काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बासमती धानबारे विशेष अध्ययन गरेर त्यसको प्रतिवेदन युरोपेली सङ्घमा बुझाउने भएको छ । भारतले बासमती धानको उत्पत्ति आफ्नो देशबाट सुरु भएको दाबी युरोपेली सङ्घमा पठाएपछि नेपालले पनि आफ्नो दाबी त्यहाँ पठाइसकेको छ ।
बासमती धानको उत्पत्ति नेपालबाट भएको हो भनी दाबी गरेपछि त्यसको प्रमाण दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन सुरु गरेको हो । त्यसको अध्ययनका लागि मन्त्रालयले जिन बैङ्कको तर्फबाट डा. बाबकृष्ण जोशीको संयोजकत्वमा कार्यदल गठन गरेको कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिए ।
उद्योग तथा वाणिज्य मन्त्रालय तथा कृषि अनुसन्धान परिषद् (नार्क) लगायत विभिन्न सरोकारवालाको बैठकले बासमती धानमा हकदाबीका लागि नेपालले आवश्यक पर्ने सबै प्रमाण जुटाउन छलफल गरेर कार्यदल गठन गरेको नार्कका कार्यकारी निर्देशक डा. दीपक जोशीले जानकारी दिए ।
युरोपेली सङ्घमा दाबी गरेको दिनदेखि दुई महिनाभित्र सबै प्रमाण पेस गर्नुपर्छ । भारतको हकदाबी परेपछि नेपालले पनि दाबी गरेसँगै हकदाबीका लागि मन्त्रालयमा बैठक बसेको उनले बताए ।
“कृषि अनुसन्धान परिषद् (नार्क)मा रहेको राष्ट्रिय जिन बैङ्कमा रहेका बासमती धानका पुराना रेकर्ड तथा शताब्दी कटेका वृद्धवृद्धाबाट जानकारी लिने, धान उत्पादन हुने क्षेत्रमा गएर त्यसको विशेष अध्ययन गरिनेछ । बासमती धानबारे लेखिएका पुराना किताब, भिडियो, गीत, वृत्तचित्रलगायत सबैको अध्ययन र सङ्कलन गरी ती सबैलाई प्रमाणका रूपमा युरोपियन युनियनमा पठाउनेछौँ,” उनले भने ।
नेपालका विभिन्न ठाउँमा विगतदेखि बासमती धान उत्पादन हुँदै आएको प्रमाण नार्कसँग सुरक्षित रहेको उनले बताए ।सन् १९७० देखि नै विभिन्न देशमा बासमती धानका विभिन्न ४७ वटा जात सङ्कलन गरेर त्यहाँको जिन बैङ्कमा राखिएको छ ।
नेपालकै जिन बैङ्कमा विभिन्न २५ वटा जातका बासमती धानका बीउ सङ्कलन गरी राखिएको छ । कार्यकारी निर्देशक भण्डारीका अनुसार नेपालले विभिन्न चारवटा बासमाती धानका जात राजपत्रमा प्रकाशित पनि गरिसकेको छ । गोरखापत्रमा समाचार छ ।