Rumpum Advertisement

मेयरको टोलमा बल्दैनन् सोलार बत्ती, मर्मत गर्न महानगरको आनाकानी

मेयरको टोलमा बल्दैनन् सोलार बत्ती, मर्मत गर्न महानगरको आनाकानी

मोहन ढकाल

विराटनगर / विराटनगरको नमुना सडक तीनपैनी–पुष्पलाल चोक खण्डमा जडान गरिएको सोलार बत्ती बिग्रिएका छन् । सडकमा जडान भएका ९७ मध्ये १६ वटा बत्ती बिग्रिएका हुन् । तर मर्मतका लागि महानगरपालिकाले चासो देखाएको छैन ।

बुद्धचोकका स्थानीय मिलन गिरीका अनुसार बल्दै गरेका बत्तीले पनि उज्यालो फाल्न सक्दैन । रातको समयमा झ्याप्प–झ्याप्प बत्ती निभ्ने गरेको उनले बताए ।

विराटनगर महानगरपालिका विद्युत शाखाका प्रमुख अनिल सिंह भने सबै सोलार बत्ती मर्मत गरिसकेको बताउँछन् । ‘हामीले सबै बत्ती मर्मत गरिसकेका छौँ,’ उनले भने, ‘अहिले कुनै स्थानमा समस्या छैन ।’

सिंहले मर्मत गरेको दाबी गरे पनि सडक बत्ती बलेका छैनन् । स्थानीयका अनुसार मर्मतका लागि महानगरको टोली पनि पुगेको छैन ।

कोसी अनलाइनमा असोज १६ गते ‘विराटनगरको नमूना सडकमा सोलार बत्ती : बिग्रँदा मर्मत गर्दैन महानगर’ शीर्षकको समाचार प्रकाशन भएको थियो । त्यस बेला महानगरका विद्युत शाखा प्रमुख अनिल सिंहले चाँडै बत्ती मर्मत गर्ने बताएका थिए । तर ७५ दिनसम्म महानगरको टोली मर्मतका लागि पुगेन ।

विद्युत शाखा प्रमुख सिंहले प्राविधिक टोली नपठाई मर्मत गरिसकेको बताए । कोसी अनलाइनको टिमले तीनपैनी–पुष्पलाल चोक सडकखण्डको बत्ती अवलोकन गर्दा १६ वटा बत्ती बलेका थिएनन् । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीको निवास रहेको ठूलो मिल चोक वरपर पनि सोलार बत्ती बलेका छैनन् । तर सिंहले मर्मतका नाममा पाँच लाख खर्च भइसकेको बताए ।

तीनपैनी–पुष्पलाल चोक खण्डमा चार वर्षअघि ९७ वटा सोलार बत्ती जडान भएका थिए । एउटा सडक सोलार बत्ती जडानमा एक लाख ९० हजार नौ सय ७० रुपैयाँ खर्च भएको थियो । सो खण्डमा एक करोड ८५ लाख २४ हजार ९० रुपैयाँ खर्चेर सोलार जडान भएको थियो । मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि महानगरले नटेरेको स्थानीय बताउँछन् ।