विराटनगर / नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे प्रचण्ड–माधव समूहले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ ।
मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले अनुशासनको गम्भीर उल्लङ्घन गरेकाे भन्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो । बैठकले उनकाे स्थानमा माधवकुमार नेपाललाई चयन गरेको छ ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी रिक्त रहेको अध्यक्ष पदमा माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अर्को बैठक बिहीबार साढे ११ बजे बोलाइएको उनले बताए ।
मंगलबारको बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।
मंगलबार नै बसेको ओली पक्षको बैठकले प्रवक्ताबाट नारायणकाजीलाई हटाएर उनको स्थानमा प्रदीप ज्ञवालीलाई चयन गरेको थियो । दुवै पक्षले एकले अर्काको बैठक अबैध भएको दाबी गर्दै आएका छन् ।