Rumpum Advertisement

बार्सिलोनामै चुनौतीको सामना गर्न तयार मेस्सी

Neuro
बार्सिलोनामै चुनौतीको सामना गर्न तयार मेस्सी

विराटनगर । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको पछिल्लो अन्तर्वार्ताले स्पेनिस क्लब बार्सिलोनाका समर्थकलाई आशा जगाएको छ । आगामी आइतबार प्रसारण हुने अन्तर्वार्तामा बार्सिलोनाका कप्तान मेस्सीले क्याप नोउमै चुनौतीको सामना गर्न आफू तयार रहेको बताएका हुन् ।

स्पेनिस टिभी ‘ला सेक्टा’का लागि दिएको सो अन्तर्वार्तामा मेस्सीले आफू बार्सिलोनामै उत्साहित रहेको पनि बताएका छन् ।

अघिल्लो समर ट्रान्सफरमा बार्सिलोना छोड्ने मनसाय बनाएको उल्लेख गर्दै मेस्सीले क्लबका बोर्ड निर्देशकहरूका कारण सो अवस्था आएको पनि बताएका छन् ।

तर, अब भने उनी बार्सिलोनामा आफ्नो भविष्यलाई लिएर खुसी छन् ।

‘यो सत्य हो कि अहिले म बार्सिलोनामा ठीक छु’, अन्तर्वार्ताको प्रोमोमा उनले भनेका छन्, ‘यो साँचो हो कि समरमा मेरो समय भयानक थियो तथापि यो त्यसभन्दा पहिले नै थियो । यसैले मैले फ्याक्समार्फत् क्लबबाट बिदा हुने निर्णय पठाएको थिएँ,’ उनले भने ।

‘तर, अब भने म ठीक छु । म यहाँबाट नै सबै चुनौतीको सामना गर्न तयार छु । म यहाँ उत्साहित छु । मलाई थाहा छ कि क्लब कठिन अवस्थाबाट गुज्रिरहेको छ । प्रशासनिक तबरले होस् वा टोलीको प्रदर्शनको हिसाबले होस् । सबै कुराले बार्सिलोनालाई कठिन बनाइरहेको छ, तर म उत्सुक छु’, उनले भने ।