Rumpum Advertisement

नेता फेरेर केही हुन्न नीति उही भए

नेता फेरेर केही हुन्न नीति उही भए
सरोज बराल

अचेल प्रायः मानिस राजनीति भनेको फोहोरी खेल हो, इमानदार मानिसले राजनीति गर्नुहुँदैन, बिनसित्ती बदनाम हुनु छ भने मात्र राजनीतितिर लाग्नु भन्ने गर्छन् । आफ्नो इमान बन्धक राखेर झुटो बोल्न, छल्न र ठग्न जान्नु नै राजनीतिक गुण हुन् भन्ने आरोप पनि छ । के साँच्चै राजनीति भनेको यस्तै हो त ? अथवा के कारणले यस्ता आरोपहरू समाजमा छन् ?

खासमा राजनीति भनेको के हो र यो कस्तो हुनुपर्छ ? राजनीतिसँग जोडिएर किन यस्ता सस्ता आरोपहरू आइरहेका छन् ? यो सुन्दा साधारण तर सोच्दा निकै गम्भीर सवाल हो । वास्तवमा राज्य सञ्चालनसम्बन्धी मूल नीतिलाई नै राजनीति मान्नुपर्छ र हो पनि यही । राजनीति गर्नेहरू देश र जनताप्रति इमानदार हुनुपर्छ । तब मात्र राजनीतिले सही ढङ्गले राज्य सञ्चालन गर्न सक्छ । तर हाम्रो देशमा सत्ता केन्द्रित राजनीति गर्नेहरूले यसलाई पेसा बनाए जबकि राजनीतिमा विशुद्ध सेवाभाव निहित हुन्छ ।

वर्तमान नेपालमा राजनीति गर्नेहरूमा धूर्त, बेइमान र आपराधिक प्रवृत्ति भएकाहरूको बाहुल्यता छ, दुई–चार जना अपवादबाहेक । त्यसो त राजनीति गर्नेहरू सबै विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर जबरा, मनमोहन अधिकारी, मदन भण्डारीहरू हुन सक्दैनन् । जनताको नाममा जनताका लागि राजनीति गर्छु भन्ने उनीहरू समय–क्रममा एक्लो बृहस्पति हुन पुगे । राजनीतिको केन्द्रमा भ्रष्ट र बेइमानहरूकै हालीमुहाली स्थापित भयो ।
राजनीतिका नाममा बेइमानहरूले भुइँ तहका जनताको सपना त तुहाइदिए नै, मनोभावनालाई पनि बेइमान बनाइदिए । राजनीतिको परिभाषा नै विकृत बनाइदिए ।

राजनीतिकर्मीको मुख्य काम देश विकास गर्नु हो भन्ने भ्रम छर्न भ्याए उनीहरूले, जबकि राजनीति गर्नेहरूले देशको विकासको काममा प्रत्यक्ष सहभागी हुने होइन, विकासका काममा हुनेगरेका बाधा–अवरोध पन्छाउन सहजीकरण गर्ने हो । विकास हुन बाँकी क्षेत्र पहिचान गरी त्यसका लागि राज्यलाई दबाब दिने हो । खासमा राजनीतिकर्मीले नीति–नियम बनाउने हो, विधिको शासन स्थापित गर्न सघाउने हो । नीति–नियम राम्रो भए त्यसैका आधारमा एउटा प्रणालीको बाटो समातेर देश विकास आफैँ हुँदै जान्छ । विधिको शासन स्थापित हुँदै जान्छ । नीति गलत भएमा कुनै हालतमा पनि अपेक्षित परिवर्तन हुँदैन, विकास हुँदैन । २०४६ सालपछिको राजनीतिक परिवर्तनले कुनै नीतिगत सुधार गर्न नसक्नुको परिणाम हो अहिले हामीले बेहोर्नु परिररहेको अनपेक्षित अवस्था ।

