Rumpum Advertisement

‘उखुको २१ दिनभित्र भुक्तानी नपाए फेरि आन्दोलन’

‘उखुको २१ दिनभित्र भुक्तानी नपाए फेरि आन्दोलन’

काठमाडौँ/उखु किसानहरुले २१ दिनभित्रमा उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरि आन्दोलन गर्ने बताएका छन् ।

सरकार र किसानहरुबीच सोमबार साँझ २१ दिनभित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ ।

सरकारले २१ दिनभित्रमा भुक्तानी नदिने उद्योगीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानहरुले बताएका छन् । तर यो अवधिभित्रमा सबै भुक्तानी नपाए फेरि काठमाडौं आएर नयाँ स्वरुपमा आन्दोलन गर्ने किसानहरुको भनाइ छ ।

उखु किसान सङ्घर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले आफूहरुले उद्योगीबाट ९० करोड रुपैयाँ लिनु पर्नेमा उद्योगीहरुले ६५ करोड रुपैयाँ मात्रै भुक्तानी दिन बाँकी भएको बताएकाले छानविन गरी भुक्तानी दिलाउने सम्बन्धमा समेत सहमति भएको बताए ।

तर २१ दिनभित्रमा ६५ करोड रुपैयाँमात्रै भुक्तानी हुने छ । बाँकी रकम छानविनको रिपोर्ट आएपछि सरकारले नै भुक्तानी गराइदिने जिम्मेवारी लिएको उखु किसान सङ्घर्ष समितिका सचिव हरिश्याम रायले बताए ।

छानविन समितिमा उद्योग मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयको तर्फबाट एक–एक जना प्रतिनिधि रहने छन् । यस्तै उद्योगीबाट एक जना, किसानबाट तीन जना र उखु किसान सङ्घर्ष समितिबाट दुई जना गरी १० जनाको छानविन समिति गठन गर्ने सम्झौता भएको छ ।

सरकारले उद्योगीको पासपोर्ट जफत गरेको, बैङ्क खाता रोक्का गरेको, जग्गा बिक्री रोकेको र भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न आदेश गरेको पत्र देखाएपछि रकम भुक्तानी नगर्ने उद्योगीलाई कारवाही हुन्छ भन्नेमा विश्वस्त रहेको किसानहरुले बताएका छन् ।

अबको २१ दिनको अवधिमा के कति भुक्तानी हुन्छ निगरानी गर्ने पनि किसानहरुले बताएका छन् । किसानहरुले आफूले भुक्तानी पाउनुपर्ने सबै मूल्य पाउन नसकेको गुनासो पनि गरेका छन् । सरकारले तोकेको मूल्यभन्दा ३६ रुपैयाँ कममा मूल्य निर्धारण गरी भुक्तानी गर्ने उद्योगीहरुलाई पनि कारवाही गरिनुपर्ने र ब्याजसहित रकम असुली हुनुपर्ने किसानहरुको माग छ ।

उखु किसानहरु उद्योगीबाट भुक्तानी दिलाइदिन माग गर्दै मङ्सिर २८ गते यता काठमाडौँको माइतीघर मण्डलामा बसेर आन्दोलन गर्दै आएका थिए । गत वर्ष पनि आन्दोलन गरेका किसानहरु सरकारको उपस्थितिमा एक महिनाभित्रमा भुक्तानी पाउने सम्झौता गरेर घर फर्किएका थिए । तर उद्योगीहरुले एक वर्षसम्म पनि भुक्तानी नदिएछि किसानहरु फेरि आन्दोलन गर्न काठमाडौँ आएका हुन् ।