birat ribon

बेलायतमा देखिएको भाइरसको नयाँ प्रकारले निम्ताएको चिन्ता

Neuro
बेलायतमा देखिएको भाइरसको नयाँ प्रकारले निम्ताएको चिन्ता

विराटनगर । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार छिटो गतिमा फैलिरहेको कारण अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ । सङ्क्रमणको गति नियन्त्रण गर्न ब्रिटिश सरकारले राजधानी तथा वरपरका क्षेत्रमा कडा लकडाउन गरिसकेको छ ।

नयाँ प्रकारको भाइरस रोक्ने प्रयासमा अहिलेसम्म भारत, इरान, क्यानडालगायत ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । ब्रिटिश सरकारका परामर्शदाताका अनुसार कोरोना भाइरसमा परिवर्तन आएर देखिएको भाइरसको नयाँ प्रकार अन्यको दाँजोमा छिटो सङ्क्रामक हुने पाइएको छ ।

cura insider

चीनमा पहिलो पटक देखिएको कोरोना भाइरसको बारेमा अनुसन्धान भइरहँदा र यसको नै उपचार खोज्न गाह्रो भइरहेको बेलामा नयाँ प्रकारको भाइरसले चिन्ता बढाएको छ । भाइरसको नयाँ प्रकार कत्तिको सङ्क्रामक र घातक छ तथा हालै प्रयोगमा आएका खोप नयाँ भाइरसको लागि कत्तिको प्रभावकारी हुनसक्छ भन्ने चिन्ता बढ्दो छ ।

नयाँ प्रकारको भाइरस उत्पति

नयाँ प्रकारको भाइरसलाई पहिलो पटक सेप्टेम्बर महिनामा फेला पारिएको थियो । नोभेम्बरसम्ममा लन्डनमा देखिएका एक चौथाइ जति सङ्क्रमण नयाँ प्रकारको भाइरसबाट भएको थियो । मध्य डिसेम्बरसम्म आइपुग्दा यो अब झन्डै दुई तिहाइ सङ्क्रमितमा देखिएको छ । कोरोना भाइरसको नयाँ प्रकार बेलायतमा नै कुनै बिरामीमा पहिलो पटक देखापरेको हुनसक्छ । वा कोरोना भाइरसको उत्परिवर्तनको अनुगमन गर्ने क्षमता कमजोर रहेको अन्य कुनै देशबाट बेलायतमा आएको पनि हुनसक्ने अनुमान रहेको छ । संसारभरिबाट प्राप्त कोरोना भाइरसको ‘जेनेटिक कोड’ को अनुगमन गरिरहेको संस्था ‘नेक्स्टस्ट्रेन’ ले जनाएअनुसार डेनमार्क र अष्ट्रेलियामा फेला परेका कोरोना भाइरसको नयाँ प्रकारको उद्गमस्थल बेलायत नै रहेको छ ।

नयाँ प्रकारको भाइरसले निम्ताएको चिन्ता

प्रयोगशालामा गरिएका परीक्षणले भाइरसका अन्य प्रकारलाई तीव्र गतिले प्रतिस्थापन गरेको, उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण अंशलाई प्रभाव पारेको तथा केही उत्परिवर्तनले मानव कोषलाई प्रभाव पार्ने भाइरसको क्षमता बढाउने खालको देखाएको हुँदा हाल देखिएको भाइरसको नयाँ प्रकार सजिलै फैलनसक्ने वा अत्याधिक सङ्क्रामक खालको पाइएको छ ।

पहिले पनि भइसकेको छ भाइरसको उत्परिवर्तन

बेलायतमा नयाँ प्रकारको भाइरस देखापर्नुअघि पनि भाइरस परिवर्तन भइसकेको छ । चीनको वुहानमा सबैभन्दा पहिला पत्ता लगाइएको कोरोना भाइरस संसारका अन्य देशमा सङ्क्रमण फैलाइरहेको कोरोना भाइरससँग दुरुस्तै मिल्दैन ।

फेब्रअरीको महिनामा युरोपमा देखापरेको डि६१४जी उत्परिवर्तन भनिएको भाइरसको प्रकार संसारभरिका देशमा सबैभन्दा सङ्क्रमण देखिएको प्रकार बन्न पुगेको थियो । अर्को ए२२२भि भनिने प्रकार युरोपभरि फैलिएको थियो र त्यसको सम्बन्ध स्पेनमा देखिएको सङ्क्रमणसँग मिलेको पाइएको थियो ।

नयाँ भाइरस अधिक घातक भएको प्रमाण छैन

नयाँ भाइरस सङ्क्रामक देखिएपनि अधिक घातक भएको कुनै प्रमाण हालसम्म देखिएको छैन । तर, यो विषयमा अनुसन्धान हुन जरुरी छ । सङ्क्रमणको दर उच्च हुनु पनि अस्पतालहरूका लागि ठूलो समस्याको विषय भएको छ । नयाँ प्रकारको भाइरसको सङ्क्रमणले छिटोछिटो धेरै मानिस प्रभावित हुने हुँदा अस्पतालमा भर्ना भएर उपचार चाहिने बिरामीको सङ्ख्या पनि तीव्र गतिमा बढ्न पुग्छ ।

नयाँ प्रकारको भाइरसमा पनि खोप प्रभावकारी

नयाँ प्रकारको भाइरसमा पनि खोप प्रभावकारी हुने देखिएको छ । हालको कोरोना भाइरसविरुद्ध विकास भएको तीनवटा अग्रणी खोप (फाइजर–बायोएनटेक, मोडर्ना र अक्सफर्ड)ले शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सक्छन् ।

खोपले शरीरको रोग प्रतिरोधी क्षमतालाई भाइरसका विभिन्न अङ्गहरूमा आक्रमण गर्न प्रशिक्षित गर्छन् । भाइरसका केही अंशमा उत्परिपर्वतन देखिएपनि हाल प्रयोगमा आएका खोप प्रभावकारी रहने देखिएको छ । तर, क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताका अनुसार भाइरसमा धेरै प्रकारको उत्परिवर्तन थपिन गएमा खोपले समेत काम नगर्ने हुँदा यो चिन्ता गर्नुपर्ने विषय हुन सक्छ ।

jackson ribon