birat ribon

सडकमा भेटिएका दुई बङ्गलादेशी पाँच वर्षपछि घर फर्कदै,प्रधानमन्त्रीले गरे विदाई

Neuro
सडकमा भेटिएका दुई बङ्गलादेशी पाँच वर्षपछि घर फर्कदै,प्रधानमन्त्रीले गरे विदाई

काठमाडौँ । पाँच वर्ष अघि चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ ।

cura insider

मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई घर फर्काउन लागेको हो । उनीहरुलाई २०७२ मा सडकबाट उद्धार गरेको थियो ।

पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बङ्गलादेशका राजदूतावासमार्फत घर परिवार पहिचान भएको आश्रमका सचिव सुशीला केसीले जानकारी दिइन् । चार्टर्ड फ्लाइटमार्फत घरमा पुनःमिलन गराउन लागिएको उनले बताइन् ।

चितवनको रामनगरबाट उद्धार गर्दा बेगमको शरीरभरि कमिलाले ढाकोको थियो । हातको घाउ कुहिएर किरा परेको थियो । घाउको गन्धले वरिपरि जानै मुस्किल थियो । विक्षिप्त अवस्थाकी बेगमलाई भरतपुर अस्पताल लगेर शल्यक्रिया गरी उपचार गरिएको र अहिले सबै समस्या समाधान भएको आश्रमले जनाएको छ ।

बाबुलाललाई लम्जुङको सडकमा अर्धचेत अवस्थामा फेला पारिएको थियो । अहिले उनी पनि स्वस्थ हुनुभएको छ ।

उनीहरुलाई परिवारमा पुनःमिलन गराउन केसी र अर्का अभियानकर्मी देवेश गुप्तासँगै जाँदै छन् । उनीहरुलाई मङ्गलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले विदाईसमेत गरेका थिए ।

आश्रमले यसअघि पनि तीन बङ्गलादेशी नागरिकलाई परिवारमा पुनः मिलन गरिसकेको छ । हालसम्म ४८ विदेशीको परिवारमा मिलन गराइसकिएको छ । अझै झण्डै १०० विदेशी नागरिक आश्रमको संरक्षणमा छन् । त्यसमा धेरै भारतीय छन् । रासस

jackson ribon