जनमानसमा राजनीतिज्ञहरूले फैलाएको अर्काे भ्रम हो, उनीहरू देश र जनताका लागि जेल परेका थिए । क्रान्ति र परिवर्तनका लागि भूमिगत बसेको र जेल परेको भन्ने भनाइ पनि गलत हो । उनीहरू विभिन्न फौजदारी अपराध गरेर तत्कालीन कानुनमात्र होइन, अहिले उनीहरूले भनेको क्रान्तिपश्चात बनेको कानुनअनुसार पनि जेल परेका थिए । अपराध गरेकै कारण भूमिगत भएका थिए । आफ्नो स्वार्थअनुकूल नहुँदा मान्छे मार्नु अनि परिवर्तनको नाममा मारेको भन्नु कुन स्तरको क्रान्ति हो ? हतियारविहीन मान्छेलाई नियन्त्रणमा लिएर हत्या गर्नु पनि क्रान्ति हुन्छ ? त्यो क्रान्ति पटक्कै थिएन, क्रान्तिका नाममा आममानिसमा भय उत्पन्न गराउनु थियो । अब जनताले बुझ्नुपर्छ जेल बस्नु राजनीतिक योग्यता होइन । यो त आपराधिक क्रियाकलापको उपज हो ।

अब भोट माग्न आउनेलाई ‘राजनीतिका नाममा बिचौलिया काम कहिलेसम्म गर्छौ ? जनता र देशलाई ठगेर कहिलेसम्म खान्छौ ?’ भनेर सोध्ने आँट गर्नुपर्छ ।

अब फेरि पनि राजनीति र क्रान्तिका लागि भन्दै जनताको घरदैलोमा यिनै राजनीतिक दलालहरू आफूलाई जिताइदिनुस् भन्दै आउनेछन् । तर जितेर गए पनि दलालहरूले कुनै क्रान्तिकारी नीति बनाउने छैनन् । उल्टै अर्काे चुनावसम्मका लागि राज्यको ढुकुटी भागशान्ति गरेर सिध्याउनेछन् । जितसँगै तपाई–हामीलाई बारम्बार झुट बोल्ने, छल्ने र ठग्ने लाइसेन्स पाउनेछन् । अब तपाईं–हामीले भोट माग्न आउने दलालहरूसँग ‘हस् हजुर, हुन्छ हजुर,’ भन्न छोड्नुपर्छ । ‘हजुर, हाम्रो टोलको बाटो बनाउनुपर्नेछ, मन्दिर बनाउन सहयोग गर्नुप¥यो,’ भन्न छाड्नुपर्छ । अन्यथा परिणाम उही आउनेछ । राजनीतिक कोर्स फेरिने छैन ।

अब भोट माग्न आउनेलाई ‘राजनीतिका नाममा बिचौलिया काम कहिलेसम्म गर्छौ ? जनता र देशलाई ठगेर कहिलेसम्म खान्छौ ?’ भनेर सोध्ने आँट गर्नुपर्छ । ‘अहिलेसम्म मुलुकलाई सही मार्गमा लैजान कस्तो नीति बनायौ ? हामीलाई देखाऊ, होइन भने हामीलाई ठग्न नआऊ,’ भन्न सक्नुपर्छ ।

अहिले चुनावका नाममा प्रयोग भइरहेको परिपाटीअनुसार कनै पदमा उठेका बेइमानहरूमध्ये कम बेइमानलाई एउटालाई छान्नैपर्ने बाध्यता छ । आफ्नो क्षेत्रमा उठेकामध्ये सबै बेइमान हुन्, यिनीहरूलाइृ म भोट दिन्न भन्न पाउने अधिकार जनतालाई छैन । तर सर्वाेच्च अदालतले अघिल्लो चुनावकै बेला ‘म कसैलाई भोट दिन्नँ, यिनीहरूलाई अस्वीकार गर्छु अर्थात् अस्वीकारको मत दिन पाउने व्यवस्था गर्नू,’ भनेको थियो । हामीले त्यो किन कार्यान्वयन नगरेको भनेर सोध्न सक्ने कि नसक्ने ? जितेर जानेहरूले असल नीति–निर्माण गर्न नसकेमा उनीहरूलाई फिर्ता बोलाउन पाउने अधिकार दिने कि नदिने ? जति भोट ल्याए पनि भएका उम्मेदवारमध्ये बढी भोट ल्याउने जित्ने तर बहुमत जनता हार्ने निर्णय कहिलेसम्म मान्ने ? अहिले भएको निर्वाचन परिपाटीअनुसार राज्यका हरेक तहमा जित्नेको भन्दा हार्नेको बहुमत छ होइन र ?

