Rumpum Advertisement

मुख्यमन्त्री राईद्वारा चाडपर्वको शुभकामना

Neuro
मुख्यमन्त्री राईद्वारा चाडपर्वको शुभकामना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज (बुधबार) नेपालमा धुमधामसाथ मनाइने विभिन्न चाडपर्वको शुभकामना दिएका छन् ।

उनले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातिको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्ही २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका हुन् । एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यहाँ मनाइने उद्यौली, चाक्चाकुर, तमु ल्होसार, धान्यपूर्णिमा, योमरी पुन्ही जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

यस प्रकारका मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको सन्देशमा उल्लेख छ । धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्यसमेत रहेको मुख्यमन्त्री राईले उल्लेख गरेका छन् ।

राईले सुरक्षित र सजगता अपनाएर चाडपर्व मनाउनसमेत सबैमा आग्रह गरेका छन् । विगत वर्षहरुमा हर्षाेल्लासका साथ मनाउँदै आएका हाम्रा चाडपर्वहरु यसबर्ष कोरोना भाइरसका कारण असहज र अप्ठ्यारो परिस्थितिमा मनाउनु परेको उनको कथन छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न जो जहाँ छौं, त्यही बसेर सुरक्षित तवरले चाडपर्व मनाउन उनले सबैमा अनुरोध गरेका छन् । यी पर्वले नेपालका सबै जातजाति एकताबद्ध भएर आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना उनले व्यक्त गरेका छन् ।