Rumpum Advertisement

‘ओलीको तीन वर्ष गफ हाँकेर बित्यो’

Neuro
‘ओलीको तीन वर्ष गफ हाँकेर बित्यो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बनाएको संविधानप्रति विश्वासघात गरेको बताएका छन् ।

मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै बरिष्ठ नेता खनालले नयाँ संविधान बनाउँदा संसद् विघटन हुने विषयमा प्रधानमन्त्रीको विशेषाधिकार राख्नुहुँदैन भनेर हटाएको र स्वयं केपी शर्मा ओलीको उपस्थिति रहेको भएपनि ओलीले आफैँले बनाएको संविधानमा विश्वासघात गरेको बताए ।

देश अस्थिरतातर्फ जान लागेको भन्दै बरिष्ठ नेता खनालले संसद् पुनर्स्थापना अनिवार्य शर्त रहेको बताए ।
गत निर्वाचनमा केपी ओलीलाई नभई नेकपाको भिजनलाई हेरेर जनमत आएको भएपनि ओलीले बालुवाटार पुगेको दिनदेखि पार्टीलाई बिर्सिएको आरोप लगाए । पार्टीको नीतिअनुरुप सरकारलाई समाजवादी बाटोमा हिँडाउनुको सट्टा पूँजीवादी नीति, कार्यक्रम र बजेट ल्याएको तथा तीन वर्ष केवल गफ हाँकेर बिताएको बताए ।

बिगतमा नेकपाको एकताप्रक्रिया प्रधानमन्त्री ओलीको कारण पूरा नभएको भन्दै बरिष्ठ नेता खनालले अब पार्टीको एकता टुङ्ग्याएर नयाँ जनआन्दोलनको आधिँहुरी ल्याउने बताए ।