Rumpum Advertisement

प्रधानमन्त्रीको कदम असंवैधानिक : प्रदेश सांसद

प्रधानमन्त्रीको कदम असंवैधानिक : प्रदेश सांसद

विराटनगर/प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको विषय सर्वोच्च अदालतसम्म पुगेको छ । उनको यस कदमको सर्वत्र विरोध भइरहेको छ । प्रधानमन्त्रीको कदमको विरोधमा उनीसम्बध पार्टी पनि सडकमा आएको छ । प्रधानमन्त्रीको कदमलाई प्रदेश १ का सांसदले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरुले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र बाध्यता भएको बताएका छन् ।

प्रदेश १ नेकपाकी सांसद सावित्राकुमारी रेग्मीले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भएको बताएकी छन् । सङ्घीय संसद् विघटन हुँदा प्रदेशमा के हुन्छ भन्ने संविधानले व्यख्या नगरेको उनले बताइन् । अगाडि के गर्ने भन्ने कुरा पार्टीको सरकार भएकाले पार्टीले नै निर्णय गर्ने उनले बताइन् । उनले संविधान पुनःस्थापित हुने र संविधानअनुसार देश अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

नेकपाका प्रदेश सांसद् तुलसीप्रसाद न्यौपानलेले प्रधानमन्त्रीको कदम अब अदालती विषय बनिसकेको बताए । उनले प्रधानमन्त्रीको कदमले जनताको चाहनामा कुठाराघाट भएको जिकिर गरे । जनताले स्थीर राजनीतिका लागि जनमत दिएको धारणा राखे । समृद्धि र विकास निर्माणको बाटोमा लाग्नुपर्ने समयमा चालिएको कदम ठिक नभएको उनको भनाइ थियो ।

यता, सांसद् अर्जुन राईले प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकारको प्रयोग गरेको जिकिर गरे । अब ताजा जनादेशका लागि सबै सामेल हुनुपर्ने उनले बताए । उनले आफ्नो योग्यता क्षमता देखाएर अगाडि बढ्नु पर्ने सुझाव दिए । प्रधानमन्त्रीको कदम प्रजातान्त्रिक प्रक्रिया भएको धारणा व्यक्त गरे । उनले स्थायित्व सबैको चाहना भएकाले त्यसका लागि फेरि जनमत लिएर आउन सुझाव दिए । उनले प्रधानमन्त्री बाध्यतामा परेर अहिलेको कदम चाल्नु परेको बताए ।

नेपाली काङ्ग्रेसका सांसद् तथा संसदीय दलका नेता राजीव कोइरालाले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक बताएका छन् । उनले संसदीय दलमा छलफल भइरहेकाले अगाडि बढ्ने उनले बताए । उनले विषय अदालतमा गएकाले त्यहाँबाट कस्तो निर्णय आउँछ त्यहीअनुसार अगाडि बढ्नेसमेत बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी तत्कालीन समयमा अखिलको कोषाध्यक्ष रहेको र त्योभन्दा माथि उठ्न नसकेको अरोप लगाए । उनले राष्ट्रपतिको गरिमा र ओझलाई कायम राख्न नसकेको जिकिर गरे । उनले आउने दिनको सामना गर्नसमेत तयार रहेको जिकिर गरे ।

त्यसैगरी नेपाली काङ्ग्रेसका सांसद् लोकप्रसाद सङ्ग्रौलाले पार्टीभित्रको अन्तरसङ्घर्षले पार्टीमात्र नभएर देशलाई समेत घात भएको जिकिर गरे । बहुमत प्राप्त सरकारले चालेको कदमले अन्तर्राष्ट्रिय तत्वले खेल्ने मौका पाएको बताए । उनले राष्ट्रियता, अखण्डताको पक्षमा काम गर्नुपर्ने समयमा यस्तो हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे । उनले अत्यन्तै दुःखद कदम भएको बताए ।