Rumpum Advertisement

नेकपा एकताको कसरतमा चीन

Neuro
नेकपा एकताको कसरतमा चीन

विराटनगर । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक भेटघाट गरिरहेको बेला बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपाल भ्रमण राजनीतिक स्थिरता र विश्वासको वातावरण बनाउन भएको प्रस्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको भ्रमण रणनीतिक सहकार्य र साझेदारीमा केन्द्रित रहेको प्रवक्ता च्येनलको भनाइ छ ।

कुनै पनि मुलुकको आन्तरिक मामिलामा दक्खल गर्ने चीनको नीति नभए पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भने चीनको भ्रमण अस्वाभाविक मानिएको छ । नेपालमा संसद् विघटन र नेकपा विभाजनले ल्याउने अस्थिरताका कारण चीनले चिन्तासमेत व्यक्त गरेको छ ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका गुओ येझाउ नेतृत्वको चार राजनीतिज्ञ र दुई उच्चस्तरीय कर्मचारीसहित ६ सदस्यीय टोलीसँग राजदूत होउ यान्छी यतिखेर नेकपाका नेताहरूसँग भेटघाटमा व्यस्त छन् । चिनियाँ टोलीले यस पटकको भ्रमणमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लै भेट्नुलाई पनि अर्थपूर्ण रूपमा लिइएको छ । सोमबार सो टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।

चीनले आफ्नो सीमा सुरक्षाका लागि विशेष ध्यान दिँदै नेपालको भूमि उपयोग हुन नदिने नीतिका साथ नेपालको कम्युनिस्ट पार्टीलाई एक ढिक्का राखेर आफ्नो रणनीतिक योजनामा हिँडाउन खोजेको देखिन्छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ टोलीले नेकपा एकताको विषयमा छलफल गरेको बुझिएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्नसमेत सुझाव दिएको छ । संसद् विघटन फिर्ता लिएर भए पनि नेकपाको एकता कायम राख्न चिनियाँ राजनीतिक टोलीले सुझाव दिएको छ ।

संसद् विघटन फिर्ता भएमा नेकपा एकता कायम हुन सक्ने नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ टोलीलाई बताएको जनाइएको छ । यद्यपि भेटघाटमा भएको छलफलको विषय बाहिर नआए पनि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपालमा राजनीतिक विश्वासको वातावरण बनाउन चीन तल्लीन रहेको संकेत गर्नुले पनि नेकपा एकतामा चीनले जोड दिइरहेको बुझिन्छ ।

चीनले नेपालमा राजनीतिक अस्थिरता बढ्दा आफ्नो मुलुकमा त्यसले पार्ने प्रभावको मूल्यांकन गरेर नेकपा विभाजनलाई रोक्न आफ्नो राजनीतिक कार्यदल पठाएको हो । खासगरी भारत र अमेरिकाबीचको साझदारीपछि चीनले नेपालको आन्तरिक राजनीतिमा चासो देखाएको छ । राजधानी दैनिकमा समाचार छ