Rumpum Advertisement

‘डम्पिङ साइट’ मा काम गर्ने मजदुर उच्च स्वास्थ्य जोखिममा

‘डम्पिङ साइट’ मा काम गर्ने मजदुर उच्च स्वास्थ्य जोखिममा

मोहन ढकाल

विराटनगर/विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ मा काम गर्ने सफाइ मजदुरको स्वास्थ्यमा उच्च जोखिम देखिएको छ । ‘डम्पिङ साइट’मै रहेर काम गर्ने मजदुर दुर्गन्ध र प्लास्टिकजन्य धुँवाको प्रवाह नगरी काम गर्न बाध्य भएका छन् । सरसफाइको क्षेत्रमा काम गर्दै आएको वेस्ट मेनेजमेन्ट प्रालिले सफाइ मजदुरलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्रीविना नै काममा खटाइरहेको छ ।

विराटनगर–११ का गुलाव राय हमात उमेरले ६० वर्ष पुगे । उनले २०७२ सालबाट ‘डम्पिङ साइट’ मा फोहोर व्यवस्थापनको काम गर्दै आएका हुन् । उनको मुख्य काम भनेको विभिन्न ठाउँबाट गाडीले संकलन गरेर ‘डम्पिङ साइट’ मा अनलोड गरको फोहोर छानेर व्यवस्थापन गर्ने हो । फोहोरलाई छानेर डढाउनेलगायतका काम उनले गर्दै आएका छन् ।

उनले न्यूनतम स्वास्थ्य मापदण्डका कुनै सामग्री नपाएको बताए । यही काम गर्ने क्रममा उनी केही वर्षअगाडि बिरामी परेका थिए । त्यो बेला शरिरभरि घाउ निक्लिएको उनले स्मरण गरे । लामो समय उपचार गरेपछि निको भयो । तर बिरामी पर्दासमेत काममा आउनै पर्ने बाध्यता रहेको उनले सुनाए । उनले भने, ‘पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिन थालेको छ ।’

गुलाव राय हमात ‘डम्पिङ साइट’ मा फोहोर व्यवस्थापनको काम गर्दै ।

लगातार धुँवा र दुर्गन्धमा काम गर्नु परेका कारण खोकी साथै श्वासप्रश्वासको समस्या देखिएको उनले बताए । कुनै स्वास्थ्य मापदण्ड पूरा नगरी उनलाई काममा खटाइएको छ । जसका कारण उनको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न थालेको छ । बिरामी परेर एक दिन काममा नआउँदासमेत तलब कटाएर आउँछ । काम नगर्दा परिवार चलाउन समस्या हुन्छ । त्यसैले जसरी भए पनि काममा आउनै पर्ने उनको बाध्यता छ ।

घर परिवार चलाउने जिम्मेवारी सबै उनकै काँधमा आइपरेको छ । एउटा छोराको मृत्यु भएको सुनाउँदै उनले भने, ‘एउटा छोरो द्वन्द्वकालमा घाइते भएपछि मानसिक रुपमा समस्या छ । बुढेसकालमा घरपरिवार चलाउने जिम्मेवारी भएपछि जसरी भए पनि काम गर्ने अवस्था रहेको उनले बताए ।

विराटनगर रानीका श्रवण मल्लिक १५ वर्षदेखि सफाइ कर्मचारीको रुपमा कार्यरत छन् । उनको काम विराटनगरका विभिन्न ठाउँमा पुगेर घर र बाटोमा जम्मा भएको फोहोर सङ्कलन गरेर ‘डम्पिङ साइट’सम्म पुर्‍याउनु हो । उनले भने, ‘१५ वर्षको अवधिमा स्वास्थ्यमा पनि विभिन्न समस्या देखियो । तर पनि हामीलाई स्वास्थ्य सुरक्षाका साधनहरु उपलब्ध हुँदैनन् । आफैँले किन्न पनि सकिँदैन ।’ सम्बन्धित निकायमा कुरा राख्दा सुनुवाइसमेत नभएको उनले गुनासो गरेका छन् ।

विराटनगरको रानीमा फोहोर सङ्कल गर्दै सफाइ मजदुर ।

सामाजिक रुपमा अपहेलना

कुनै काम सानो–ठूलो हुँदैन । तर हाम्रो समाजमा कामलाई सानो–ठूलो भनेर वर्गीकरण गर्ने मानसिकता छ । यसको सिकार सफाइका सिपाही पनि हुने गरेका छन् । गुलाव राय हमात पनि भएका छन् । उनलाई सामाजिक रुपमा हेर्ने नजर फरक छ । उनले भने, ‘सबैले हेलाको नजरले हेर्छन् । चिया पसलमा गयो भने पनि परै बस् भनेर भन्छन्,’ उनले भने, ‘कसैकसैले त झिँगा लिएर आयो, भाइरस ल्यायो भन्दै खिल्लि उडाउँछन् ।’

उनी भन्छन्, ‘हाम्रो मानसिकता परिवर्तन नभएसम्म कहीँ केही हुनै सक्दैन । यहाँ काम गर्न लजाउने, सानो–ठूलो भनेर हेला गर्ने अनि विदेशमा गएर जस्तोसुकै काम गर्न लागि पर्ने हामी कस्तो समाजमा हुर्किएका छौँ ?’ उनले प्रश्न गरे ।