Rumpum Advertisement

जाडो मौसममा बालबालिकालाई यसरी रोगबाट जोगाऔँ

जाडो मौसममा बालबालिकालाई यसरी रोगबाट जोगाऔँ

विराटनगर/जाडो मौसममा चिसोका कारण शिशु तथा बालबालिकालाई विभिन्न रोग लाग्न सक्छ ।

मौसम परिवर्तन हुने समया किटाणु बढी सक्रिय हुँदा चिसोमा नाक बन्द हुने, नाकबाट पानी बग्ने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, जोरो आउने, टन्सिल हुने, झाडापखाला जस्ता समस्या बालबालिकामा अधिक देखा पर्ने हुन्छ । बालबालिकामा सामान्य रुघाखोकीको समस्या भएमा घरेलु उपचार पनि प्रभावकारी हुन सक्ने देखिन्छ ।

जाडोको समयमा तातो कपडा लगाउने, धुँवाधुलोबाट पनि बचाउने, सरसफाइमा विशेष ध्यान दिने, तातो खाना र धेरै झोलिलो पदार्थको सेवन गर्ने, नुन पानीले कुल्ला गर्ने तथा बाफ लिएर मात्र पनि जाडोमा देखिने सामान्य रोगको उपचार गर्न सकिन्छ । साथै, चिसो हावामा नराखी अन्य सङ्क्रमण भएका मानिसको सम्पर्कमा नबसेमा बच्चाहरूलाई जाडोमा हुने सङ्क्रमणबाट बचाउन सकिन्छ ।

बालबालिकामा छिट्टै रुघा सर्ने डर हुन्छ, त्यसैले ठूलो मानिसलाई रुघाखोकी लागेको छ भने सानो बच्चालाई उनीहरूबाट टाढा राख्नु पर्छ । छ महिनाभन्दा कम उमेरका शिशुलाई आमाको दुधको सेवन गराउने तथा आमाको छातीमा न्यानो हुने गरी टसाएर राख्नु पर्छ । आमाले बच्चालाई आफ्नो जिउसँग जोडेर राख्दा न्यानो हुन्छ र सङ्क्रमणबाट बचाउन सकिन्छ ।

बच्चालाई प्रशस्त मात्रामा पोषण तत्वयुक्त सागसब्जी, फलफूल र भिटामीन सीयुक्त खाना सेवन गराउनु आवश्यक हुन्छ । भिटामीन सीले शरीरमा भएको रोगविरुद्ध लड्ने क्षमताको विकास गर्छ र शरीरमा कुनै प्रकारको रोग पनि लाग्न दिँदैन । प्रतिरक्षा प्रणाली कमजोर भएपछि निको हुन समय लाग्नुका साथै बच्चालाई अन्य रोग लाग्ने सम्भावना पनि बढेर जान्छ ।

त्यसैले जाडोको समयमा बच्चालाई चिसो लाग्ने खाना तथा फ्रिजमा राखिएका खानाको सेवन गराउनु हुँदैन । जाडोको समयमा बच्चाको छाला सुख्खा हुने सम्भावना पनि हुन सक्छ । यसका लागि राम्रो मोइश्चराइजर वा नरिवलको तेलको प्रयोग गर्न सकिन्छ । तर, बच्चालाई कुनै पनि गम्भीर लक्षण बच्चालाई तुरुन्तै नजिकको डाक्टर वा बाल रोग विशेषज्ञकोमा लगेर उपचार गराउनु पर्छ ।