Rumpum Advertisement

अध्ययनले देखायो अधिकांश मानिस कोभिड सङ्क्रमण हुने जोखिमपूर्ण ठाउँ

Neuro
अध्ययनले देखायो अधिकांश मानिस कोभिड सङ्क्रमण हुने जोखिमपूर्ण ठाउँ

विराटनगर । महामारीको समयमा, जहाँ र जो कोहीबाट पनि भाइरसको सङ्क्रमण सर्ने सम्भावना रहन्छ । हामीमध्ये धेरैले रेस्टुरेन्टमा खानु वा बाहिर भ्रमण गर्नु सबैभन्दा असुरक्षित रहेको विश्वास गर्दै आएका छौँ ।

तर, एनएचएस, बेलायतले गरेको हालसालको सर्वेक्षणमा कोभिड पहिचान हुनुअघि किराना स्टोर वा सुपरमार्केट गएर आएको व्यक्तिमा लक्षण विकास भएको रिपोर्ट गरिएको छ ।

पीएचई (पब्लिक हेल्थ इङ्गल्यान्ड) र एनएचएसले नोभेम्बरमा टेस्ट र ट्रेस एप प्रयोग गरेर कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको डाटा सङ्कलन गरेका थिए । पीएचईले सुपरमार्केटलाई पहिलो सङ्क्रामक ठाउँको रूपमा प्रमाणित नगरेपनि सङ्क्रमित र सङ्क्रमितको नजिकका सम्पर्कको विश्लेषण गर्दा प्रायः मानिस कोभिडको परीक्षण गर्नुअघि सुपरमार्केट, सपिङ्ग मल वा भीड भएको स्टोर गएको देखिएको थियो ।

लकडाउनको बेला पनि विभिन्न देशहरूमा अत्यावश्यक मान्दै सुपरमार्केट र स्टोरलाई खुल्ला राखिएको थियो । खाना वा उत्पादनबाट नभएर स्टोरमा राखिएका सामानको सम्पर्कमा आएको कारण सबैभन्दा ठूलो जोखिम हुनसक्छ ।

एक सुपरमार्केट वा सपिङ्ग मलमा विभिन्न सामान र हिँड्ने गल्ली नजिक हुन्छ । भाइरस लामो समयको लागि सतहमा रहन सक्ने तथा त्यहाँ भएका सामानलाई पहिले सङ्क्रमित व्यक्तिले छोएको हुनसक्ने हुँदा जहिले पनि जोखिम रहन सक्छ ।

पसल, सुपरमार्केट वा सपिङ्ग मलमा सामान किन्न आउने मानिसको भीड हुन सक्छ र सामाजिक दूरीको उपाय अपनाउनु पनि सधैं सम्भव नहुन सक्छ, जसले सङ्क्रमणको जोखिमलाई थप बढाउँछ ।

बीएमजे जर्नलले गरेको अर्को अध्ययनले सुपरमार्केट र किराना पसलमा सङ्क्रमण दर १८ दशमलब ६ प्रतिशत हुन्छ, जुन स्कूल, नर्सिङ्ग होम, होटेल, रेष्टुरेन्ट र सार्वजनिक शौचालय भन्दा धेरै हो ।

विज्ञका अनुसार एसिम्प्टोमेटिक ट्रान्समिशनका कारण पनि सङ्क्रमण वृद्धिको जोखिम निम्त्याउन सक्छ । सरसफाइको कमी, मास्क नलगाएको कारण दुवै ग्राहक र कर्मचारीमा जोखिम थप बढाउन सक्छ ।

ठूला–ठूला सपिङ्ग मलला कडा नियम स्थापना गर्दै सावधानीका उपाय अपनाउने सल्लाह दिइन्छ । तर, किराना सामानको किनमेल एक अत्यावश्यक अभ्यास र त्यहाँ अधिकांश व्यक्ति जाने गर्छन् ।

उक्त युके सर्वेक्षणले सार्वजनिक संस्थान, रेष्टुरेन्ट, क्याफे, जिमबाट पनि कोभिड सर्ने जोखिम रहने पत्ता लगाएका थिए । तर, यो सपिङ्ग मलको तुलनामा कम रहेको बताइएको छ ।