विराटनगर / मकुना हात्ती नियन्त्रणका लागि केन्द्रबाट कोसीटप्पु खटिएको हात्तीविज्ञसहितको प्राविधिक टोलीले कुनै हालतमा हात्ती मार्न नदिने बताएको छ ।
‘मकुनालाई आरक्षबाहिर निस्किन नदिन औषधि प्रयोग गरेर मात घटाउने, फाइरिङ गरेर तर्साउने, गस्ती सङ्ख्या र अवधि बढाउने निर्णय भएको छ,’ प्राविधिक टोलीका संयोजक हात्तीविज्ञ अशोक रामले भने, ‘हामी दिन–रात मकुना र बस्तीका बीचमा बार बनेर उभिनेछौँ ।’
अशोक राम हाल खप्तड राष्ट्रिय निकुन्जमा संरक्षण अधिकृतका रूपमा कार्यरत छन् । कोसीटप्पु वन्यजन्तु आरक्षका पूर्व–संरक्षण अधिकृतसमेत रहेका राम जङ्गली हात्तीको व्यवहार विज्ञ मानिन्छन् । सोमबार सुनसरी प्रशासनले कोसी गाउँपालिकाका स्थानीयसँग जसरी भए पनि मकुना नियन्त्रण गर्ने, नसके मार्ने सहमति गरेको थियो । त्यसअघि गत मङ्सिर ३० गते सुनसरी प्रशासन मकुना मार्ने निष्कर्षमा पुगेको थियो । मिडिया तथा सरोकारवालाको चर्को दबाबपछि प्रशासन केही हच्किएको थियो ।
अवैध प्रवेश रोक्न खोजे आरक्ष प्रशासनसँग द्वन्द्व गर्छन् । हात्ती रोक्ने प्रोजेक्टहरूको पैसा कहाँ जान्छ के हुन्छ खोजी गर्दैनन् । अनि कसरी हुन्छ मध्यवर्ती क्षेत्रका बासिन्दाको जङ्गली जनावरबाट सुरक्षा ?
त्यसैबीच, सोमबार कोसी गाउँपालिका–५ का १९ वर्षीय मोती कामतको मृत्यु मकुनाकै आक्रमणबाट भएको भन्दै स्थानीय सडक अवरुद्धसहित प्रदर्शनमा उत्रिएका थिए । प्रशासनले स्थानीयसँग १० बुँदे सहमति गरेको थियो ।
सहमतिपछि प्रशासनको आग्रहमा केन्द्रले रामको नेतृत्वमा विशेष प्राविधिक टोली खटाएको हो । टोलीमा यसअघि खटिएका डाक्टर अमित सरौला तथा वन्यजन्तु प्राविधिक तीर्थ लामा छन् ।
प्राविधिक टोली र सुनसरी प्रशासनबीच बुधबार छलफल भएको छ । छलफलमा आरक्षभित्रका जङ्गली जनावर मध्यवर्ती क्षेत्रमा आउनबाट रोक्न मानवीय तथा जैविक उपायहरू सघन बनाउने निर्णय भएको छ ।
सुनसरी प्रशासन र स्थानीयबीच भएको सहमतिका कारण मकुनाको जीवन सङ्कटमा परेकोबारे जिज्ञासा राख्दा हात्तीविज्ञ रामले भने, ‘प्रशासनले के सहमति ग¥यो, कुन अधिकार प्रयोग गरेर सहमति ग¥यो त्यो हामीले टिप्पणी गर्ने विषय भएन । तर हामी मकुना मार्न दिँदैनौँ । राष्ट्रिय, अन्तर्राष्ट्रिय वन्यजन्तु कानुनअनुसार हात्ती मार्न पाइँदैन । मार्न हुँदैन ।’

मध्यवर्ती क्षेत्रमा संरक्षणसम्बन्धी गतिविधिमा लामो समयदेखि क्रियाशील युचेप नेपालका अध्यक्ष रविन घिमिरे कोसीटप्पुमा हात्ती–नियन्त्रणको विषयलाई राजनीतिक स्वार्थ–सिद्धिको साधन बनाइएको गुनासो गर्छन् । ‘हात्ती समस्या हुँदै होइन, तर हात्तीलाई किन समस्या बनाइएको छ ?,’ घिमिरे भन्छन्, ‘मकुना मार्दैमा मनको सन्तोकबाहेक समस्या समाधान हुन्छ भन्ने कुनै ग्यारेन्टी छ ?’
कोसीटप्पुमा मकुनाबाहेक एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको उल्लेख गर्दै घिमिरेले सोलार फेन्सी तारसम्बन्धी ठेक्का–पट्टामा भएको भ्रष्टाचार तथा मर्मत सम्भारमा देखिएको व्यवस्थापनसम्बन्धी कमजोरीले अहिले समस्या निम्तिएको बताए ।
हात्ती समस्या हुँदै होइन, तर हात्तीलाई किन समस्या बनाइएको छ ? मकुना मार्दैमा मनको सन्तोकबाहेक समस्या समाधान हुन्छ भन्ने कुनै ग्यारेन्टी छ ?
जब मध्यवर्ती क्षेत्रका मान्छेलाई थाहा छ आरक्षबाट हात्ती, अर्नालगायत जनावर बस्तीमा आउँछन् । यस्तोमा कोही, किन सुरक्षाका उपाय नअपनाई, एक्लै–दुक्लै हिँड्छन् ? भन्ने जिज्ञासामा घिमिरे भन्छन्, ‘त्यही त म छक्क पर्छु । हात्तीले मान्छे मार्यो भनेर मकुना मार्न दबाब दिएको–दियै गरेको सुन्छु । तर मान्छे मारिएको घटनामा गल्ती कसको छ, मकुनाको कि मान्छेको ? त्यो पनि विचार गर्नुपर्छ ।’
संरक्षणकर्मीहरूका अनुसार मध्यवर्तीका बासिन्दा संरक्षणप्रति गम्भीर छैनन् । आफ्नै जीवनप्रति गम्भीर छैनन् । नेताले त मार्न भनेकै हो तर प्रशासनले मारेन भन्नेखालको स्थानीय बिकाउ राजनीतिका पछाडि लागेका छन् । आफैँ सोलार फेन्सीका लकहरू चोर्छन् । जैविक बारका लागि लगाइएका बाँसलगायत बिरुवा उखेल्छन्, काटेर लान्छन् । आरक्षभित्र गाईबस्तु हुलेर जङ्गली जनावरको बास खजबज्याउँछन् । आरक्षभित्र हात्तीले मनपराउने खानेकुराका बिरुवा रोप्न, हुर्काउन आरक्ष प्रशासनलाई मद्दत गर्दैनन् । अवैध प्रवेश रोक्न खोजे आरक्ष प्रशासनसँग द्वन्द्व गर्छन् । हात्ती रोक्ने प्रोजेक्टहरूको पैसा कहाँ जान्छ के हुन्छ खोजी गर्दैनन् । अनि कसरी हुन्छ मध्यवर्ती क्षेत्रका बासिन्दाको जङ्गली जनावरबाट सुरक्षा ?
मकुना तस्बिर : राजेन्द्र पोखरेल