विराटनगर/सुनसरीको कोसी गाउँपालिकामा जङ्गली हात्ती मकुनाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
सोमबार राति कोसी गाउँपालिका–५ बस्ने १९ वर्षीय मोती कामतको मकुनाको आक्रमणबाट मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट युवकको मृत्युपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । स्थानीय र प्रशासनबीचको छलफलपछि आफन्तले शव बुझेका छन् ।
स्थानीयसँग १० बुँदे सहमति भएपछि राजमार्ग खुलेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । उनका अनुसार हात्ती नियन्त्रणका लागि विज्ञको टोली तत्काल झिकाउने निर्णय भएको छ ।
विज्ञको टोलीले हात्तीलाई नियन्त्रणमा लिने र नियन्त्रणमा लिन नसकिए मङ्सिर ३० गतेको निर्णय कार्यान्वयन गर्ने सहमति भएको छ । मङ्सिर ३० गते हात्तीलाई मार्ने सहमति भएको थियो ।
स्थानीय र प्रहरीबीचको छलफल मङ्सिर २९ गते मृत्यु भएका प्रमोद यादव र सोमबार राति मृत्यु भएका मोतीलाल कामतको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, आरक्षमा घेराबेरा लगाउने, विज्ञ टोलीको प्रतिवेदन स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउने, जङ्गली जनवार निगरानीका लागि रात्रिकालीन गस्ती बढाउने, आरक्षभित्रै विज्ञको दरबन्दी सिर्जना गर्ने र जङ्गली हात्ती नियन्त्रणका लागि सोलार तारबारमा विद्युत सुचारु गर्ने निर्णय भएको छ ।