Rumpum Advertisement

अलैँचीले भनेजस्तो मूल्य नपाउँदा किसान चिन्तित

Neuro
अलैँचीले भनेजस्तो मूल्य नपाउँदा किसान चिन्तित

ताप्लेजुङ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् ।

केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य पाएपछि थप निराशा छाएको छ ।

चार वर्षअघि प्रतिमन (४० किलो) रु एक लाखभन्दा बढीमा अलैँची बेच्न पाउँदा पहाडी क्षेत्रका अलैँची कृषक उत्साहित थिए । त्यही समयमा अलैँची खेतीमा लगानी पनि बढाए तर अर्को वर्षदेखि क्रमशः मूल्य घटेपछि ऋण लिएर अलैँचीमा लगानी गरेका किसान एकाएक निराश बने ।

सिरिजङ्घा गाउँपालिका–७ खेवाङका अलैँची कृषक राजकुमार भट्टराईले भाउ बढेर रु एक लाखभन्दा माथि पुगेपछि त्यसै वर्ष ऋण लिएर अलैँचीमा लगानी थपेका थिए । धान मकै फल्ने खेतबारी मासेर अलैँची रोपेका उनले भनेजस्तो भाउ नआउँदा लगानी पनि त्यसै खेर गएको गुनासो गरे ।

भाउ घटे पनि फेरि बढ्ला कि भन्ने आसले अलैँची खेतीलाई भने यहाँका किसानले निरन्तरता दिइरहेकाछन् तर अलैँचीको बजारीकरण र मूल्यमा तत्काल कुनै सुधार हुने सङ्केत देखिँदैन । भारत बाहेकका तेस्रो मुलुकमा सिधै निर्यात हुने वातावरण नबन्दासम्म मूल्यमा सुधार हुने सङ्केत नदेखिएको अलैँची व्यवसायीले बताएका छन् ।

हालसम्म नेपालमा उत्पादित अलैँची भारतबाहेकका अन्य मुलुकहरुमा सिधै निर्यात हुन सकेको छैन । अहिले ताप्लेजुङमा प्रतिमनको रु २५ हजार पाँच सयका दरले किनबेच भइरहेको छ ।

गएको वर्ष प्रतिमन रु २६ देखि २७ हजारका दरले अलैँचीको कारोबार भएको थियो । चार वर्षअघि प्रतिमन रु एक लाखभन्दा बढी मूल्यमा कारोबार भएपछि जिल्लाका अधिकांश किसानले धान, मकैलगायतका अन्न उत्पादन हुने खेतबारी मासेर अलैँची रोपेका थिए ।