Rumpum Advertisement

दुर्गन्ध र धुँवाको मुस्लोमा निसास्सियो विराटनगरको ब्रहमपुरा

Neuro
दुर्गन्ध र धुँवाको मुस्लोमा निसास्सियो विराटनगरको ब्रहमपुरा

मोहन ढकाल

विराटनगर/सुनसरी र मोरङको सिमाना विराटनगर महानगरपालिका वडा नं. ६ को ब्रहमपुराको बस्ती धुँवाको मुस्लोमा निसास्सिएर बस्न बाध्य छ । विराटनगरभित्रको फोहोर फाल्ने केन्द्रको रुपमा प्रयोग हुँदै आएको उक्त ठाउँमा जलाइने प्लास्टिकलगायतका फोहोरले प्रदूषण बढ्नुका साथै मानव स्वास्थ्यमा नै गम्भीर खेलवाड भइरहेको छ । राजनीतिक चलखेल र पहुँचका कारण बस्तीलाई प्रत्यक्ष असर गर्ने गरी उक्त ठाउँलाई फोहोर फाल्ने केन्द्रका रुपमा प्रयोग गरेको स्थानीयको भनाइ छ ।

विराटनगर–६ ब्रहमपुरामा महानगरपालिकाले फोहोर फाल्दै आएको छ । जसका कारण त्यहाँका स्थानीय चिन्तित बनेका छन् । ब्रहमपुरा विराटनगरभित्रको फोहोर फ्याँक्ने मुख्य केन्द्र बन्दा गाउँ नै दुर्गन्धित बनेको छ । स्थानीयले अस्वीकार गर्दा पनि फोहोर फाल्ने कार्य निरन्तर जारी छ । त्यसबाट स्थानीय हैरान भएका छन् ।

वरिपरि रहेका बस्तीमा यसको प्रत्यक्ष असर परेको छ । ब्रहमपुराका स्थानीय श्रीलाल साहको घर फोहोर फ्याँक्ने स्थानभन्दा लगभग दुई सय मिटरको दुरीमा छ । जसबाट उनलाई प्रत्यक्ष प्रभाव परेको छ । उनलाई मात्र हैन नजिकैको फोहोरले बस्तीमा प्रत्यक्ष असर परेको छ ।

‘बस्तीछेउमा फोहोर फ्याँक्ने केन्द्र बनाएर हाम्रो स्वास्थ्यमाथि नै खेलवाड भइरहेको छ,’ साहले भने, ‘मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको नै छ ।’

फोहोर सीधै खोलामा मिसिएका कारण जनावरले समेत दूषित पानी पिउनु परेको छ । वरिपरि खेतीपाती छ । तर फोहोरका कारण दुर्गन्ध बढेर काम गर्नसमेत समस्या परेको साहले बताए । दुर्गन्धकै कारण कुकुर, स्याल, सुँगुरको सङ्ख्यासमेत बढेको छ ।

साहका अनुसार रातीको समयमा कुकुर र स्यालको त्रास बढेका कारण हिँडडुल गर्नसमेत समस्या पर्ने गरेको छ । वरिपरिको वातावरण दुर्गन्धित भएपछि घरमा झिँगाले पनि दुःख दिने गरेको छ । अझ प्लास्टिक बाल्दा वातावरणमा प्रत्यक्ष असर परेको र प्रदूषणको मात्रासमेत बढेको भन्दै साहले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय शङ्कर कामत दासका अनुसार दुर्गन्धका कारण बस्न नै समस्या हुने गरेको छ । फोहोरका कारण विभिन्न महामारी फैलन सक्ने भन्दै कामतले चिन्ता व्यक्त गरे । घरमा झिँगा र मच्छरले दुःख दिने गरेको बताउँदै उनले भने, ‘बहुला कुकुरको सङ्ख्या बढेकाले थप त्रास बढेको छ ।’ बस्ती र खेतीयोग्य जमिनको बीचमा प्लास्टिक जलाउँदा वातावरण प्रदूषण बढ्नुका साथै उत्पादनमा समेत ह्रास भएको भन्दै कामतले गुनासो गरे ।

‘बस्तीको बीचमा कसको नेतृत्वमा फोहोर फालियो भन्ने कुनै जानकारीसमेत छैन,’ उनले भने, ‘पहिला फोहोरलाई छोप्ने, चुना छर्कने साथै खोलामा जान नदिन टाटी लगाउने गरिएको भए पनि केही वर्षदेखि लापरवाहीपूर्ण तरिकाले काम भइरहेको छ ।’

‘हाम्रो कुरा कसले सुन्छ ? लामो समयदेखि दुर्गन्धमा वस्न बाध्य छौँ,’ स्थानीयले भोला कामतले दुखेसो गरे । सम्बन्धित निकायमा बारम्बार कुरा राख्दासमेत बेवास्ता गरेको उनको भनाइ छ । यसरी लापरवाहीपूर्ण तरिकाले फोहोर व्यवस्थापन गर्दा, प्लास्टिकजन्य पदार्थ जलाउँदा मानव स्वास्थ्यमा मात्र नभएर वातावरणमा समेत प्रत्यक्ष असर परेको विज्ञहरुको भनाइ छ ।

फोहोर मैला निस्कासन, सङ्कलन तथा अन्तिम बिसर्जनसम्बन्धी विराटनगर महानगरपालिकाले तयार पारेको निर्देशिका २०६८ अनुसार स्थानीय निकायले तोकिएको ठाउँबाहेक जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमका हानिकारक फोहरमैला राख्ने, फाल्ने, थुपार्ने वा निस्कासन गर्नेलाई तीस हजारदेखि पचास हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।

यस्तै रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निस्कासन गर्ने वा गराउनेलाई पचास हजारदेखि एक लाखसम्मको जरिवानाको व्यवस्था गरेको छ । यस्तै सोही कसुर पुनः गरेमा पहिलो पटक गरेको जरिवानाको दोब्बर जरिवाना गरी प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने भनी उल्लेख गरिएको छ । तर महानगर भने निर्देशिका पालना गर्न मौन देखिन्छ ।