Rumpum Advertisement

चार सांसदद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार

चार सांसदद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार

विराटनगर/पार्टी विभाजनपछि नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा मनोनित गरेका चारजना सांसद्ले पद अस्वीकार गरेका छन् । प्रदेश १ का राज्यमन्त्रीसहित चार जना प्रदेशसभा सदस्यले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका हुन् ।

प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उदयपुरकी सांसद् कला घले, झापाका सांसद् गोपालचन्द्र बुढाथोकी, खोटाङकी सांसद् उषाकला राईले ओली समूहले मनोनित गरेको केन्द्रीय सदस्य अस्वीकार गरेका हुन् ।

जनता रोइरहेको अवस्थामा आफू केन्द्रीय सदस्यमा बस्न नसक्ने प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताइन् । ‘विश्वास र भरोसाको साथ अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको जिम्मेवारी मैले स्वीकार गर्न सकिनँ,’ गजमेरले भनिन्, ‘जनता धेरै दुःखी हुँदा खुसी हुन सकिएन ।’

झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले पनि जनतालाई रुवाएर केन्द्रीय कमिटीमा बस्न नसक्ने बताएका छन् । ‘कमरेडहरु कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन् । जनतालाई धरधरी रुवाएर, जनताले परिवारभन्दा बढी माया गरेको पार्टी फेरि विभाजित गरे,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी यो बेला दुःख व्यक्त गर्नशिवाय के गर्न पो सक्ने रहेछौं । मलाई विभाजित पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन ।’

माधवकुमार नेपालनिकट भनेर चिनिएकी सांसद् उषाकला राई र आफ्ना श्रीमान् शेरबहादुर तामाङसहित प्रचण्ड–नेपाल पक्षमा फर्किएका छन् । केपी ओली समूहको बैठकमा सहभागी भएका उनीहरु पुरानै समूहमा फर्किएका हुन् ।

सङ्घीय संसद् विघटन गरेका ओलीले मंगलबार केन्द्रीय कमिटी एकलौटी विस्तार गर्दै एक हजार एक सय ९९ जना बनाएका थिए ।

नयाँ कमिटीमा सदस्य भएकामध्ये प्रदेश १ का चार सांसद् र एक संविधासभा सदस्यले पद अस्वीकार गरेका छन् । संविधानसभाका सदस्य ताप्लेजुङका डम्बरध्वज तुम्बाहाम्फेले पनि ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका हुन् । नेकपा खोटाङका सचिव राम दंगालले पनि पद अस्वीकार गरेका छन् ।