Rumpum Advertisement

दाहाल–नेपालको शक्ति प्रदर्शन

दाहाल–नेपालको शक्ति प्रदर्शन

विराटनगर । प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने प्रधानमन्त्रीको कदमविरुद्ध नेकपाको दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ।

पहिलो चरणको संघर्षका कार्यक्रमअन्तर्गत दाहाल–नेपाल समूहले मंगलबार काठमाडौंसहित देशका ७७ वटै जिल्ला सदरमुकाममा शक्ति प्रदर्शन गरेको छ। उक्त समूहले उपत्यका र आसपासका जिल्लाबाट हजारौंको उपस्थिति गराएर काठमाडौं भृकुटीमण्डपमा विरोधसभा गरे।

समूहका शीर्ष नेताहरूले उक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संविधानको हत्या गरेकाले’ संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ फेरि आन्दोलनमा उत्रनुपरेको बताए। प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र राजनीतिक स्थिरता, जनादेश एवं जनभावनाविपरीतको स्वेच्छाचारी कदम रहेको उनीहरूको भनाइ थियो। उनीहरूले यसविरुद्ध सडकबाटै जनताको बलमा सरकारको कदम सच्याइछाडने उद्घोष गरे।

काठमाडौंको सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेका थिए। उनीहरूले ओलीले संविधानमा हँुदै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको र चुनाव गराउने नियत त्यसभित्र नरहेको आरोप लगाए। उनीहरूले जनताको सार्वभौम अधिकार अपहरण भएका बेला टुलुटुलु हेरर बस्न नसकिने भएकाले कठोर संघर्षमा उत्रिएको बताए।

यो समूहका नेताहरूले बुधबार काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरूको छलफलबाट अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन्। ‘बुधबार नै हामी काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरूको बैठक पेरिसडाँडामा बस्नेछौं, त्यसपछि थप संघर्षको कार्यक्रम घोषणा गरेर आउनेछौं,’ स्थायी समिति सदस्य योगेश भट्टराईले भने।

यो समूहले आन्दोलन परिचालन गर्न केन्द्रीय समिति बैठकबाट प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति गठन गरेको थियो। समितिका सहसंयोजकमा नेता भट्टराई छन्। अन्नपूर्ण पोस्टमा समाचार छ