विराटनगर । म्यानचेस्टर युनाइटेड इंग्लिस काराबाओ कपको सेमिफाइनलमा पुगेको छ । बुधबार राति क्वार्टरफाइनमा एभर्टनलाई २–० हराउँदै युनाइटेड अन्तिम चारमा पुगेको हो ।
एभर्टनको मैदान गुडिसन पार्कमा युनाइटेडलाई जिताउन इडिन्सन काभानी र एन्थोनी मार्सियलले एक–एक गोल गरे । युनाइटेडले अन्तिम समयमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
उसले खेल सकिन चार मिनेट बाँकी छँदा गोल गरेको थियो । ८६औं मिनेटमा काभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २–० गोलले विजयी बनाए ।
जितसँगै युनाइटेडले म्यानचेस्टर सिटीसँग भेट पक्का गरेको छ । यसअघि आर्सनललाई हराउँदै सिटी अन्तिम चारमा पुगिसकेकाे छ ।
सिटी र युनाइटेडबीचको खेल ५ जनवरीमा हुनेछ । ओल्ड ट्राफोर्डमा यी दुईले फाइनलका लागि खेल्नेछन् ।