जनता सार्वभौम अधिकारको स्रोत हुन् भने जनताले प्रत्यक्ष चुनेको व्यक्ति नै कार्यकारी प्रमुख हुनुपर्छ । जनप्रतिनिधिहरूले मन्त्री हुन, सरकार बनाउन मान्छे किनाकिन गर्ने कि देशको नीति बनाउन ध्यान दिने ? साँच्चै जनताका पक्षधर यी हुन्थे भने, अझ क्रान्तिकारी नायक हुन्थे भने जनताले अनुभूति गर्न सक्नेगरी परिवर्तन गर्न समय लाग्छ भन्ने नै थिएनन् । त्यसको लागि त पाँच वर्ष होइन, पाँच मिनेट काफी हुन्छ । उदाहरणका लागि ‘नेपाली नागरिकले देशभित्र गर्ने सम्पूर्ण उपचार निःशुल्क हुनेछ र चिकित्सकको सल्लाहअनुसार देशबाहिर लगेर उपचार गर्नुपरे सरकारले खर्च ब्यहोर्ने छ भन्ने निर्णय गर्न कति समय लाग्छ ? यसको भोलिपल्टदेखि नै जनताले राहत अनुभव गर्नेछन् । दुःखमा सरकार साथ भएको अनुभुति हुनेछ ।

नीति असल नभएकै कारण हामीले मुलुकलाई सही बाटोमा लाने ‘राजनेता’ हुर्काउन सकेका छैनौँ । अपेक्षित सकारात्मक परिणाम हात पार्न सकेका छैनौँ ।

त्यस्तै सबै नागरिकले देशमै काम पाउनेछन्, यहाँ काम नपाएर विदेश जानुपर्ने छैन भन्ने नीति बनाउन कुनै आइतबार पर्खिरहनुपर्दैन । अबदेखि नेपालमा निजी क्षेत्रले शिक्षण संस्था चलाउन पाउने छैन । सरकारले नै अङ्ग्रेजी, नेपाली, संस्कृत, मैथिली, लिम्बू, नेवारी भाषा माध्यमका विद्यालयहरू सञ्चालन गर्नेछ भन्ने निर्णय गर्न कति समय लाग्छ ?

हामी स्पष्ट बुझौँ, अहिले भइरहेका कुनै पनि विकासका पूर्वाधार निर्माणका कामहरू अहिलेका अपराध प्रवृत्तिका नेताहरूले गरेका होइनन् । ती त समय र आवश्यकताअनुसार हुँदै गएका परिवर्तन हुन् । नेताहरूले गरेको काम भनेको तिनै विकासका पूर्वाधारहरूमा कमिसन खाने, देशी–विदेशी दलाल र भ्रष्टहरूको पक्षपोषण गर्ने, भ्रष्टाचार संस्थागत बनाउने हो ।

अब हत्या र अपराध गरेर जेल बसेकाहरूलाई राजनीतिक योग्यता भन्न छोडौँ । यहाँ असल राजनीतिक चरित्र निर्माण गर्ने नीतिको अभाव छ । त्यस्तो नीति बनाउने अभियानमा लागौँ । असल नीति भए राजनीतिक चरित्र बदलिन्छ, परिभाषा बदलिन्छ । नीति असल नभएकै कारण हामीले मुलुकलाई सही बाटोमा लाने ‘राजनेता’ हुर्काउन सकेका छैनौँ । अपेक्षित सकारात्मक परिणाम हात पार्न सकेका छैनौँ । राजनीतिलाई गाली गरेर महत्त्वपूर्ण समय खेर गइरहेको छ ।