खोटाङ / खोटाङमा दाजुले बहिनीको हत्या गरेका छन् । दाजुको आग्रह अस्वीकार गर्दै आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ की २६ वर्षीया सकुन्तला राईको हत्या भएको हो । उनको हत्या आरोपमा ठूलो बुबाका छोरा सञ्जीव राई पक्राउ परेका छन् ।
पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीवले बहिनीले अर्कैसँग प्रेम विवाह गरेपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या हुनुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैँ घरमा आएर सकुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान् दिनेशले बताए । ‘हाम्रो घरायसी व्यवहार छ भन्दै दाजु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर जानुभयो’, उनले भने ‘ घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला पर्यो ।’
भिनाजुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको हत्या भएको हुनसक्ने सकुन्तलाका भाइ समीर राईले बताए ।
विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए । सकुुन्तलाले आफूसँग पनि दाजु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको समिरले बताए ।
घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । रासस