Rumpum Advertisement

विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’

विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’

मोहन ढकाल

विराटनगर/अव्यवस्थित ‘डम्पिङ साइट’ का कारण विराटनगरमा प्रदुषको मात्रा बढ्दो छ । विराटनगर–६ मा बस्ती र खेतीयोग्य जमिनको बीचमा रहेको डम्पिङ साइटका कारण वरिपरिको जनजीवनसमेत अस्तव्यस्त बन्दै गएको छ ।

विराटनगरको ‘डम्पिङ साइट’को रुपमा प्रयोग हुँदै आएको ब्रह्मपुरा चौबीसै घण्टा प्लास्टिकको धुँवामा निसास्सिन बाध्य भएको छ । मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल असर पर्ने गरी बस्तीको बीचमा फोहोरमैला व्यवस्थापनको नाममा लापरवाही हुँदासमेत सम्बन्धित पक्ष कानमा तेल हालेर बसेको स्थानीयको आरोप छ ।

वातावरण प्रदूषण उच्च हुन थालेपछि ‘डम्पिङ साइट’ वरिपरिका बस्तीहरु जोखिममा परेका छन् । स्थानीय श्रीलाल साहले भने, ‘यस्तो अवस्थामा पनि बस्न बाध्य भएका छौँ । बसाइँ सरौँ भने कहाँ जानु ?’ प्रदूषित धुँवाका कारण श्वासप्रश्वासका समस्यासमेत देखिने खतरा बढेको उनको गुनासो छ । हामी गरिब जनताका समस्या खै कसले सुनिदिन्छ भन्दै साहले दुःख व्यक्त गरे । ‘हामीलाई बस्न समस्या भयो, फोहोर व्यवस्थापन अन्तै गर्नुहोस्’ भन्दा धम्की आउने गरेको स्थानीयले गुनासो गरेका छन् ।