birat ribon

डराउन थाल्यो मकुना, सारियो हात्तीसार

Neuro
डराउन थाल्यो मकुना, सारियो हात्तीसार

यज्ञ अधिकारी

cura insider

विराटनगर/कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा उपद्रो मच्चाउने मकुना हात्ती उपचार सुरु भएपछि डराउन थालेको छ ।

बस्तीमा पसेर बालीनाली नष्ट गर्ने, मानिसलाई आक्रमण गर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तु चिकित्सक र प्रविधिक टोलीले पुस १ बाट उपचार सुरु गरेका थिए । औषधिको प्रयोगबाट हात्तीको व्यवहार परिवर्तन गराउने काम भइरहेको उपचारमा संलग्न वन्यजन्तु चिकित्सक अमीर सडौलाले बताए । उपचार सुरु गरेपछि हात्ती बस्तीतिर जाने क्रम पहिलाको तुलनामा निकै कम भएको विशेषज्ञ टोलीको नेतृत्वसमेत गरिरहेका डाक्टर सडौलाले बताए ।

आरक्ष परिसरको हात्तीसार आइपुगेको जङ्गली मकुना ।

‘हामीले एनेस्थेटिक औषधिको प्रयोग गरेर मकुनाको व्यवहार परिवर्तन गराउने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘उपचारका क्रममा हात्ती पाँच/छ घण्टा एकै ठाउँमा बस्छ र त्यसपछि डराउने हुन्छ ।’

डाक्टर सडौलाले आरक्षभित्र आहाराको अभाव हुँदा हात्ती बाहिर बस्तीमा निस्कने गरेको बताए । ‘हात्तीले बस्तीमा गएर उपद्रो गर्नुको मुख्य कारण आरक्षभित्र खानेकुराको अभाव हो,’ उनले भने, ‘बाहिर बस्तीमा गएपछि धान, मकै, उखु खान पाउने भएकाले निस्कने गरेको हो ।’

मकुनाको उपचारमा डाक्टर सडौला, वन्यजन्तु प्राविधिक तीर्थ लामासहित तीन जनाको विशेषज्ञ टोली चितवनबाट कोसीटप्पु आएको छ । मकुनाको व्यवहारको अध्ययन गर्दे अझै केही समय उपचार र मकुनाको व्यवहार परिवर्तनको प्रयास जारी रहने टोलीले जनाएको छ ।

कोसीटप्पुमा हात्ती राख्न सकस

सुनसरीको कोसीटप्पु वन्यजन्तुु आरक्ष कार्यालय परिसरको हात्तीसारमा हात्ती राख्न कठिन हुन थालेको छ । आरक्ष कार्यालय र बस्तीसँग जोडिएको हात्तीसारमा राखिएका ढोईहरुका कारण जङ्गली मत्ताहरु आइदिँदा समस्या भएको हो । संरक्षणमा राखिएका हात्तीहरुसँग संसर्गका लागि जङ्गली हात्ती आउने भएका कारण समस्या भएको आरक्षका संरक्षण अधिकृत (वार्डेन) चन्द्रशेखर चौधरीले बताए ।

१० वटा दरबन्दी रहेको कोसीटप्पुको हात्तीसारमा हाल शोभाकली, अम्रिकाकली, लक्ष्मीकली, दमदमकली, सरस्वतीकली, कुसाहाकली, कोसीकली र उत्तरगज गरी आठवटा घरपालुवा हात्ती छन् । सरस्वतीकलीको भाले छावा उत्तरगज भर्खर एक वर्षको छ भने शोभाकलीको पोथी छावा कोसीकली दुई वर्ष कटेकी छ । कोसीकलीलाई सधाउन तालिममा राखिएको छ । कोसीटप्पुमा हुर्किरहेका दुवै छावा अहिले मार्न खोजिएको मकुनाकै सन्तान हुन् ।

आरक्ष कार्यालय उत्तर–पश्चिम तारबार छिचोल्न खोज्दै मकुना ।

सारियो हात्तीसार

वरपर छरिएको लठ्याउने औषधिको प्रभावले मकुना चार–पाँच घण्टा लठ्ठिए पनि औषधिको प्रभाव कम भएपछि उठेर सुरुमा आरक्षको हात्तीसारतिर आउने र त्यसपछि बस्तीतिर हानिने गरेको छ । मकुनाको यसप्रकारको आवतजावत शृङ्खला रोक्न गर्न आरक्ष कार्यालय परिसरसँग जोडिएको हात्तीसार केही समयका लागि दक्षिणी डुबान पोस्टमा सारिएको हात्तीसारका शाखा अधिकृत रामगुलाम चौधरीले बताए ।

चौधरीका अनुसार आज (मङ्गलबार) बिहान दक्षिणी डुबानतिर लगिएको ढोईहरूको समूह साँझ दक्षिणी डुबानस्थित पोस्टमा पुगिसकेको छ । त्यहाँ हात्ती बाँध्ने स्थायी सेडहरू नभए पनि अस्थायी छाप्रो र खुला रूपमा बाँध्ने किलाहरू छन् । माउते तथा पछुवाहरूका लागि भने तीन कोठे पक्की घर छ ।

संरक्षण अधिकृत चौधरीका अनुसार तत्काल स्थायी रूपमा हात्तीसार सार्ने तयारी नभए पनि व्यवस्थापनमा परिरहेको अप्ठेरोबारे विभागमा जानकारी गराइएको छ । संरक्षण अधिकृत चौधरीले भने, ‘जङ्गली हात्तीका कारण समस्या भएर हात्तीसार सार्नुपर्ने मागसहित विभागलाई पत्र लेखिएको छ । सकारात्मक जबाफ आउने अपेक्षा छ ।’

तस्बिरहरू – राजेन्द्र पोखरेल

jackson ribon