Rumpum Advertisement

आपसमै नमिलेको मेलमिलाप

Neuro
आपसमै नमिलेको मेलमिलाप

काङ्ग्रेस भनाउँदो एउटा पार्टी छ नि, हो मूलतः त्यस पार्टीले आज पुस १६ लाई मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ । भारतमा निर्वासित जीवन बिताइरहेका काङ्ग्रेस नेता विश्वेश्वरप्रसाद अर्थात् बिपी कोइराला २०३३ सालमा आजकै दिन राजासँग मेलमिलाप हुनुपर्छ भन्दै नेपाल फर्केको दिनलाई मेलमिलाप दिवसका रूपमा मनाउने गरिएको छ ।

कन्टिर–बाबूको विचारमा ४५ वर्षपछि पनि यस दिवसको सान्दर्भिकता कम भएको छैन, बरु बढेकै छ । तर यस दिवसको महत्त्व बबुरा काङ्ग्रेसीजनले नै बुझ्न नसकेको देख्दा भने कन्टिर–बाबू बहुत दुखी छन् । उनी कड्किँदै सोध्छन्– अरे ओ काङ्ग्रेसी हो ! राष्ट्रियता, जनता र देशको संवेदनशील सवालमा तिम्रा नेता बिपी राजासँग मिल्न हुने तर तिमीहरू चाहिँ आपसमा पनि मिल्न नसक्ने ? एकमत नहुने ?

अरे यार … यतिबेला कमनिस्टहरूले लोकतन्त्र कोमामा पुर्‍याइसकेका छन् । कम्तीमा पनि लोकतन्त्र ब्युँताउनका लागि तिमीहरु मिल, बाँकी घर झगडा त गर्दै गरौला । यो बेलामा पनि नमिले कहिले मिल्छौ ?

काङ्ग्रेसीलाई कन्टिर–बाबूको सल्लाह छ– यो अप्ठेरो बेलामा सत्ताको चास्नीमा फँस्ने काम नगर । अहिलेको पहिलो आवश्यकता देश र लोकतन्त्रको रक्षा हो । यसका लागि लोकतन्त्रका अनुयायीबीच मेलमिलापको नीतिको कार्यान्वयन जरुरी छ ।

कन्टिर–बाबू कुराको बिट मार्दै भन्छन्– तिमीहरु मिल्न नसक्दा कसकसको वैशाखी चढेर देशमा कम्युनिस्ट अधिनायक एकछत्र हुन्छ अनि खानु लोप्पा ! त्यही वैशाखीले घोची–घोची रगतपच्छे बनाउँदा बल्ल तिमीहरू बिपी र उनको मेलमिलाप नीतिलाई सम्झौला ।

कि कसो ओल्बा, ग्राइन्ड-डिजाइन त त्यही हो नि ?