Rumpum Advertisement

आरती स्ट्रिपका कामदारद्वारा आन्दोलनको चेतावनी

Neuro
आरती स्ट्रिपका कामदारद्वारा आन्दोलनको चेतावनी

विराटनगर/मोरङको बुढीगङ्गामा रहेको आरती स्ट्रिप प्रालिले निकालेका मजदुर आक्रोशित भएका छन् । उनीहरुले उद्योगविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

उद्योगले कामदार निकालेपछि पुस १२ गते मजदुरहरु क्षतिपूर्तिसहित काम दिलाइपाउँ भन्दै श्रम कार्यालय पुगेका थिए । पुस १२ मा नै श्रम कार्यालयले कामदारलाई पुनर्बहाली गर्न उद्योगलाई पत्र काटेको थियो । तर उद्योगले श्रमको पत्रको अवज्ञा गर्दै प्रवेश गर्न नदिएपछि मजदुरहरु पुनः श्रम कार्यालय पुगेका छन् ।

पटक–पटक गरेर उद्योगले एक सय ८४ जना कामदारलाई विनाजानकारी कामबाट निकालेको छ । तीन वर्षदेखि आरती स्ट्रिपमा काम गर्दै आएका सुरज यादवले भने, ‘अघिल्लो दिन काम गरेर घर गएको मान्छे बिहान आउँदा गेट प्रवेश गर्न पाइएन, यस विषयमा उद्योगले कुनै जानकारी पनि दिएको छैन ।’ नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा हस्ताक्षर गरेकै आधारमा उद्योगले कामबाट निस्कासन गरेको उनले बताए ।

लामो समयदेखि काम गर्दै आएका कामदारलाई नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा हस्ताक्षर गरेकै आधारमा उद्योगले कामबाट निस्कासन गर्नु दुःखद रहेको नेपाल श्रमिक कारखाना सङ्घका जिल्ला अध्यक्ष श्रीप्रसाद साहले बताए । लामो समयसम्म काम गरेका मजदुरलाई उद्योगले ‘हाम्रो कामदार हैन’ भनेपछि बाध्य भएर श्रम कार्यालयमा जानु परेको उनले बताए ।

सरकारले तोकेको न्यूनतम ज्याला तीन वर्षदेखि उद्योगले नदिएको उनले बताए । २०७४ भदौ १९ गतेदेखि जारी भएको कानुन उद्योगले अहिलेसम्म पनि लागू नगरेकाले कानुनको सहारा लिएको उनले बताए । उनले भने, ‘फेरि पनि श्रमको चिठीलाई उद्योगले अवज्ञा गरेको खण्डमा र श्रमले पनि न्याय दिलाउन आनाकानी गरेको खण्डमा जस्तोसुकै आन्दोलनका कार्यक्रम गर्न पछि हट्ने छैनौँ ।’

‘आज श्रम कार्यालयले दिने निर्णय पर्खेर बसेका छौँ,’ साहले भने ‘यदि भोलिबाट उद्योगले पुनर्बहाली नगरेको खण्डमा चरणबद्ध आन्दोलन गर्ने छौँ ।’ उद्योगले भित्र प्रवेश गर्न नदिएपछि उनीहरुले बुधबार पनि उद्योग परिसरमा धर्ना दिएका थिए ।