Rumpum Advertisement

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज

Neuro
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज

विराटनगर । नेपाली कांग्रेसले आज (बिहीबार) ४५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ ।

जननायक बीपी (विश्वेश्वरप्रसाद) कोइराला लगायतका नेताले निर्वासित जीवन अन्त्य गरेर भारतबाट स्वेदश फर्किएको दिन कांग्रेसले यो दिवस मनाउने गरेको छ । यो दिवस प्रत्येक वर्ष पुस १६ गते पर्छ । कांग्रेसले प्रत्येक वर्ष एक दिन यो दिवसलाई बडो महत्वका साथ मनाउने गरेको छ ।

विसं २०१७ सालमा तत्कालीन राजा महेन्द्रले तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई बर्खास्त गरेका थिए । कोइराला सरकारलाई बर्खास्त गर्दै निर्दलीय, निरङ्कुश, केन्द्रीकृत र एकात्मक पञ्चायती व्यवस्था सुरु गरेपछि कोइरालासहितका नेता जेल परेका थिए ।

त्यसपछि विसं २०२५ सालमा बीपीसहितका कांग्रेस नेता भारत प्रवासमा गए । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरू बीपी, गणेशमान सिंह, शैलज आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको नीति तथा सन्देशसहित नेपाल फर्किएका हुन् । यहि दिनको सम्झना एवं सम्मानमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गरिएको छ ।

नेपालमा केही समय जेल जीवन बिताएपछि भारत प्रवासमा पुगेका नेताहरु राष्ट्रियतामाथि खतरा बढेकोभन्दै आठ वर्षे निर्वासित जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीतिसहित आफ्नै मुलुक फर्किएका हुन् । राष्ट्रियता, प्रजातन्त्र स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका बीपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको राजनैतिक विचार अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तथा आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४५ वर्ष अघि अवलम्बन गरेको नीति अहिले पनि अति सान्दर्भिक रहेको कांग्रेस नेताहरुको भनाइ छ ।