birat ribon

दुर्घटनाका घाइते सडकमा छटपटाइरहँदा पग्लिएन मुख्यमन्त्रीको मन !

Neuro
दुर्घटनाका घाइते सडकमा छटपटाइरहँदा पग्लिएन मुख्यमन्त्रीको मन !

विराटनगर / सवारी दुर्घटनामा परी घाइते भएका दुईजना उद्धारका लागि छटपटाइरहँदा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नदेखेझैँगरी आफ्नो बाटो लागेका छन् ।

cura insider

सोमबार दिउँसो मोरङको बेलबारी नगरपालिका–४ हल्लुडेमा स्कुटर दुर्घटना परी घाइते भएका दुई जना उद्दारको प्रतीक्षामा सडकमा छटपटाइरहँदा मुख्यमन्त्री नदेखेझैँगरी आफ्नाे बाटाे लागेका हुन् ।

झापाबाट विराटनगर फर्कने क्रममा बाटोमा लडिरहेकाहरूलाई मुख्यमन्त्रीले देखे । घटनास्थलमा अन्य केही मान्छे पनि थिए । प्रहरीको स्कटिङमा आएका मुख्यमन्त्रीले उद्दार गर्ने सबैकाे आश थियाे । तर मुख्यमन्त्री शेरधन राई नदेखेझैँ गरी आफ्नो गन्तब्यमा लागेका हुन् ।

समयमा नै उद्दार नहुँदा दुर्घटनामा घाइते दुईमध्ये एक जनाको मृत्यु भएको छ । एकको विराटनगरमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा रहेका बेलबारीका युवक जनक पोखरेलले उद्दारका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । तर मुख्यमन्त्री वास्ता गरेनन् । ‘प्रहरी पुगेको थिएन । घाइतेलाई समयमा नै अस्पताल पुर्‍याउन सकिन्छ कि भनेर स्कटिङमा आएको गाडीलाई इसारा गरेँ,’ उनले भने, ‘तर गाडी नदेखेझैँ गरी हुँइकियो । पछि थाहा पाए गाडीमा मुख्यमन्त्री हुनुहुँदो रहेछ ।’

उनका अनुसार मुख्यमन्त्रीले नहेरी आफ्नो गन्तब्यमा लागेको करिब १० मिनेटपछि पुगेको प्रहरीले उद्दार गरेको थियो ।

प्रहरी भने प्रत्यक्षदर्शी पोखरेलको भनाइ मान्न तयार छैन । मुख्यमन्त्रीको सवारी हुनअघि नै प्रहरी घटनास्थलमा पुगेकाे इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल बताउँछन् ।

‘मुख्यमन्त्री सवार सवारी घटनास्थलमा आइपुग्नुभन्दाअघि नै प्रहरी टोली घटना स्थलमा पुगेको थियो,’ ढकालले भने, ‘उद्दार गरिएकामध्ये एकजनाको मृत्यु भयो ।’

उनका अनुसार दुर्घटनामा बेलबारी नगरपालिका-११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए । घाइते अर्जुनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनका अनुसार घरबाट बजारतर्फ निस्कने क्रममा खत्री र भण्डारी सवार को३५ प ५९७५ नम्बरको स्कुटरलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च २२४२ नम्बरको पिकअप भ्यानले ठक्कर दिएकाे थियाे ।

प्रत्यक्षदर्शी पोखरेलको बयान : मुख्यमन्त्रीलाई दया पलाएन

म काम परेकाले दिउँसो पौने ४ बजेतिर बेलबारीबाट लक्ष्मीमार्गतर्फ जाँदै थिए । पूर्व-पश्चिम राजमार्गको बेलबारी नगरपालिका –४ हल्लुडे भन्ने स्थानमा भर्खरै दुर्घटना भएको रहेछ । प्रहरी नदेखेर प्रहरीलाई फोन गरेँ । तर फाेन नउठेपछि दाजुलाई फोन गरेर ट्राफिकलाई जानकारी गराइदिन भने ।

प्रहरीकाे गाडी आउन ढिलो भएकाले चाँडो अस्पताल पुर्‍याउन सकिन्छ कि भनेर बाटोमा हिँडेका टेम्पो र सवारीलाई रोक्न खोजेँ । तर कसैले रोक्न मानेनन् । त्यतिकैमा साइनर बजाउँदै गाडी आयो । उद्दार हुन्छ भन्ने लागेर हातले इसारा गरेँ । तर गाडीमा सवारले नदेखेझैँ गरे । पछि थाहा पाएँ मुख्यमन्त्रीको सवारी रहेछ । दुःख लाग्यो जनता छट्पाइरहँदा मुख्यमन्त्रीले उद्दार नगरी हिँड्नु भयो । मुख्यमन्त्रीले आफ्नै सवारीमा नलगेपनि अगुवा पछुवा गाडीलाई भन्दा हुन्थ्यो होला । तर त्यसाे गर्नु भएन । मुख्यमन्त्रीको सवारी भएको करिब १० मिनेटपछि मात्र प्रहरी आएर उद्दार गरेर अस्पतालका लागि पठायो । पछि थाहा पाएँ एक जनाको मृत्यु भइसकेको रहेछ ।

तस्बिर – विवेक मिश्रको फेसबुकबाट ।

jackson ribon