Rumpum Advertisement

अन्तरिक्षमा फोहोर कम गर्न जापानले काठबाट विश्वको पहिलो भू–उपग्रह बनाउने

अन्तरिक्षमा फोहोर कम गर्न जापानले काठबाट विश्वको पहिलो भू–उपग्रह बनाउने

विराटनगर । अन्तरिक्षमा फोहोर कम गर्न जापानले काठबाट बनेको विश्वको पहिलो भू–उपग्रह (ग्राउण्ड स्याटेलाइट) बनाउने भएको छ । एक जापानी कम्पनी र क्योटो विश्वविद्यालयले काठबाट निर्माण गरिने विश्वको पहिलो भूउपग्रह (ग्राउण्ड स्याटेलाइट) सन् २०२३ सम्ममा बनाउनका लागि सहकार्य गरेका हुन् ।

अन्तरिक्षमा काठको प्रयोगका बारेमा सुमिटोमो फरेस्ट्री कम्पनीले अनुसन्धान सुरु गरेको छ । सहकार्यको सुरुवातमा विभिन्न प्रकारका काठलाई पृथ्वीका कठिन वातावरण भएका स्थानमा परीक्षण गरिने छ ।

अन्तरिक्षमा धेरै भू–उपग्रहहरू छोड्ने क्रम बढेसँगै त्यहाँको फोहोर समस्या बन्न थालेको छ । क्योटो विश्वविद्यालयका प्राध्यापक तथा जापानी अन्तरिक्ष यात्री टाकाओ दोईले भू–उपग्रह पृथ्वीको आकाशमा फर्कँदा जल्ने र त्यहाँ छोड्ने हानिकारक तत्त्व वर्षौँ रहने हुँदा यसले पृथ्वीको आकाशलाई असर गर्छ ।

विज्ञहरूका अनुसार अन्तरिक्षमा धेरै यान र भू–उपग्रहहरू प्रक्षेपण गर्नेक्रम बढिरहेको हुँदा पृथ्वीमा अन्तरिक्ष फोहर खस्न सक्ने जोखिम पनि बढ्दो छ । तर, काठबाट निर्मित भूउपग्रह अन्तरिक्षमै बलेर ध्वस्त हुने हुँदा कुनै हानिकारक तत्त्व नछोड्ने वा पृथ्वीमा नखस्ने बताइएको छ । कम्पनीका प्रवक्ताले प्रयोग हुन लागेको काठलाई गोप्य राखिएको बताएका छन् ।

पृथ्वीलाई परिक्रमा गर्ने झन्डै छ हजार भू–उपग्रहहरू छन् र तीमध्ये ६० प्रतिशत उपयोगविहीन अर्थात् फोहोरका रूपमा रहेका छन् । वैज्ञानिकहरू अन्तरिक्षबाट ती फोहोर हटाउनका लागि विभिन्न उपायबारे अध्ययन गरिरहेका छन् ।