सुधारमा निकै महत्त्वपूर्ण मानिन्छ । देशमा सङ्घीयता लागू भइसकेपछि शैक्षिक क्षेत्र सुधारको लागि आवश्यकीय नीति, रणनीति निर्माण तथा कार्यान्वयनका लागि केन्द्र सरकारको आशामा बसिरहनुपर्ने अवस्था छैन । त्यस्ता अधिकारहरू स्थानीय सरकारलाई प्राप्त छन् । तसर्थ आफ्नो भौगोलिक क्षेत्र, समुदाय, संस्कार, संस्कृति, रीतिरिवाज, धर्म, परम्परा, रहनसहन आदिलाई हेरेर सोहीअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गरी स्थानीय सरकारले सामुदायिक विद्यालय सुधारमा महत्त्वपूर्ण टेवा पुर्‍याउनुपर्छ ।

जुन दिन सबै सामुदायिक विद्यालयहरू नमुना बन्नेछन्, त्यसको प्रतिफल समाज र राष्ट्रले पाउन थाल्नेछ, त्यही दिनदेखि देश एउटा निश्चित पद्दतिमा चल्नेछ, गरिबी, अन्याय, अत्याचार, कुसंस्कार, बेरोजगारीजस्ता पक्षहरू हराउँदै जानेछन् ।

स्थानीय सरकारले आफ्नो क्षेत्रभित्रका विद्यालयका हरेक गतिविधि एवम् क्रियाकलापलाई सूक्ष्म रूपमा अनुगमन तथा मूल्याङ्कन गरी आवश्यक राय, सुझाव दिनु तथा सहयोग गर्नुपर्छ । त्यस्तै गलत पाटा–पक्षहरूलाई निरूत्साहित गर्ने तथा सही र उचित पक्षहरूको प्रोत्साहनमा दूरदृष्टि राख्ने कुशलता स्थानीय सरकारमा हुनु नितान्त आवश्यक छ ।

विद्यालयभित्र कुनै प्रकारको राजनीतिक हस्तक्षेप सह्य हुँदैन । शिक्षक सरुवा, बढुवा, नियुक्तिलगायत कार्यमा हाम्रोभन्दा पनि राम्रो छान्ने संस्कारको विकास गर्नुपर्छ । यस्तो प्रवृत्तिको विकास होस् कि आफ्नो पालिकाभित्र असल, अनुभवी, दक्ष, सक्षम, विषयवस्तुमा निपूर्ण, आफ्नो कर्तव्य र दायित्वलाई सर्वोपरी ठान्ने शिक्षकहरू भित्र्याउने प्रतिस्पर्धा चलोस् अनि मात्र उक्त पालिकाका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा कुनै कमी नहुने पक्का छ ।

निष्कर्षमा, सामुदायिक विद्यालयको सुधारका लागि एक जनाको प्रयासमात्र सर्वोपरि हुँदैन । यसमा त सबै क्षेत्रबाट सबैको दायित्व र कर्तव्य बराबरी हुन्छ । विद्यार्थीमा अनुशासन, शिक्षकमा कर्तव्य पालना, प्रधानाध्यापकमा दूरदृष्टि एवम् कुशल प्रशासकीय दक्षता, अभिभावकमा जिम्मेवारी, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार तथा समुदायमा अपनत्व भएमा सामुदायिक विद्यालय अवश्य पनि सफल बन्नेछन् ।

जुन दिन सबै सामुदायिक विद्यालयहरू नमुना बन्नेछन्, त्यसको प्रतिफल समाज र राष्ट्रले पाउन थाल्नेछ, त्यही दिनदेखि देश एउटा निश्चित पद्दतिमा चल्नेछ, गरिबी, अन्याय, अत्याचार, कुसंस्कार, बेरोजगारीजस्ता पक्षहरू हराउँदै जानेछन् ।

jackson ribon