birat ribon

मेस्सीको नजरमा यी दुई प्रशिक्षक उत्कृष्ट

Neuro
मेस्सीको नजरमा यी दुई प्रशिक्षक उत्कृष्ट

विराटनगर । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफ्ना लागि पेप ग्वार्डीओला र लुइस इनरिक इनरिक उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् । आज (आइतबार) प्रसारण हुने अन्तर्वार्तामा स्पेनिस क्लब बार्सिलोनाका कप्तान मेस्सीले यस्तो बताएका हुन् ।

उनले स्पेनिस टिभी ‘ला सेक्टा’का लागि दिएको सो अन्तर्वार्ताको एक क्लिप सार्वनजिक भएको छ । जसमा उनले ग्वार्डीओला र इनरिकबाट धेरै सिक्ने अवसर पाएको बताउँदै दुवैजना उत्कृष्ट प्रशिक्षक भएको बताए ।

cura insider

‘पेप केही खास छन् । उनले खेलको तयारीका विषयमा, अनुशासनको विषयमा र आक्रामक शैलीका विषयमा धेरै सिकाएका छन्’, मेस्सीले भनेका छन्, ‘म भाग्यमानी थिएँ कि मैले ग्वार्डीओला र इनरिकबाट प्रशिक्षण लिने अवसर पाएँ । उनीहरू मेरा लागि उत्कृष्ट प्रशिक्षक हुन् ।’

ग्वार्डीओलाले मेस्सीलाई २००८–०९ को सिजनदेखि २०११–१२ को सिजनसम्म प्रशिक्षण दिएका थिए । जतिबेला बार्सिलोनाले १४ वटा ट्रफी जितेको थियो । त्यसबीचमै मेस्सीले तीन वटा बालोन डी‘ओर, दुई युरोपियन गोल्डेन बुट र दुई पिचिची अवार्ड जितेका थिए ।

इनरिक भने २०१४–१५ देखि २०१६–१७ को सिजन बार्सिलोनामा थिए । उनी रहँदाको समयमा बार्सिलोनाले नौ वटा ट्रफी जितेको थियो । इनरिकको नेतृत्त्वमा मेस्सीले एउटा बालोन डी‘ओर, एउटा युरोपियन गोल्डेन बुट र एउटा पिचिची अवार्ड जितेका थिए ।

मेस्सीले सो अन्तर्वार्तामा बार्सिलोनामा आफ्नो भविष्यलाई लिएर खुसी रहेको पनि उल्लेख गरेका छन् । ‘यो सत्य हो कि अहिले म बार्सिलोनामा ठीक छु । यो साँचो हो कि समरमा मेरो समय भयानक थियो तथापि यो त्यसभन्दा पहिले नै थियो । यसैले मैले फ्याक्समार्फत् क्लबबाट बिदा हुने निर्णय पठाएको थिएँ,’ उनले भने ।

‘तर, अब भने म ठीक छु । म यहाँबाट नै सबै चुनौतीको सामना गर्न तयार छु । म यहाँ उत्साहित छु । मलाई थाहा छ कि क्लब कठिन अवस्थाबाट गुज्रिरहेको छ । प्रशासनिक तबरले होस् वा टोलीको प्रदर्शनको हिसाबले होस् । सबै कुराले बार्सिलोनालाई कठिन बनाइरहेको छ, तर म उत्सुक छु’, उनले भने ।

jackson ribon