birat ribon

सुरक्षामा दोहोरो चुनौती

Neuro
सुरक्षामा दोहोरो चुनौती

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा गत आइतबार दिउँसो प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र सुरक्षाकर्मीबीच दोहोरो भीडन्त भयो ।

समूहका जिल्ला सेक्रेटरी उत्तरकुमार भनिने युवराज राई आफ्नै घरमा आएर पार्टीको गतिविधी गरिरहेको सूचनाका आधारमा नियन्त्रणमा लिन पुगेको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीसँग दोहोरो भीडन्त भएको हो । यहि ठाउँमा गत मंसिर १ गते पनि ‘विप्लव’ समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो ।

cura insider

डेढ महिना पनि बित्न नपाउँदै अर्को भीडन्त भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । गत मंसिर २३ गते समूहका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरे । घरैबाट अपहरण गरी हात बाँधेर आफ्नै नियन्त्रणमा राखी शिक्षक श्रेष्ठको हत्या गरिएको थियो ।

विभिन्न घटनासँगै सरकारद्धारा प्रतिबन्धित समूहले आफ्नो संरचना विस्तार गरेर गतिविधी बढाउन थालेको निस्कर्षमा सुरक्षा निकाय पुगेको छ । विभिन्न घटनालाई कराउँदै त्यही हिसाबको सुरक्षा रणनीति तयार पारेर प्रहरीले ‘विप्लव’ समूहमाथिको कारबाही तीव्र पारिएको जनाएको छ ।

यहि पुस ५ गते प्रधामन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे । यस घटनाले सत्तारुढ नेकपालाई विभाजनको बाटो लग्यो । नेकपाको विभाजित पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह संसद पुर्नस्थापनाको माग गर्दै सडक संघर्षमा छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका साना दलहरु पनि संसद विघटनको विरोधमा आन्दोलन गरिरहेका छन् ।

‘विप्लव’ समूहसँग जोडिएका यावत घटनासँगै सरकारकाविरुद्धमा भइरहेको सडक संघर्षका कारण सुरक्षा चुनौती थपिएको छ । सुरक्षा अधिकारी अहिले सुरक्षाको दोहोरो चुनौती रहेको बताउँछन् । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमसँगै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिल्ला नछाड्न परिपत्र गरिसकेको छ ।

सुरक्षा निकायले ‘विप्लव’ समूह मुख्य सुरक्षा चुनौतीका रुपमा लिएर नियन्त्रणका लागि त्यहीअनुसार रणनीति तयार पारेका थिए । तर अकास्मत फेरिएको राजनीतिक परिवेशले सुरक्षामा अर्को चुनौती थपिएको हो । संखुवासभामा भएको पछिल्लो भीडन्तलाई तरल र अस्थिर बनेको राजनैतिक घटनाक्रमको फाइदा उठाउँदै ‘विप्लव’ समूह सलवलाएको रुपमा सुरक्षा अधिकारीले बुझेका छन् ।

‘प्रतिबन्धित समूहलाई चुनौतीका रुपमा लिएर त्यहीअनुसारको सुरक्षा रणनीति तयार पारेर लागू गरिएको थियो,’ उच्च सुरक्षा स्रोतले भन्यो, ‘तर विकसित राजनीतिक घटनाले अर्को चुनौती थपिएको छ ।’ संसद विघटन भएपछि सुरु भएका आन्दोलन र विरोधका कार्यक्रमले सुरक्षा व्यवस्था मजवुत बनाउने सवालमा अर्को चुनौती थपिदिएको प्रहरीका एक अधिकारीले बताए ।

‘एक हिसाबले विप्लव समूहको गतिविधी सुरक्षा नियन्त्रणमै थियो । शान्ति सुरक्षामा खासै असर परेको थिएन,’ उनले भने, ‘तर पछिल्लो समय सडक तातेपछि दोहोरो सुरक्षा थ्रेट उब्जिएको छ । एउटै पार्टीका कार्यकर्ताबीच एकअर्कालाई दोषारोपण गर्दै भइरहेका विरोधका कार्यक्रम र आन्तरिक प्रतिस्पर्धा अहिलेको मुख्य चुनौती बनेको छ ।’ विप्लव समूह नियन्त्रणमा केन्द्रित रहेको सुरक्षा निकायले विभाजनपछि एउटै पार्टीका कार्यकर्ताबीच मुडभेटको स्थिति आउनसक्नेतर्फ पनि सचेत हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘पहिले प्रतिबन्धित समूहको सामना गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘अहिले सत्तारुढ दलबाटै भइरहेको सडक आन्दोलन पनि बेहोर्नु परिरहेको छ ।’

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले मुलुकको पछिल्लो परिस्थितिको विश्लेषण गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको बताए । ‘संयुक्त सुरक्षा फौज प्रतिबन्धित समूहको खोजीमा पनि केन्द्रित छ,’ उनले भने, ‘अर्कोतिर सडकमा भइरहेको आन्दोलनलाई लक्षित गरेर सुरक्षा सतर्कता बढाइएको छ ।’ डीआईजी कार्कीले शान्तिपूर्ण हिसाबले नागरिकलाई सुरक्षा प्रदान गर्न जाँदा ‘विप्लव’ समूहका नाममा प्रहरीमाथि अवरोध भएमा त्यहीअनुसार कारवाही चलाइने स्पष्ट पारे ।

प्रहरी अधिकारी पछिल्लो समय ‘विप्लव’को गतिविधी नबढेको र प्रहरीले कारवाही तीव्र पारेको बताउँछन् । प्रहरीले कारवाही तीव्र बनाउँदा उक्त समूह सलबलाए जस्तो देखिएको स्रोतको दाबी छ । ‘विप्लव’ समूहले सुरक्षा निकायलाई आक्रमण नगर्ने भने पनि त्यसमा विश्वास गर्ने अवस्था नरहेकोभन्दै उसको गतिविधी हुने र प्रभाव क्षेत्र मानिएको स्थानमा भने तत्कालै ‘एक्सन’ लिने सुरक्षा नीति रहेको छ ।

‘समूहका कार्यकर्ता त्यति धेरै छैनन् । तर रणनीति परिवर्तन गरेर विभिन्न राजनैतिक दलका कार्यक्रममा घुसपैठ चैं गर्नसक्ने सम्भाव छ,’ एक सुरक्षा अधिकारीले भने, ‘राजनैतिक अस्थिरताको फाइदा उठाउँदै आफ्नो उपस्थिति देखाउन गस्तीमा र जनताको सुरक्षामा निस्किएको सुरक्षाकर्मीको टोलीमाथि अवरोध पु¥याउने प्रयास हुने गरेको छ । प्रहरी आइपुगेको थाहा पाउने बित्तिकै ‘स्पिड ब्रेक’ गर्न पनि उनीहरुले फायरिङ खोल्ने गरेको पाइयो ।’ उनले राजनीतिक अस्थिरता र ‘विप्लव’को समस्यासँगै सुरक्षा जनशक्ति व्यवस्थापनमा भने चुनौती थपिएको बताए ।

jackson ribon